काठमाडौंको पुरानो बानेश्वरस्थित मात्रिका आँखा अस्पतालमा 'बम' राखेर फिरौती मागेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
आपराधिक लाभ लिन खोजेको आरोपमा तीन जनालाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले बताए। उनीहरूलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो।
प्रहरीले आइतबार परिसरमा पत्रकार सम्मेलन गरी गरेर घटनामा संलग्नहरूलाई सार्वजनिक गरेको छ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ घर भई काठमाण्डौं फुटुङ बस्ने २५ वर्षीय आशिष कुँवर, उनका भाइ २० वर्षीय अभिषेक र रोल्पा परिवर्तन गाउँपालिका वडा नम्बर १ खोलावाङका ४० वर्षीय अम्मरबहादुर रोक्का मगरलाई प्रहरीले पक्राउ गरेको हो।
बिहीबार आशिषले त्यहाँका एक डाक्टरलाई बारम्बार फोन गरेका थिए। उनीहरूले अस्पताल र घरमा बम राखेर पड्काइदिन्छु, परिवारलाई पनि ध्वस्त पार्ने धम्की दिएका थिए। घर परिवारलाई सुरक्षित राख्न मन भए तीन करोड रुपैयाँ लिएर नागढुंगा लिएर आउन भनेका थिए।
सो दिन उनीहरूले अस्पतालको तेस्रो तलाको शौचालयमा बम राखेको बताएका थिए। उनीहरूले अस्पतालका रिसेप्सनिष्ट पूर्णबहादुर दोङलाई फोन गरेको प्रहरी वरिष्ठ उपरीक्षक सिंहले बताए।
दोङलाई फोनमा भनिएको थियो- तपाईंहरू दुई मिनेटभित्र सबैजना बाहिर जानुस् हामीले बम राखेका छौं।
दोङले ठट्टा गरेको हो भन्ने जवाफ भन्ने प्रश्न गरेपछि नपत्याए तेस्रो तलाको शौचालयमा हेर्न भनिएको थियो। दोङले अस्पतालका अध्यक्ष सुरज श्रेष्ठ र मेडिकल डाइरेक्टरलाई जानकारी गराएका थिए। उनीहरूले केही मेसेज पनि पठाएका थिए।
जसमा प्रहरीलाई खबर गर्यो भने बम पड्काइदिने धम्कीसमेत दिएका थिए।
'प्रहरीलाई खबर गरेमा हाम्रो हातमा रिमोट कन्ट्रोल छ, चार वटा बम तपाईंको घरमा पनि हुनसक्छ वा अन्यन्त्र पनि। हामीले भनेको नमानेर आलटाल गरेमा बम पड्काएर ध्वस्त पार्दिन्छौं भनेर धम्क्याएका थिए,' सिंहले भने।
धम्की आए पनि बम राखिएकोबारे प्रहरीलाई खबर भएको थियो। परिसरबाट प्रहरी उपरीक्षक रमेश बस्नेतको नेतृत्वमा प्रहरीको टोली खटिएको थियो।
सेनाको डिस्पोजल टोली पनि घटनास्थल पुगेको थियो। उक्त बम तर्साउनलाई मात्रै राखेको डिस्पोजल टोलीले बताएको थियो यद्यपी त्यसमा के-कस्ता विस्फोटक पदार्थहरू थिए भन्ने बारेमा परीक्षण गरिरहेको प्रहरी वरिष्ठ उपरीक्षक सिंहले बताए।
उनकाअनुसार प्रहरीले सोही दिन बम हाल्ने व्यक्तिहरूको खोजी गरेको थियो।
अस्पतालको सिसिटिभी फुटेजमा दुई जना व्यक्ति देखिएको थियो। प्रहरीले फुटेज, मोबाइल ट्र्याकिङ गरी उनीहरू भएको ठाउँ पत्ता लगाएको थियो। सो क्षेत्रमा प्रहरीले खोजेर उनीहरूलाई शनिबार पक्राउ गरेको हो।
उनीहरूमाथि सोधपुछ गर्दा घटनाको कारण बाहिरिएको हो। सिंहका अनुसार आशिष कुँवरले उक्त अस्पतालमा आफ्नो आँखाको शल्यक्रिया गरेका थिए। जसकारण उनले अस्पतालका कर्मचारी देखि डाक्टरहरू समेतको सम्पर्क नम्बर लिएका थिए।
उनले सो शल्यक्रिया गर्नलाई सहकारीबाट १७ लाख रुपैयाँ ऋण लिएका थिए। जुन उनले चुक्ता गर्न सकेका थिएनन्। साथै उनी बेल्जियम पनि जान चाहिरहेका थिए। उनले त्यसको लागि आवेदनसमेत दिइसकेका थिए, तर उनीसँग पैसा थिएन।
'प्ररम्भिक अनुसन्धानअनुसार पैसा नभएपछि उनले डाक्टरलाई धम्क्याएर पैसा लिन खोजेको देखिन्छ,' उनले भने।
आशिष बिजुली मर्मत गर्ने काम तथा होटलमा मजदुरी समेत गर्ने गर्थे। उनले अभिषेक र अम्बरबहादुरसँग मिलेर बम बनाएको प्रहरीको आरोप छ। उनीहरूले बम पनि युट्युबबाट हेरेर बनाएको प्रहरीलाई बताएको सिंहले बताए।
प्रहरीले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ।