काठमाडौंको येँया अर्थात इन्द्रजात्रामा बाटाभरि हामी विभिन्न भैरव देख्छौं। ती भैरवमध्ये सबभन्दा सजिएर बसेका हुन्छन्, आकाश भैरव जसलाई स्थानीय नेवारहरू आजु द्यः भनेर पुकार्छन्।
यी भैरव यलम्बर हुन्, किराँती राजा। आकाश भैरव अर्थात यलम्बरको कथा महाभारतसँग जोडिन्छ।
किम्बदन्तीअनुसार भगवान कृष्णले मन–मनमा महाभारतको युद्ध परिकल्पना गरिरहेका हुन्छन्। त्यहीबेला यलम्बर युद्ध हेर्न भनेर जान्छन्। बाटोमा कृष्ण भेटिन्छन्।
कृष्णले सोधेछन्, ‘कहाँ जान लागेको?’
यलम्बरले भनेछन्, ‘महाभारत युद्ध हुन लागेको छ रे। त्यही हेर्न जान लागेको।’
कृष्ण रनभुल्ल पर्छन्। मनमनै सोचेको कुरा यलम्बरले कसरी चाल पायो भनेर।
‘ल भन त युद्धमा तिमी कसको पक्ष लिन्छौ?’, कृष्णले सोधे।
‘म त जो हार्छ त्यसैको पक्ष लिन्छु,’ यलम्बरले भने।
कृष्णलाई आपत् पर्यो। पाण्डवलाई जिताउनु छ। कौरव पक्ष हार्न लाग्यो भने त यलम्बरले आफ्ना विशाल सैनिकसहित सहयोग गर्ने भए।
त्यसो भयो भने त अनर्थ हुने सोचेर कृष्णले यलम्बरलाई रोक्ने योजना बनाए। उनले छल गरे।
‘तिमी त बलवान देखिन्छौ। मैले भने-भनेको ठाउँमा धनू–बाण हान्न सक्छौ?’, कृष्णले यलम्बरलाई झुक्याउन थाले।
यलम्बर तयार हुन्छन्।
कृष्णले कहिले चरामा, कहिले खोपीमा देखाएछन्। उनले भनेके ठाउँमा यलम्बरले बाण हानेछन्।
‘ओहो! तिमी त निकै बलवान रहेछौ। ल म तिमीलाई वरदान दिन्छु। भन, के माग्छौ?’ कृष्णले सोधेछन्।
‘ए तिमीले मलाई वरदान दिने?’ यलम्बर जितको अहममा बोल्न थाले, ‘तिमी मसँग हारेका हौ। तिमीलाई बरु म वरदान दिन्छु।’
कृष्णले चाहेको नै त्यही थियो। उनले वरदान मागे, ‘तिम्रो टाउको क्षेदन गर्न पाऊँ।’
‘ल ठीक छ। तर मैले युद्ध भने हेर्न भने पाउनु पर्छ,’ यलम्बरले भने।
त्यसपछि यलम्बरको इच्छा पूरा हुन्छ। उनको टाउकोलाई आकाशमै राखिदिएर युद्ध हेर्ने दिइन्छ।
युद्ध सकिएपछि त्यही टाउको काठमाडौंमा आएर बसेको र आकाश भैरव रुपमा विराजमान भएको मानिन्छ।
येँयामा यिनै भैरव काठमाडौंस्थित इन्द्रचोकमा शिरदेखि तलैसम्म फूलका बुट्टेदार मालाले सजाइएको देखिन्छन्। भैरवको सजावटलाई प्रत्येक दिन जस्तो हेर्ने हो भने केही न केही परिवर्तन भएको प्रस्टै थाहा हुन्छ।
येँयाभरि उनलाई सजाउने जिम्मा आकाश भैरवको गुठीलाई छ। गुठीका सदस्य बाबुराजा महर्जनका अनुसार भैरवको सजावट मात्रै नभई सजाइएको फूल पनि दैनिक परिवर्तन गरिन्छ। अर्थात, आज जुन फूल छन्, भोलि त्यही प्रयोग हुन्नन्।
यति धेरै फूल कहाँबाट ल्याइन्छ?
यही कुरा जान्न हामी नरदेवीस्थित ‘तुलाधर पार्टी प्यालेस’ पुग्यौं।
त्यही पार्टी प्यालेसमा आकाश भैरव सजाउने फूलमालाको काम भइरहेको थियो। हामी पुग्दा एउटा पुरै हल लाहुरे, मखमली, पंखा स्वाः, धुपी लगायतले भरिएको थियो। सहभागी भएका महिला-पुरुष ती फूललाई उनिरहेका थिए।
‘यी फूल त निकै कम हुन्,’ फूल उन्दै गरेकी हिरा महर्जनले भनिन्, ‘पहिले त मानिसहरु खर्पनको दुईपट्टि फूल बोकेर ल्याउँथे। अहिले पो टोकरी, झोला र हातहातमा ल्याउँछन्। कसैले त प्लास्टिकका फूल पनि ल्याउँछन्। बजारमा पनि फूल धेरै नपाइने भएकाले थोरै हुन्छ।’
यी फूलका एकापट्टि लामा झुत्ताका लाभा (चामलको फूल) का माला उनेर राखिएको थियो। ती भने महिनादिनदेखि नै तयार भएका हुन्। करिब १५ पाथिका हुन्छन्। कसै–कसैले आफूले आजु द्यः सजाउने पालामा लाभाको झण्डा पनि बनाउँछन्। फूलको माला भने एकैदिनमा तयार हुन्छ।
विभिन्न बुट्टामा उनिएका फूल सजाएर त्रयोदशीदेखि प्रदर्शनमा ल्याइयो। द्वादशीको दिन आधिकारिक रुपमा इन्द्रजात्रा सुरू भए पनि आकाश भैरव एक दिन ढिला आउँछन्। अघिल्लो दिनमा भने गोप्य पूजा हुन्छ। भैरवलाई सजाइन्छ। एकदिन ढिला प्रदर्शनमा आएका भैरव जात्रा सकिएको एक दिन ढिला नै भित्र प्रवेश गर्छन्।
गुठीका सदस्य बाबुराजा महर्जनका अनुसार गुठीमा ६२ घरका परिवार छन्। यसमा इन्द्रचोक, चोखाछेः गल्ली, यखाः बहाल, तमो गल्ली, नरदेवी, केबछेःको दबौ गल्ली, मख्खन हुँदै इन्द्रचोक घुम्छ। तीमध्ये वर्षमा आठ घरको एकपटक पालो आउँछ। त्यो घर सकिएपछि नजिकैका अन्य आठ घरको लगातार पालो हुन्छ। यसरी आठै वर्षमा पालो फेरिदै पुनः त्यही घरमा पुग्छ।
‘कुन दिन कसले आजु द्यः सजाउने फूल उन्ने भन्ने तय गरिएको हुन्छ। आफ्नो पालोमा आफ्न्तजन बोलाइन्छ। दिनभरि फूल उनिन्छ,’ बाबुराजाले भने, ‘सजाउन भने आठै जना मिलेर सजाउँछन्। भोलिपल्ट फेरि पालो भएको अर्को परिवारले उनेको फूल परिवर्तन गरिन्छ।’
भाद्र शुक्ल एकादशीको दिनमा आकाश भैरवका गुठीयार मिली भैरवको मन्दिर तल एउटा खटमा बसाउँछन्। त्यही दिन आकाश भैरवका आठ जना गुठीयारमध्येका तर्फबाट आफ्ना नातागोता, छोरी–ज्वाइँ, भाञ्जाभाञ्जी लगायतलाई छायेकेगु (पूजा गर्ने) अवसरमा प्रसाद ग्रहण गर्न निमन्त्रणा गरिन्छ। करिब १५० घरमा निम्ता पठाइन्छ। सबै आफन्तजनलाई बोलाएर भोज खुवाइन्छ। त्यही दिन उनीहरूले विभिन्न फूल ल्याउँछन्। सबै मिलेर फूलमाला गाँस्छन्।
द्वादशीको रात चित्रकारहरूले भैरवनाथको अनुहार रङ्गरोगन गर्छन्। त्यसपछि गुठीयार मिलेर सो मूर्तिलाई बाहिर ल्याई खटमा विराजमान गराउँछन्। ताम्राकारहरूले सो मूर्तिमा गरगहना लगाइदिन्छन्। त्यसपछि गुठीयारहरूले एकदिन अगाडि गाँसेको फूलमालाले मूर्ति सजाउने काम गर्छन्।
अन्य दिन भने त्यही दिनमा बनाएको माला लगाइदिइन्छ। इन्द्रजात्राको रथयात्रा क्रममा माथिल्लो टोल (थः ने) मा रथले परिक्रमा गर्दा इन्द्रचोक पनि पुग्छ। त्यो दिन कुमारीको सामुन्ने भैरवलाई ५ वटा जिउँदो माछा चढाइन्छ।
जात्राभरिको आठ दिनमा आकाश भैरव सजाउन यी आठजनाको विशेष भूमिका रहन्छ।
भिडिओ र सबै तस्बिर: सुसन चौधरी/सेतोपाटी