अपहरण आरोपमा जेलमा रहेका गुन्डा नाइके अभिषेक गिरीलाई मोरङ कारागार सरुवा गरिएको छ।
डिल्लीबजार कारागारमा रहेका उनलाई कारागार व्यवस्थापन विभागले मोरङ जिल्लामा सरुवा गरेको हो।
उनी यसअघि मोरङ जिल्लाबाटै डिल्लीबजार कारागार सारिएका थिए। मोरङ जेलबाटै फिरौती र व्यवसायीसँग असुली धन्दा चलाएको आरोपमा २०७४ चैत २३ गते डिल्लीबजार कारागार सरुवा गरिएको थियो।
गिरीलाई नेपाली कांग्रेसका नेताहरूको दबाबमा मोरङ कारागार सरुवा गरिएको बताइन्छ। कांग्रेसनिकट गिरी विराटनगरका स्थानीय हुन्।
साधारणत: एक पटक सरुवा भइसकेको कैदीलाई पुन: त्यही ठाउँमा सरुवा नगर्ने नियम भए पनि विभागले गिरीलाई मोरङ पठाएको छ।
उनीसँगै जेलमा रहेका सहयोगी राजु श्रेष्ठलाई पनि मोरङ कारागार स्थानान्तरण गरिएको छ।
भदौ १७ गतेको निर्णयअनुसार गिरी र श्रेष्ठलाई मोरङ कारागार सरुवा गरिएको विभाग स्रोतले जनाएको छ।
यसैगरी, वन मुद्दामा जेल परेका मनोज कार्की र अपहरण मुद्दाकै अमित सैंबुलाई पनि मोरङ कारागार स्थानान्तरण गरिएको छ।
नौ सयभन्दा बढी कैदीबन्दी रहेको मोरङमा कारागारमा रहँदा गिरी चौकीदार थिए। गिरीलाई फेरि चौकीदारको हैसियतमा फर्काउन सरुवा गरिएको बुझिएको छ। जेलभित्र चौकीदारको आम्दानी राम्रो हुन्छ भनिन्छ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार कारागार व्यवस्थापन विभागबाट स्थानान्तरणको चिठी आइसके पनि कैदीहरू भने आइसकेका छैनन्।
‘हामीलाई चिठी आएको छ तर मान्छे आएका छैनन्,’ निरौलाले भने।
गिरी र श्रेष्ठको जेल स्थानान्तरणको निर्णय भए पनि कार्यान्वयन भइनसकेको कारागार व्यवस्थापन विभागले जनायो। महानिर्देशक जनकराज दाहालले निर्णय कार्यान्वयनमा आइनसकेको बताए।
गिरीको मोरङ कारागारको सरुवाले उद्योगी व्यवसायी भने त्रसित बनेका छन्।
करण यादवको हत्या आरोपमा गिरीलाई अदालतले २०६९ सालमा सफाइ दिएको थियो। २०६६ सालमा कारागारबाटै अर्का गुन्डा नाइके पर्शुराम बस्नेतलाई गोली हानेर हत्या गर्न खोजेको आरोप पनि गिरीलाई लागेको थियो।
दुई गोली लागेका बस्नेत लामो उपचारपछि तंग्रिएका थिए। आपराधिक दुश्मनीका कारण गिरीले मानिस खटाएर बस्नेतको हत्या योजना बनाएको आरोप लागेको थियो।
युवती प्रयोग गरी सरकारी कर्मचारीलाई बन्धक बनाएर फिरौती मागेको आरोपमा गिरी र श्रेष्ठलाई प्रहरीले फेरि २०७० सालमा पक्राउ गरेको थियो।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडका लेखा सहायक अच्युतप्रसाद रेग्मीलाई बन्धक बनाएर रकम मागेको आरोपमा गिरीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको थियो।
गिरीले आफ्नी प्रेमिकालाई प्रयोग गरेर रेग्मीलाई बन्धक बनाएका थिए।
रेग्मीलाई सानेपास्थित डेरामा बोलाएर बन्धक बनाइएको थियो।
रेग्मी डेरामा पुगेपछि गिरीले १० लाख रुपैयाँ फिरौती मागेका थिए। रेग्मीले आफू सामान्य सरकारी कर्मचारीमात्रै भएको बताएपछि गिरीसँगै रहेका राजु श्रेष्ठले उनलाई कुटपिट गरेका थिए।
विराटनगर देवकोटा चोकका गिरी विशेष गरी मोरङमा कांग्रेसका केही नेताको आडमा ठेक्कापट्टा, चन्दा असुली र गुन्डागर्दीमा संलग्न व्यक्ति हुन्। सुरूमा एमाले निकट अर्का गुन्डा नाइके पर्शुराम बस्नेतसँगै अवैध असुलीमा लागेका गिरी पछि छुट्टिएका थिए।
गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोग सम्पत्तिमा शुद्धीकरण विभागले समेत गिरीमाथि विशेष अदालतमा मुद्दा चलाएको थियो। अदालतबाट ३० लाख धरौटी तिरेर गिरी छुटेका थिए।