हामी कुनै बच्चा बिरामी हुनासाथ नजिकको औषधि पसल गएर अनावश्यक एन्टिबायोटिक लगायतका औषधि ल्याएर खुवाउने गरेका छौं। यो सरासर गलत हो।
बिना आवश्यक सकेसम्म हामीले कुनै पनि एन्टिबायोटिकको प्रयोग नगर्नु राम्रो हुन्छ। यदि गर्नै पर्ने भए चिकित्सकको सल्लाहबाहेक अनावश्यक औषधि खुवाउनु हुन्न।
यद्यपी डाक्टरको परामर्स बिना चाहिनेभन्दा बढी मात्रामा औषधि खुवाइरहेको देख्न सकिन्छ। यसमा सबैभन्दा बढी दुरूपयोग भएको औषधिमा एन्टिबायोटिकनै पर्छ।
भाइरसको कारणले सामान्य रूघा वा ज्वरो आएका बच्चालाई एन्टिबाइटिकले मार्दैन त्यस्तो अवस्थामा पनि एन्टिबायोटिकको प्रयोग गरेको देखिन्छ। थुप्रै व्यक्तिले डाक्टरको परामर्स बिना कुनै मेडिकलमा गएर कुनै एन्टिबाइटिक प्रयोग गर्ने र मेरो बच्चालाई एन्टिबायोटिक प्रयोग नगरी सञ्चै हुन्न भन्ने भ्रम देखिन्छ। यो राम्रो पक्ष होइन।
यस्तो बेलामा बच्चालाई कुन इन्फेक्सन भएको हो त्यो थाहा पाएर मात्र औषधि दिनुपर्छ। ब्याक्टेरियल हो कि भाइरल हो भन्ने कुरा चिकित्सकले परामर्स पछि मात्र भन्न सक्छन् र यस्तो अवस्थामा बच्चालाई अनावश्यक रूपमा एन्टिबायोटिकको भार बोकायौं भने त्यसले बच्चाको शरीरमा त असर पर्छ नै तपाईँको खर्च पनि फजुल हुन्छ।
यी एन्टिबायोटिकले जुन ब्याक्टेरिया मार्थे, ती ब्याक्टेरिया रेसिस्टेन्ट हुन पुग्छन् त्यसैले आफ्नो र समाजको लागि एन्टिबायोटिक दुरूपयोग राम्रो होइन।
जस्तो बच्चामा हुने ७० प्रतिशत झाडापखाला भाइरलको कारणले हुन्छ। भाइरसहरू एन्टिबायोटिकले मर्दैनन्। तर हामीले सामान्य रूपमा देखेको के छ भने औषधि पसलमा गयौं भने त्यहाँ जीवनजल, जीन चक्की जस्ता पखाला लाग्दा दिनैपर्ने कुरा नदिएर २-३ वटा एन्टिबायोटिक दिएको पाइन्छ यो सरासर गलत हुरा हो। यसबाट बच्चालाई हानी मात्र पुग्छ।
औषधि पसलबाट आफैंले बिना डाक्टरको परामर्स ल्याइने औषधि आवश्यक छ कि छैन, त्यसको बास्तविक जरूरत छ कि छैन, त्यसले बालबालिकामा प्रयोग गर्दा कतिको असर गर्छ भन्ने कुरा बुझेर मात्र प्रयोग गरेमा औषधिको नकारात्मक प्रयोगबाट बच्न सकिन्छ। अनावश्यक औषधिको प्रयोगबाट बच्चाको प्रणालीगत असर पर्ने र उसको वृद्धि र विकासमा थुप्रै कुरामा असर पुग्छ।
अनावश्यक औषधि सेवन हानिकारक हुनसक्छ। तसर्थ सामाजिक सञ्जालमा भाइरल भएका स्रोतविहीन ‘औषधि प्याकेज’ मेसेजको आधारमा भन्दा कुनै आधिकारिक वेबसाइट (जस्तै पबमेड, डब्ल्युएचओ, सिडिसी आदि) या चिकित्सकबाट भनिएका या परामर्श लिइएका कुरामात्र मानौं। खतराका संकेत आएमा स्वास्थ्य संस्था जाउँ। जथाभावी औषधि सेवन नगरौं।
बालबालिका र किशोर किशोरीमा अनावश्यक औषधिको प्रयोगले गर्ने हानी र सही औषधि कसरी छनोट गर्ने भन्ने विषयमा हामीले बालरोग तथा रोग प्रतिरक्षा विषेशज्ञ डाक्टर धर्मागत भट्टराईसँग भिडिओ कुराकानी गरेका छौं।