'नमस्कार मालिक, नमस्कार
तिमीहरूले कानुन बुझ्यौ, त्यसैले मालिक बन्यौ,
हामीले भोक बुझ्यौं, त्यसैले हामी दासी भयौं'
यो कवि तथा रंगकर्मी सरस्वती चौधरीले मंगलबार माइतीघर मण्डलमा सुनाएको कविता हो।
थरूहट थारूवान राष्ट्रिय मोर्चाले 'टीकापुर विद्रोहको ६ वर्ष' को अवसरमा काठमाडौंको माइतीघर मण्डलमा मंगलबारबाट तीनदिने विरोध प्रदर्शन सुरू गरेको छ। प्रदर्शनमा सरस्वती चौधरीले 'सीताराम' शीर्षकको थारू कविता वाचन गरेकी थिइन्।
उनले 'नमस्कार मालिक, नमस्कार' भन्दै सम्पूर्ण जमिनदारहरूलाई सम्बोधन गर्दै आफ्नो व्यांग्यात्मक कविता सुरू गरेकी थिइन्।
उनी अगाडि भन्छिन्, ‘हामीले पसिना चुहाएर अन्न फलायौं, जमिन तिमीहरूको अधिकार भयो। हामीले रगत बगाएर निर्माण गर्यौं, दरबार तिमीहरूको निजी भयो।’
मालिकले कामदारमाथि गरेको शोषणविरूद्ध आवाज उठाउँदै उनी भन्छिन्, 'रंग, जात, वर्गका आधारमा हामीलाई दबाए पनि, मालिक र मेरो रगत एउटै हो। देश एउटै हो, संविधानमा दिइएको स्वतन्त्रता एउटै हो।'
मोर्चाले टीकापुर घटनाका बन्दीहरूलाई सम्मानजनक रिहाइको माग गरेको छ।
२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनामा रेशम चौधरी लगायतलाई षड्यन्त्रपूर्वक फसाइएको मोर्चाको भनाइ छ।
'२०७४ को चुनावमा कैलाली-१ का जनताले रेशम चौधरीलाई अत्यधिक भोट हाल्दै निकटतम प्रतिद्वन्द्वीभन्दा २१ हजार बढी मतान्तरले जिताए। त्यहाँ जनताले रेशम चौधरीलाई मात्र चुनेका थिएनन्, राज्यको संरक्षणमा लादिएको हिंसा र दमनको विपक्षमा मत दिएका थिए,' मोर्चाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'जनअभिमतको बेवास्ता गर्दै चौधरी अझै जेलमा थुनिएका छन्। अरू थुप्रैलाई बन्दी बनाइएको छ।'
टीकापुर घटनामा एक नाबालकसहित ७ जनाको मृत्यु भएको थियो। यसलाई राजनीतिक मुद्दा भन्दै मोर्चाले त्यसैअनुसार समाधान गर्नुपर्ने माग गरेको छ।
'टीकापुर जनविद्रोहलाई सामान्य न्यायिक प्रक्रियाबाट होइन, राजनीतिक प्रक्रिया र सहमतिबाटै निरूपण गरिनुपर्छ। यो घटना सामान्य अदालती प्रक्रियाबाट समाधान हुन सक्दैन,' मोर्चाले भनेको छ।
मोर्चाले बिहीबारसम्म दैनिक दिउँसो १ बजे माइतीघर मण्डलमा प्रदर्शन गर्ने जनाएको छ।