२०७३ सालमा नुवाकोट विदुर नगरपालिका वडा नम्बर १३ का ५२ वर्षीय सेसे भन्ने उर्पा तामाङ काठमाडौंको सुन्धारा जेलबाट छुटे। १९ वर्ष जेल सजाय काटेर उनी छुटेका हुन्।
आठ सय ५० ग्राम लागुऔषध हेरोइनसहित उनी २०५४ साल कात्तिक ३ गते पक्राउ परेका थिए। उनलाई अदालतले १५ वर्ष कैद र पाँच लाख जरिवाना तोकेको थियो। तर पाँच लाख रूपैयाँ तिर्न नसकेपछि सेसे १९ वर्ष जेलमै बसे।
त्यस दौरान उनले ६ महिनाको ह्यान्डीक्राफ्ट, थान्का बनाउने लगायतको ट्रेनिङ पनि लिए। उनले त्यो सीपको प्रमाणपत्र समेत पाएका थिए। सजाय काटेर जेलबाट निस्केपछि उनले त्यो सीपलाई भरपुर प्रयोग गरे। तर त्यो सीपलाई अपराधसँग जोडेर दुरूपयोग गरे।
अहिले उनी लागुऔषध नियन्त्रण ब्युरोको हिरासतमा छन्। उनलाई प्रहरीले चरेससहित पक्राउ गरेको छ। उनीसँगै नौ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
ब्युरो प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हृदय थापाका अनुसार सेसे आफू जेलबाट छुटेपछि सुध्रिएनन्। बरू उनले पुरानै र्याकेटको प्रयोग गरी चरेसको कारोबार सुरू गरे। यो कारोबारमा उनका पार्टनर थिए नुवाकोट विदुर नगरपालिका वडा नम्बर १ का ३४ वर्षीय वीरबहादुर तामाङ। सेसेले उनीबाट चरेस ल्याउने गर्थे। उनले विभिन्न जिल्लाबाट संकलन गर्थे।
त्यो चरेसलाई सेसेले टोखा नगरपालिका वडा नम्बर १ स्थित एक कोठामा लग्थे। त्यहाँ उनले एउटा 'कारखाना' नै खोलेको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) जीवनकुमार श्रेष्ठले बताए।
'त्यो कोठाभन्दा पनि कारखाना जस्तो थियो। विभिन्न किसिमका लेमिनेसन गर्ने, फेभिकोल, डायरी बनाउन प्रयोग गर्ने कागज पत्रहरू, ह्यान्डीक्राफ्ट बनाउने सामान थियो,' उनले भने, 'चरेस लुकाउने कारखानाजस्तै बनाएको रहेछ।'
सेसेले पहिले ह्यान्डीक्राफ्ट्सको ट्रेनिङ लिएको हुँदा त्यस्ता सामानबारे राम्रै जानकार थियो। उनले पहिल्यै बनिसकेका ऊनका क्राफ्ट्सहरू किनेर ल्याउँथे। नेपाली कागजका डायरीहरू तथा कागजहरू पनि ल्याउँथे। अनि आफ्नो कारखानामा लगेर त्यसभित्र लुकाएर प्याकिङ गर्थे।
'चरेसलाई पेलेर पातलो बनाएर ह्यान्डीक्राफ्ट्सको भित्र साइज अनुसार मिलाएर राख्ने गरेको पाइयो,' एसएसपी थापाले भने, 'डायरीका अगाडि पछाडिका कभरमा पनि राख्ने गरेको पायौं।'
नेपाली कागजका डायरी र ह्यान्डीक्राफ्ट्सहरूको भित्र लुकाएर लग्दा प्रहरीले पनि विदेशमा त्यो सामान बेच्न लगेको आशंका गर्ने हुँदा सो जुक्ति प्रयोग गरेको प्रहरीको भनाइ छ।
अवैध रूपमा नेपालमा १५ हजार बढीमा बिक्री गर्ने चरेस विदेशमा भने लाखौं लिने ब्युरोले बताएको छ। सेसे र वीरबहादुरले चरेसलाई विदेशमा निर्यात गर्थे, त्यो पनि स्थलमार्गबाट।
स्थलमार्गबाट भारतको कलकत्ता पुगेपछि त्यहाँ पानीजहाजबाट हङकङ, थाइल्याण्ड, टर्की लगायतका देशहरूमा पुर्याउने गरेको अनुसन्धानबाट खुलेको ब्युरोले जनाएको छ। त्यसको डिल गर्न सेसे आफैं पनि केही पटक विदेश पुगिसकेका छन्। बिक्री गर्न केही भारतीय नागरिकको समेत सहयोग उनीहरू लिन्थे।
उनीहरूले स्थलमार्गबाटै पाँच-सात पटक गरी ६० देखि ७० किलोसम्म चरेस पठाइसकेको एसपी श्रेष्ठले बताए।
स्थलमार्गबाट काम भइरहँदा लकडाउन भएपछि उनको काम रोकियो। स्थलमार्ग पूर्ण रूपमा नखुलेपछि उनीहरूले पहिलो पटक विमानस्थलमार्फत् कतार पठाउने योजना बनाए।
सेसे र वीरबहादुर आफैंले भने चरेस लैजाँदैन थिए। उनले विदेश जान लागेका सामान्य व्यक्तिहरूसँग चिनजान गरी पठाउने गरेको पाइएको छ।
सामान्य व्यक्तिहरूलाई थाहै नदिई लागुऔषध तस्करी गराउने गरेका विभिन्न घटना बाहिरिएपछि प्रहरीले सचेत हुन आग्रह गरेको छ।
त्यहीक्रममा दुई जना व्यक्तिहरू भदौ २१ गते कतार एयरवेजबाट दोहा जान लागेको कुरा सेसे र वीरबहादुरले थाहा पाए।
कतार जाने म्याग्दी मंगला गाउँपालिका वडा नम्बर ३का २६ वर्षीय श्यामप्रसाद रोका र ३५ वर्षीय वीरबहादुर रोका मगर थिए। उनीहरू कतार जाँदै थिए भन्ने खबर म्याग्दीकै ४४ वर्षीय दिलबहादुर रोकाले धादिङ गंगा जमूना गाउँपालिका वडा नम्बर ४ का अनिलबहादुर घलेलाई दिए।
घलेले फेरि धादिङकै २८ वर्षीय सुनबहादुरलाई दिए। सुनबहादुरले धादिङ खनियाबास गाउँपालिका वडा नम्बर ५ बस्ने २८ वर्षीय यान्की भन्ने जीतबहादुर तामाङलाई सूचना दिए। उनलाई कतार जाने व्यक्तिको खोजी गर्नू भनेर निर्देशन दिने व्यक्ति भने माइला भन्ने ३६ वर्षीय कृष्णबहादुर तामाङ थिए।
उनैले अन्तिममा सेसे र वीरबहादुरलाई सूचना दिएपछि कतारमा चरेस पुर्याउने काम अघि बढेको एसएसपी थापाले बताए।
'कोभिडको कारण कारोबार रोकिएपछि केही चरेस बाँकी रह्यो। त्यसपछि कुन मुलुकमा पठाउने त भनेर उनीहरूबीच छलफल भएको थियो,' उनले भने, 'त्यसपछि माइलाले कतारमा पठाउन सकिन्छ। चरेस मलाई देऊ भनेर उनले ह्यान्डीक्राफ्ट्सबाट निकालेर लिएछन्। माइलाले आफ्नो मासु पसलमा लगेर पेलेर सुटकेशको फल्सबटममा राखेर पठाएको देखिन्छ।'
चरेसको कारोबारबारे माइला, सेसे र वीरबहादुर तामाङ बाहेक अरू कसैलाई थाहा नभएको एसपी श्रेष्ठले बताए।
सबै तय भएपछि चरेस भएको सुटकेश बोकेर श्यामप्रसाद रोका र वीरबहादुर रोका मगर भदौ २१ गते बिहान साढे आठ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्छन्। उनीहरूको उडान बिहान ११: ५ बजेको थियो।
विमानस्थलको एक्सरेमा उनीहरूको सुटकेश चेक हुँदा केही शंकास्पद देखिएको थियो। प्रहरीले शंका लागेर पुन: चेक गरेपछि लागुऔषध ४ किलो ३५ ग्राम चरेस फेला पारेको थियो। उनीहरूलाई पक्राउ गरेपछि प्रहरीले दिलबहादुर, अनिलबहादुर, सुनबहादुर, माइला लगायत सात जनालाई पनि पक्रियो।
पछि प्रहरीले उनीहरूमाथि अनुसन्धान गर्दै जाँदा सेसेलाई फेला पारेको हो। उनलाई सामाखुसीबाट प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए।
साथै टोखास्थित उनको डेरामा प्रहरी पुग्दा ऊनबाट बनाइएका विभिन्न रंगको ह्यान्डीक्राफ्ट्स २३ वटा र नेपाली कागजबाट बनेको विभिन्न रंगको डायरी १६ वटा फेला पारेको थियो।
विदेश पठाउन तयार पारेर राखेको त्यसबाट प्रहरीले थप तीन किलो ५७९ ग्राम लागुऔषध चरेस बरामद गरेको थियो।
साथै विभिन्न औजार पनि बरामद भएको ब्युरोले जनाएको छ।
सेसेले पनि चरेस कहाँबाट ल्याउने गरेको भन्नेबारे अनुसन्धान गरेपछि वीरबहादुरको खोजी सुरू भएको थियो। उनलाई प्रहरीले भदौ ३० गते नुवाकोटबाट पक्राउ गरी ल्याएको थियो।
सेसे र वीरबहादुरले चरेससँगै मेथामफेटामाइन (आइस) नामक लागुऔषधको पनि कारोबार गर्ने गरेको एसएसपी हृदय थापाले बताए। यद्यपि अहिले उनीहरूबाट सो लागुऔषध बरामद भएको छैन।
'कारोबारीहरूबीच भएको च्याटहरूमा हेर्दा प्रष्टसँगै आइसको कारोबार पनि गरेको देखिन्छ,' उनले भने।
सो लागुऔषध भने पूर्वी अफ्रिकाको सेशेल्स भन्ने राष्ट्रबाट ल्याउने गरेको उनले बताए। यद्यपि यो लागुऔषध नेपालमै बेचेका थिए वा विदेशमा मात्रै लग्न ल्याउथे भन्ने प्रष्ट नभएको प्रहरीको भनाइ छ।
अनुसन्धानकै क्रममा सेसेले नक्कली कागजातको बिक्री गर्ने गरेको पनि देखिएको प्रहरीले जनाएको छ। इजरायल जाने व्यक्तिहरूलाई विभिन्न तालिमको नक्कली प्रमाणपत्र १० हजार रूपैयाँमा बेच्ने गरेको पाइएको प्रहरीले बताए।
प्रहरीले लागुऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान बढाएको छ।