मेलम्ची खानेपानी आयोजना मर्मत गर्न अढाइ अर्ब खर्च लाग्ने अनुमान गरिएको छ।
मेलम्ची खानेपानी आयोजनाले अस्थायी रूपमा काठमाडौंमा पानी झार्न अढाइ अर्ब खर्च लाग्ने कार्ययोजना खानेपानी मन्त्रालयमा पेश गरेको हो।
हालै पेश गरिएको कार्ययोजनामा तीव्र गतिमा काम गरे चैत महिनासम्ममा अस्थायी रूपमा पानी झार्न सकिने उल्लेख छ।
त्यसका लागि मेलम्ची खानेपानी आयोजनामा रहेका दुइटा अस्थायी सुरुङ मर्मत गर्नुपर्ने, हेडवर्क्स मर्मत, मोटरेबल पुल मर्मतलगायत छन्।
मेलम्ची खानेपानी आयोजनाका डिभिजनल इञ्जिनियर राजेन्द्रप्रसाद पन्तका अनुसार सडक विभाग र नेपाली सेना समेतको सहयोग लिएर काम गरे चैतसम्ममा अस्थायी रूपमा पानी काठमाडौं झार्न सकिन्छ।
‘हामीले कार्ययोजना पेश गर्दा मुख्य-मुख्य क्षतिको विवरण उल्लेख गरेका छौं, बाढीले अकल्पनीय क्षति गरेका कारण मर्मतको लागत बढ्न पनि सक्छ,’ उनले भने।
उनका अनुसार अस्थायी रूपमा बनाइएको हेडवर्क्सको दसदेखि पन्ध्र मिटर क्षेत्रमा मेलम्ची नदीले बालुवा-गिट्टी, लेदो थुपारेको छ। हेडवर्क्सलाई मर्मत गरेर चलाउन सकिन्छ भन्ने अनुमानका आधारमा कार्ययोजना पेश गरिएको छ।
‘तर, नयाँ बनाउनुपर्ने वा अस्थायी रूपमा अर्को ठाउँमा बनाउनुपर्ने भयो भने पनि लागत बढ्ने र समय बढी लाग्ने हुन सक्छ,’ पन्तले सेतोपाटीसँग भने।
उनका अनुसार मेलम्चीको मुख्य सुरुङमा क्षति भएको छैन। तर, अम्बाथानको २९८ मिटर लामो अस्थायी सुरुङमा लेदो थुप्रिएको छ। त्यसलाई सफा गर्नुपर्ने भएको छ।
त्यसैगरी, २१० मिटर लामो हेडवर्क्स र डाइभर्सनबीचको अस्थायी सुरुङमा पनि लेदो थुप्रिएको छ। त्यसलाई सफा र मर्मत गरेर सञ्चालन गर्न सकिने कार्ययोजना छ।
यसैगरी, मेलम्ची छिर्ने मुख्य प्रवेश मार्गमा तीन वटा पुल, अम्बाथान र त्यसभन्दा पारिपट्टि अर्को गरेर पाँच वटा अस्थायी पुल निर्माण गर्नुपर्ने भएको छ।
मेलम्चीमा आएको बाढीले पहिले भएका चार वटा मोटरेबल पुल बगाइदिएको छ।
‘मोटरेबल पुल बनाउन र नदी किनारमा थुप्रिएको बालुवा-गिट्टी सफा गर्न नेपाली सेनासहित सडक विभागको सहायताको अपेक्षा गरिएको छ,’ पन्तले भने।
मेलम्ची बजारदेखि हेडवर्क्ससम्म पुग्ने करिब पाँच किलोमिटर सडक नयाँ निर्माण गर्नुपर्ने भएको छ।
‘यी मुख्य क्षतिलाई विश्लेषण गरी हामीले कार्ययोजना पेश गरेका छौं,’ पन्तले भने।
उनका अनुसार अस्थायी सुरुङ कति टालिएको छ, गेटहरूमा कति क्षति भएको छ भन्ने आकलन पनि कार्ययोजनामा छ।
अहिले मेलम्ची बजारदेखि माथि बिजुली नभएका कारण नयाँ पोलहरू गाडेर बिजुली लैजानुपर्ने वा त्यही सोलार प्यानल जडान गर्नुपर्नेबारे अवस्था रहेको पन्तले बताए।
कार्ययोजनामा मेलम्चीलाई अस्थायी रूपमा सञ्चालन गर्ने भन्ने मात्र छ। तर, मेलम्चीको मुहानमा रहेको हिमपहिरोले थुपारेको थेग्रिनीको जोखिमबारे भने कार्ययोजनामा उल्लेख छैन।
यसबारे अलग्गै अध्ययन गर्नुपर्ने भएकाले कार्ययोजनामा नराखिएको आयोजनाको भनाइ छ। अर्को साल वर्षामा पुन: थेग्रिनी बगेर आए मेलम्चीलाई क्षति गर्न सक्ने छ।
गत असार १ गते पहिलोपटक मेलम्ची नदीमा बाढी आउँदा हेडवर्क्स, अस्थायी सुरुङमा क्षति हुनुका साथै बाढीले पुलहरू बगाएको थियो।
एडिबीको टिओआर स्वीकृत गरिँदै
खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाको माथिल्लो भाग थ्रेमाथाङमा रहेको थेग्रिनी र त्यसले मेलम्चीमा पार्नसक्ने स्थितिको समग्र भौगर्भिक अध्ययन गर्न एसियाली विकास बैंक (एडिबी)लाई लगाउने भएको छ।
खानेपानी मन्त्रालयले साउनमा एडिबीलाई पत्र लेख्दै अध्ययन गरिदिन अनुरोध गरेको थियो।
खानेपानी मन्त्रालयका अनुसार एडिबीले के-के काम गर्ने भनी टिओआर पठाएको छ। सोबारे मन्त्रालयमा छलफल भइरहेको मन्त्रालयका प्रवक्ता सहसचिव रमेश न्यौपानेले बताए।
‘एडिबीले पठाएको टिओआरबारे छलफल भइरहेको छ, के-के गर्ने भनी टुंगो लगाएपछि एडिबीले आफ्नो विशेषज्ञ टोली पठाउने छ,’ न्यौपानेले भने।
हाल थ्रेमाथाङको भौगर्भिक अवस्थाबारे इसिमोडलगायत संस्थाले आ-आफ्नो हिसाबले अध्ययन गरिरहेका छन्। तर, खानेपानी मन्त्रालयले भने एडिबीबाटै अध्ययन गराउने न्यौपानेले बताए।