संगठनको सिफारिसबिना सोर्सफोर्समा विभूषण पाउने प्रहरीको कार्यसम्पादन मूल्यांकन (कासमू)मा दुई नम्बर काटिने भएको छ।
वितरणमा व्याप्त विकृतिले विभूषणको गरिमा घटाइरहेका बेला प्रहरी प्रधान कार्यालयले आफ्नो संगठनभित्र यस्तो नीति कार्यान्वयनमा ल्याएको हो।
प्रधान कार्यालयले नीति नै बनाएर सोर्सफोर्समा विभूषण लिने प्रहरी कर्मचारीले त्यसबापत पाउने दुई नम्बर काट्न थालेको हो।
विभूषण पाएवापत प्रहरीको कार्यसम्पादन मूल्यांकनमा दुई नम्बर थपिने गरेको छ। विभूषणको नम्बर काट्न कानुनत: नमिल्ने भएकाले प्रधान कार्यालय आन्तरिक मूल्यांकनबाट दुई नम्बर काट्न थालेको हो।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले गत वर्षबाट नीति नै बनाएर सोर्सफोर्समा विभूषण थाप्ने प्रहरीहरूको कार्यसम्पादन मूल्यांकनमा नम्बर काट्न थालेका हुन्।
प्रहरी महानिरीक्षकको सचिवालय स्रोतका अनुसार यसपालि १२६ जना प्रहरीले विभूषण पाएका थिए। त्यसमध्ये ७० जनाले प्रहरी प्रधान कार्यालयको सिफारिसमा र बाँकी ५६ जनाले सोर्सफोर्समा विभूषण पाएका थिए।
प्रहरी प्रधान कार्यालयले १४० हाराहारीमा विभूषणका लागि सिफारिस गरेको थियो। तर, गृह मन्त्रालयले ७० जनाको नाम स्वीकृत गरेको थियो।
‘यहाँबाट सिफारिस भएकोजति नै संख्या सोर्सफोर्सबाट पुग्न थालेपछि प्रहरी महानिरीक्षकले नीति बनाएरै कार्यसम्पादन मूल्यांकनमा दुई अंक घटाउन थाल्नुभएको हो,’ प्रहरी महानिरीक्षक सचिवालय स्रोतले सेतोपाटीसँग भन्यो।
गृहमन्त्रीको अध्यक्षतामा रहेको समितिले विभूषणको अन्तिम निर्णय गर्छ। गत असोज ३ गते संविधान दिवसको अवसर पारेर सरकारले ९०३ जनालाई विभूषण दिने निर्णय गरेको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहबीच सिफारिसमा परेकाहरूलाई विभूषण दिनेछिन्।
विभिन्न शक्तिकेन्द्र, मन्त्री र नेताको सोर्सफोर्स लगाएर प्रहरीहरू विभूषणमा आफ्नो नाम सिफारिस गराउने गरेका छन्। यसरी थापिने विभूषणले देश र जनताको लागि काम गरेका र पाउनैपर्ने व्यक्तिको सम्मानभन्दा अपमान हुने गरेको छ।
‘अन्यत्र निकायमा के कसो छ हामीलाई जानकारी छैन, तर प्रहरी संगठनभित्र धाएर पाउने व्यक्तिको कार्यसम्पादन मूल्यांकनमा नम्बर काट्न थालिएको हो,’ प्रधान कार्यालय स्रोतले भन्यो।
धाउने परिपाटी घट्दै जाओस् र त्यसरी धाएबापत पाएको मेडलले थपिने अंकजति नै आन्तरिक मूल्यांकनबाट घट्ने हुनाले अर्थहीन हुन जान्छ भन्ने मनोविज्ञानको विकास गर्न यस्तो नीति ल्याइएको प्रहरी महानिरीक्षकनिकट स्रोतले बतायो।
यसअघिका प्रहरी प्रमुखहरूले धाएर पाए पनि सिफारिस गरेर पाए पनि आन्तरिक मूल्यांकनमा दिइने नम्बर घटाउँदैनथे। त्यसरी विभूषण लिने व्यक्तिले शक्ति केन्द्र रिझाइरहनु पर्ने, प्रहरीको काम कार्बाहीमा उनीहरूको हस्तक्षेप बढ्न जाने र प्रहरीको निष्पक्ष कार्यसम्पादनमा बाधा पर्ने बुझाइ प्रहरी प्रधान कार्यालयको छ।
जिल्लामा प्रमुख जिल्ला अधिकारीले पनि कसै-कसैको नाम विभूषणमा सिफारिस गर्ने गरेका छन्। सिफारिस भएका नाम प्रहरी प्रधान कार्यालयमै आउने गरेको छ र कार्यालयले स्वीकृत गरी नामावली पठाउने नीति लिइएको एक अधिकारीले बताए।
प्रहरीमा यतिबेला कार्यसम्पादन मूल्यांकनको सिजन छ। साउनदेखि सुरू भएर असोज महिनामा कार्यसम्पादन मूल्यांकनको अन्तिम टुंगो लाग्छ।
प्रहरीमा कार्यसम्पादन मूल्यांकन समिति छ। समितिले मूल्यांकन गरेपछि त्यसमाथि हुने पुनरावलोकन समितिमा पठाउँछ। पुनरावलोकन समितिमा आइपुग्दा प्रहरी महानिरीक्षक वा प्रहरी अतिरिक्त महानिरीक्षकले प्रहरी कर्मचारीलाई अंक दिन्छन्।
कनिष्ठ प्रहरीलाई एआइजी र प्रहरी निरीक्षकदेखि एआइजीसम्मलाई प्रहरी महानिरीक्षकले आन्तरिक मूल्यांकनमा दुई नम्बर दिने चलन छ।
कार्यसम्पादन मूल्यांकनले प्रहरी कर्मचारीको ‘करिअर’मा प्रभाव राख्ने हुँदा उच्च महत्व हुने गर्छ। प्रहरी महानिरीक्षकले दिने अंककै कारण प्रहरीको तहगत वृत्ति विकासको ढोका खोल्ने गरको छ।
सरुवा, बढुवा, पुरस्कार, मिसनलगायतमा कार्यसम्पादन मूल्यांकनले प्रभाव पार्ने गरेको छ।
कार्यसम्पादन मूल्यांकनबारे सम्बन्धित व्यक्तिलाई थाहा हुँदैन। गोप्य सिलबन्दी गरी कासमू लोकसेवा आयोग, कर्मचारी प्रशासन शाखा र गृह मन्त्रालयमा जाने गरेको छ।
कतिपय बढुवामा कार्यसम्पादन मूल्यांकन खोज्दै अदालतसम्म पुग्ने गरेका उदाहरण पनि छन्।
यससपालि २५ किसिमका विभूषण घोषणा गरिएको छ। त्यसमा ११ किसिमका मानपदवी, ८ किसिमका अलंकार र ६ किसिमका पदक छन्।
अहिले अधिकार सम्पन्न निकायमा बसेको व्यक्तिले आफ्नो नाम आफैं पठाउने, उच्च ओहोदामा रहेकाहरूसँग आफ्नो सिफारिसका लागि ‘लविङ’ गर्ने गरेका छन्। सरकारमा प्रतिनिधित्व गर्ने दलगत आधारमा पनि विभूषण सिफारिस हुने गरेकाले आलोचना बढेको छ।
वर्षमा एक पटक देश र जनताका लागि काम गर्ने व्यक्तिलाई सरकारले सम्झिँदै कदरस्वरुप विभूषण दिने गरेको छश्र
पदकमा विकृति बढेपछी कतिपयले लिन अस्वीकार पनि गर्न थालेका छन्।