मोरङकी ३३ वर्षीया सोनु (नाम परिवर्तन) अहिले काठमाडौंमा कोठा खोज्दै छिन्। सोमबारमात्रै काठमाडौं आएकी उनलाई एउटा सानो कोठा लिने, अनि पाएको काम गर्न मन छ।
त्यो पनि यो कोरोना कालसम्म मात्रै। किनकी उनलाई कुवेतबाट बोलावट आइरहेको छ।
सोनु यसअघि धेरै पटक कुवेत गइसकेकी छन्। पहिलो पटक उनी बालख छोरालाई छोडेर १५ वर्षअघि कुवेत गएकी थिइन्।
उनी पछिल्लो पटक कुवेतबाट फर्किएको दुई वर्षअघि हो। त्यसपछि उनी फेरि जान सकिनन्। गाडी दुर्घटनामा परेपछि उनी शारिरिक रूपमा अस्वस्थ भएकी थिइन्।
त्यतिबेला सोनु मोरङमा कोठा भाडामा लिएर बस्थिन्। श्रीमानसँगको सम्बन्ध बिग्रिएको कारण उनी एक्लै बसेकी हुन्।
सोनुले सानै उमेरदेखि दु:ख पाएकी थिइन्। मोरङमा उनी एउटा होटलमा काम गर्थिन्। काममै हुँदा सशस्त्र प्रहरीका एक हवल्दारसँग चिनाजन भयो। एक हप्तामै उनीहरूले विवाह गर्ने निर्णय लिए। त्यतिबेला सोनु १३-१४ वर्षकी मात्रै थिइन्।
'शनिबारको दिन उहाँहरूको छुट्टी हुन्थ्यो। मलाई भागम् भन्नुभयो। रिक्सामा हालेर लग्नुभयो,' सोनुले भनिन्, 'सानै थिएँ। जाम भनेपछि गएँ। त्यतिबेला रिक्सा पनि ठुलै कुरा हुन्थ्यो।'
उनीहरूले विवाह गरे पनि सम्बन्ध सोचेजस्तो राम्रो भएन। कामबाट सरुवा हुँदै उनीहरू काठमाडौं आइपुगे। त्यही बेला उनले छोरा जन्माइन्।
बच्चा पेटमा हुँदा पनि श्रीमानले कुट्ने गरेको सोनु बताउँछिन्। दिनहुँको यातना भोग्न उनलाई निकै गाह्रो परिसकेको थियो। त्यसबाट बच्न उनी कहिले श्रीमानलाई फकाउँथिन् कहिले रक्सी नै खुवाउँथिन्। बल्लतल्ल छोरा अलि ठूलो बनाएर उनी कुवेत उडिन्।
उनले त्यहाँ राम्रै काम पाएकी थिइन्। कमाएको पैसाबाट केही आफूलाई राखेर अरू श्रीमानलाई पठाउँथिन्।
दुई वर्षपछि घर फर्किँदा श्रीमानले सबै पैसा सकाइसकेका थिए। जागिर छाडेर बसेका थिए।
उनी श्रीमानसँग छुट्टिइन्। माइतीमा गएर सौतेनी आमासँग बसिन्। उनकी आमा सोनु सानै हुँदा अर्को विवाह गरेर गइसकेकी थिइन्।
केही समय माइतीमा बसेपछि उनी फेरि कुवेत गइन्। यसपालि श्रीमानलाई होइन सौतेनी आमालाई पैसा पठाउन थालिन्।
यसपालि पनि उनले आफूले कमाएको पैसा आफैं चलाउन भने पाइनन्। कुवेतबाट फोन गर्दा आमाले उनलाई सबै पैसा बैंकमा राखिदिएको बताउँथिन्। तर घर आउँदा कुरा बेग्लै थियो।
घर फर्किएपछि उनले आमालाई भनिन्,'ममी, पैसा कहाँ छ, दिनु न।'
जवाफमा आमाले भनिन्,'तेरा भाइ-बहिनीलाई पढाएँ, हुर्काएँ। सुन/गहना किनेर लगाएँ। छोरीहरूको विवाह गरिदिएँ।' सोनुले आमालाई महिनामा ३०-४० हजारदेखि दुई लाखसम्म पठाएकी थिइन्।
वर्षौंसम्म कमाएको पैसा कहिले श्रीमान त कहिले सौतेनी आमाले सकिदिँदा सोनु निराश भइन्। उनलाई डिप्रेसन नै भयो।
केही समयपछि उनले आफूलाई सम्हालिन्। पैसा कमाउँछु र जिन्दगी राम्रोसँग चलाउँछु भनेर उनी फेरि कुवेत गईन्।
दुई वर्षअघि उनी कुवेतबाट फर्किइन्। नेपाल फर्केर पनि उनलाई दु:खले छोडेन। सवारी दुर्घटनामा परेर घाइते भइन्। केही समय उपचारमै बित्यो, त्यसपछि कोरोना आयो, लकडाउन भयो।
गत वर्ष कात्तिकमा पैसा कमाउन भनेर उनी दुबई पुगिन्। दुबई पुग्दा उनीसँग एकातिर पैसा कमाउने सपना थियो अर्कातिर फर्केर विवाह गर्ने योजना।
मोरङमा चिनेका दाइले उनलाई भिजिट भिसामा दुबई जान र उतै काम गर्न सुझाएका थिए। तिनै दाइले उनलाई एक व्यक्तिको नम्बर पनि दिए। ती व्यक्ति थिए, अर्घाखाँची घर भई काठमाडौंको तार्केश्वर नगरपालिका वडा नम्बर ९ बस्ने मधु श्रेष्ठ।
सोनुले दुबई जान भनेर मधुसँग सम्पर्क गरिन्। दुबई जाने बहानामा उनीहरूबीच दिनहुँजसो कुराकानी हुन थाल्यो। मधु विवाहित थिए। उनले सोनुलाई श्रीमतीसँग आफ्नो राम्रो सम्बन्ध नभएको बताए। उनले पनि पत्याइन्।
केही समयपछि मधुले विवाहको प्रस्ताव राखे। श्रीमानसँग राम्रो सम्बन्ध नभएर छुट्टिएर बसेकी सोनुलाई विवाहको प्रस्ताव साँच्चै लाग्यो। उनी राजी भइन्। उनीहरूबीच विवाह भएको थिएन तर सँगै बस्न भने थालिसकेका थिए।
सोनुले दुबई गएर पैसा कमाएपछि विवाह गर्ने योजनासमेत मधुले सुनाएका थिए।
सोनुले मधुका कुरामा विश्वास गरिन्। विदेश जानकै लागि उनले मधुलाई एक लाख ३० हजार रुपैयाँ पनि बुझाइन्।
गत वर्ष कात्तिक २५ गते दुबई उड्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगिन्। उनलाई पुर्याउन मधु पनि विमानस्थलसम्म आए।
'ठिकै छ त। अब घरबार बनाउँछु नि भनेर म दुबई गएँ। मधु श्रेष्ठले नै मलाई एयरपोर्टसम्म छाड्यो,' उनले भनिन्।
दुबई पुगेपछि उनलाई निशा नाम गरेकी महिला लिन आइन्। सोनुले नेपालबाट जाँदा ३५ सय दिराम पनि बोकेकी थिइन्। निशाले नगद, पासपोर्ट, टिकट, भिसालगायत सबै सामान लिएर गइन्। त्यसबेला सम्म पनि सोनुलाई राम्रै काम पाइन्छ भन्ने लाग्थ्यो।
निशाले उनलाई सुरूमा एक जना अरबीको घरमा काम लगाइदिएकी थिइन्।
त्यो घरमा उनी चार दिन बसिन्। घरमै बसेर काम गर्नु परेपछि उनले ती अरबीलाई सोधिन्,'मलाई किन यसरी ल्याएको। म भिजिट भिसामा आएकी हुँ, घरको कामको लागि आएको होइन। मैले यहाँ काम गरे पनि आफू खुसी गर्न पाउनु पर्छ। वा नेपाल नै फर्किन पाउनुपर्छ।'
ती अरबीले सोनुलाई आफ्नो अफिसमा कुरा गर्न भनेपछि उनले निशालाई बोलाइन्।
निशा उनलाई लिन त आइन् तर सिधै गाडीमा हालेर अर्को घर लगिन्।
'सेतो गाडी आयो। त्यसमा मलाई क्लिनर कम्पनीमा काम छ १२ सय दिराम पैसा हुन्छ भनेर अर्कै अरबीको घरमा लगियो,' उनले भनिन्।
नयाँ घरमा छोडेर निशा हिँडिहालिन्।
सोनुले मलाई किन यहाँ ल्याएको भनेर मालिकसँग सोधिन्। अरबी मालिकले भने,'मैले तँलाई १५ हजार दिराममा किनेको हुँ। अब तँ दुई वर्ष यहीँ बसेर काम गर्न पर्छ।'
अरबीको कुरा सुनेर सोनु छाँगाबाट खसेजस्तै भइन्। दुबई गएर पैसा कमाऊ अनि विवाह गर्नुपर्छ भन्ने मधुले त उनलाई बेचिसकेका रहेछन्।
अरबीले सोनुलाई घरबाहिर निस्किनसमेत दिँदैन थिए।
'म त्यो घरमा तीन महिना १३ दिन बसें। ती दिन प्राय: जसो रोएरै बिताएँ। कसरी त्यहाँबाट निस्किने भन्ने नै मेरो दाउ थियो। दलाललाई फोन गर्यो, ब्लक गरेको छ। निशालाई फोन गर्यो, दुई वर्ष त्यो घरमा बस्नैपर्छ भनेर भन्ने। ठिक छ म तलाईं पैसा दिन्छु मेरो पासपोर्ट दे न त भन्दा पनि मानिनन्। मेरो केही लागेन,' सोनुले भनिन्।
दिनहुँको यातना सहन नसकेपछि एक दिन उनले त्यहाँबाट भाग्ने सोचिन्। त्यसका लागि उनले घरको मूल गेटको एउटा चाबी लुकाइन्।
'मैले फेसबुक ग्रुपतिर कुरा गर्दै थिएँ। त्यहाँ मलाई एक जना दिज्यूले हेल्प गर्छु भन्नुभयो। अनि मैले घरको मेन गेटको चाबी लुकाएँ,' उनले भनिन्।
नेपालबाट जाँदा उनले एउटा ब्याग र सुटकेश लगेकी थिइन्।
'बिहान पाँच बजे मैले मेरो ह्यान्ड ब्याग बोकें। कपडा सबै त्यहीँ छाडें। जुत्ता हातमा बोकें। बिस्तारै चाबी खोलेर त्यहाँबाट भागें,' उनले सम्झिइन्।
भागेर उनी दुबईस्थित एनआरएनको सम्पर्कमा पुगिन्।
नेपाल फर्किन उनीसँग पासपोर्ट थिएन। एनआरएनका मानिसले नै ती अरबीलाई फोन गरेर पासपोर्ट मागे। अरबीले सर्त तेर्स्याए- १५ हजार दिराम फिर्ता गरेपछि मात्रै दिन्छु।
त्यसपछि नेपालकै केही व्यक्तिहरूले पैसा उठाएर उनलाई पठाइदिएपछि पासपोर्ट पाइन्।
त्यतिञ्जेल ३५ दिन बितिसकेको थियो। नेपाल फर्किन भनी उनी एयरपोर्ट गइन् तर जहाज चढ्न पाइनन्।
'पासपोर्ट पाएपछि म नेपाल फर्किन भनेर एयरपोर्ट गएँ। त्यो अरबीको कानुन मैले के गर्न सक्थें र! एयरपोर्ट पुगेर पासपोर्ट देखाउनबित्तिकै मलाई पुलिसले घेरा हाल्यो। म जान मिल्दैन भन्छ,' उनले भनिन्,'उनीहरूले मेरो पासपोर्ट यताउता लगे। प्रहरीले मलाई घेरा हालेर राख्यो। तर डरचाहिँ मलाई लागेन।'
उनलाई प्रहरीले त्यसरी घेरा हाल्नुको कारणचाहिँ घरबाट भागेको हुँदा अरबीले उनीमाथि चोरीको मुद्दा हालेका रहेछन्।
डर त थिएन तर निरन्तर पाइरहेको दु:ख देखेर उनले आँशु थाम्न सकिनन्। उनी प्रहरीकै अगाडि भक्कानिइन्।
'म यस्तो बिरामी छु। औषधि पनि खाँदै छु। त्यो घरमा काम गर्न नसकेर भागेकी हुँ। ज्यान जोगाउनको लागि भागेकी हुँ। मलाई किन यस्तो गर्छौ,' उनले प्रहरीलाई भनेको कुरा सुनाइन्।
उनलाई त्यहाँ २० वर्षसम्म जेल हाल्ने कुरा गर्दै थिए। त्यसैबीच एक प्रहरी अधिकृत आइपुगेपछि उनलाई छाडिदिए। उनी रोएको देखेर ५० दिराम पनि हातमा थमाइदिए।
उनी घर भने फर्किन सकिनन्। प्रहरीले उनलाई फेरि पहिलाकै संस्थामा पठायो।
एनआरएनले उनको तर्फबाट मुद्दा लडिदियो। सोही संस्थामा उनीजस्तै बेचिएका ७० जना थिए।
मुद्दा जितेपछि उनीहरू नेपाल आउन पाउने भए। सोनुसँगै ३५ जना पीडित गत असार ९ गते काठमाडौं आइपुगे।
नेपाल फर्केर के गर्ने उनलाई थाहा थिएन। परिवारसँग पनि छुट्टिसकेकी उनको अब कहाँ जाने भन्ने पनि टुंगो थिएन।
'काठमाडौं आएर पनि कोही छैन, कहाँ जाने, के गर्ने थाहा थिएन। अनि एउटी दिदीले मलाई माइती नेपालको नम्बर दिनुभयो। म त्यहीँ गएँ,' सोनुले भनिन्।
त्यहाँ गएर उनले आफूलाई दुबई पुर्याएर बेच्ने मधु श्रेष्ठविरूद्ध मुद्दा हाल्ने विचार गरिन्।
माइती नेपालका वकिलहरूसहित उनी गत असार १४ गते नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो पुगिन्।
'मलाई त्यसरी बेच्ने मान्छेलाई कानुनी दायरामा ल्याउनु त पर्यो नि भनेर मैले त्यहाँ सम्पर्क गरें। अरू महिलाहरू पनि यसरी नबेचिऊन्। दलालको हातमा नपरून् भनेर उनलाई कानुनी कठघरामा ल्याउन खोजेकी हुँ,’ उनले भनिन्।
मधु कहाँ बस्छन् भन्ने उनलाई थाहा थियो। सबै ठेगाना उनले प्रहरीलाई दिइन्।
जाहेरीपछि प्रहरीले गत साउन १७ गते मधुलाई पक्राउ गर्यो। उनलाई पक्राउ गरी प्रहरीले अनुसन्धान प्रतिवेदन काठमाडौं जिल्ला अदालतमा बुझाइसकेको छ।
जिल्ला अदालतले गत बुधबार मधुलाई पुर्पक्षका लागि कारागार चलान गरेको ब्युरोकी प्रहरी नायब उपरीक्षक अन्जना श्रेष्ठले जानकारी दिइन्। मधु अहिले कारागार कार्यालय जगन्नाथदेवल सुन्धारामा छन्। सोनुलाई दुबईमा बेच्चे निशा नामकी महिला भने अझै फरार छन्।
निशालाई पनि प्रहरीले कानुनी कठघरामा उभ्याएको दिन सोनुले सन्तोषको सास फेर्ने छन्। त्यतिञ्जेल शहरमा आफ्नो जिन्दगीलाई सहज बनाउने उनको सपना छ। त्यसका लागि उनी अहिले काठमाडौंमा एउटा कोठा खोजिरहेकी छन्।