प्रहरीले लागुऔषध कोकिनसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्यूरोले तीन जनालाई दुई किलो ९३३ ग्राम कोकिनसहित पक्राउ गरेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए। पक्राउ पर्ने तिनै जना फरक-फरक मुलुकका छन्।
ब्युरोले आइतबार पत्रकार सम्मलेन गरी उनीहरूलाई सार्वजनिक गरेको हो।
गत भदौ ३ गते कतार एयरवेजको विमानबाट ३० वर्षीया दक्षिण अफ्रिकी नागरिक शिर्ले गामा नेपाल आएकी थिइन्। उनी दक्षिण अफ्रिकाको जोहानेसबर्गबाट केपटाउन, दोहा हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेकी हुन्।
उनले आफ्नो सुटकेसमा लागुऔषध कोकिन लुकाएर ल्याएकी थिइन्। विमानस्थल प्रहरीले त्यो कुरा थाहा पाएन। उनले सजिलै विमानस्थलबाट बाहिरिइन्।
गामा विमानस्थलबाट कमलादीस्थित एक होटलमा पुगिन्। ठूलो मात्रामा लागुऔषध ल्याएको हुनसक्ने आशंकापछि ब्यूरोले प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंको नेतृत्वमा 'अपरेशन कोक सेकेन्ड' अघि बढाएको थियो।
प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार सोही टोलीले दक्षिण अफ्रिकी नागरिक गामामाथि निगरानी बढायो।
'लगातारको निगरानीपछि हामीले उनलाई नेपाल आएकै राति ११ बजे कमलादीस्थित एक होटलबाट पक्राउ गर्यौं,' उनले भने।
गामा पहिलो पटक नेपाल आएकी थिइन्। उनी भिजिट भिसामा नेपाल आइपुगेको प्रहरीले जनाएको छ। उनले बोकेको सुटकेश चेक गर्दा प्रहरीले फल्सबटम मुनिबाट दुई किलो ९३३ ग्राम कोकिन फेला पारेको थियो। उनको सेप्टेम्बर ४ मा फर्किने मिति थियो। त्यतिञ्जेल काठमाडौंमा रहेका सम्पर्क व्यक्तिलाई उनले कोकिन बुझाइसक्नु पर्ने थियो।
गामा पक्राउ परेपछि प्रहरीले थप अनुसन्धान अघि बढायो। उनीमाथि सोधपुछ गर्दा एक भारतीय नागरिक उक्त कोकिन लिन आएको खुल्यो।
'यो कोकिनको मार्केट भारतको दिल्ली रहेछ। नेपाल हुँदै भारत लैजाने कुरा खुल्यो,' प्रहरी उपरीक्षक श्रेष्ठले भने।
ती भारतीय नागरिक छ दिनपछि भदौ ८ गते कोकिन लिन आउन लागेका थिए। उनलाई पक्राउ गर्न प्रहरीले गामालाई भेट्न दिए। प्रहरीको टोली पनि उनलाई कुर्दै थिए।
उनीहरू दरबारमार्गस्थित केएफसीमा भेट्ने टुङ्गो लाग्यो। कोकिन लिएर गामा केएफसी पुग्दा अर्का एक विदेशी नागरिक पनि त्यहीँ थिइन्। उनले उक्त ठाउँ सुरक्षित छ भन्ने बताएपछि भारतीय नागरिक त्यहाँ आइपुगे। ठाउँ मिलाएर ती विदेशी हिँडिहालिन्।
प्रहरीले सोही दिन भारत बैङलुरू किडाथी कर्नाटकका ३३ वर्षीय विजय सिंहलाई पक्राउ गर्यो। उनी भने नेपालमा आउने-जाने गरिरहन्थे। उनले नै कोकिन नेपालबाट भारत पुर्याउन लाग्न लागेका थिए।
कारोबार गर्ने दुई जना पक्राउ परेको थाहा उनीहरूको भेटघाटको चाँजो मिलाउने तान्जेनियाकी नागरिक भारत भाग्न खोजेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए। त्यसै क्रममा प्रहरीले २६ वर्षीया तान्जानियन नागरिक गेर्ट्रुडे लियोनार्ड किमारोलाई सिन्धुलीको खुर्कोटबाट भदौ ९ गते पक्राउ गर्यो।
'तान्जानियनले आफ्ना मान्छेहरू पक्राउ परे/नपरेको बारे निगरानी राख्ने रहेछन्। केएफसीमा भेट्दा उनलाई केही शंका नलागेपछि पिक गर्न भारतीय नागरिकलाई पठाएकी थिइन्,' ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक हृदय थापाले भने।
पक्राउ पर्ने तिनै जनाले एकअर्कालाई नचिन्ने प्रहरी अधिकारीहरू बताउँछन्।
उनीहरूलाई दक्षिण अफ्रिकाकै तेस्रो व्यक्तिको समन्वयमा ओसारपसार गराउने गरेको खुलेको हो।
तान्जानियन नागरिक किमारो दुई वर्षदेखि नेपालमा छिन्। उनी पहिले पनि नेपाल आइसकेकी थिइन्। तर दुई वर्षयता उनी विद्यार्थी भिषामा बस्दै गरेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए।
'उनी स्टुडेन्ट भिसामा नेपाल आएर विश्व भाषा क्याम्पसमा अध्ययन गर्दै थिइन्,' श्रेष्ठले भने। उनी त्यहाँ नेपाली भाषा सिक्दै थिइन्।
उनीहरूले कोकिन नेपालीहरूका लागि राख्ने/नराख्नेबारे पनि अनुसन्धान अघि बढाएको छ। अहिले बरामद भएको कोकिन ९ करोड रुपैयाँ बराबरको रहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए। पक्राउ परेकाहरूले कति ज्याला पाउँथे भन्नेबारे अहिले खुलाएको छैन।
लागुऔषध कोकिन कारोबारमा संलग्न व्यक्तिहरूमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ को दफा १४, १ (छ) ३ अनुसार १५ वर्ष देखि जन्म कैद र ५ देखि २५ लाख सम्म जरिवाना हुने कानुनी प्रावधान छ।
उनीहरूमाथि हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।