ओखलढुंगा, मलुङ गाउँपालिका (हाल कपन) का ५० वर्षीय भीममणि राई अफगानिस्तानस्थित अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा काम गर्थे। काबुल राजदूतावासमा काम गर्न थालेको छ वर्ष भइसकेको थियो। गत चैतमा बिदामा नेपाल आएका उनी उता फर्केको तीन-चार दिन मात्रै भएको थियो।
भीममणि भूतपूर्व नेपाली सैनिक हुन्। अगस्ट १५ मा काबुलमा तालिबानी विद्रोहीले मध्याह्न दिउँसो आक्रमण गर्दा उनी दूतावासमै ड्युटी गरिरहेका थिए।
गोली, बमको आवाज र आकाश ढाक्ने धूलो र धुवाँ। दूतावासको अग्लो पर्खालभित्र काम गरिरहँदा उनले सुनिरहेका थिए। वायुमण्डलमा बारूदको गन्धमिश्रित हावाले उनको नाकले चाल पाइरहेको थियो।
आँखाले सिधा नदेखे पनि उनलाई घटना अकल्पनीय लागिरहेको थियो। मानिसको चिच्याहट, भागदौड महशुस गरिरहेका थिए।
‘बाहिर के भइरहेको छ भन्ने बुझ्न त्यो वातावरण नै काफी थियो। पूरै त्रासदी थियो,’ मंगलबार काठमाडौं आइपुगेका उनले सेतोपाटीसँग भने।
नेपाली सेनामा रहँदा राईले माओवादी सशस्त्र द्वन्द्व देखे-भोगेका थिए।
‘त्यो के थियो र, अफगानिस्तानका विद्रोहीको आक्रमणका अगाडि, कल्पनै गर्न नसकिने,’ भीममणिले भने।
बमगोलीको आवाज कानमा पर्दा सुरक्षा गार्ड काम गर्ने उनलाई आफ्नै सुरक्षा कसरी होला भन्ने चिन्ताले गाँजेको थियो। सम्हालिनुको विकल्प थिएन। उनीजस्तै त्यहाँ थुप्रै नेपाली कोही सुरक्षागार्ड, कोही कर्मचारीको रूपमा कार्यरत थिए।
उनीहरू सबै बाहिरी वातावरणको साक्षी नबने पनि पर्खालभित्रबाट महशुस गरिरहेका थिए।
उनीहरूलाई दूतावासमै खाने-बस्ने व्यवस्था थियो। राई काबुल पुग्नेबित्तिकैदेखि तालिबानी हमला भइरहेकै थियो। त्यसकारण बाहिर निस्कनु जोखिमपूर्ण थियो।
तर एकाएक राजधानी काबुल नै कब्जा होला र आकस्मिक रूपमा अफगानिस्तान छोड्नुपर्ला भन्ने कसैले सोचेकै थिएनन्।
तनावमा गुज्रिरहँदा दूतावासमा भने हल्ला चल्यो- लु तुरून्तै तयार हुनुहोस्। चार्टर्ड प्लेन आउँदैछ।
विकसित मुलुक भएका कारण अमेरिकाले तालिबानले काबुल कब्जा गरेपछि आफ्नो दूतावास तुरुन्तै फिर्ता गर्ने निर्णय गर्यो। कर्मचारीलाई आकस्मिक रूपमा आफ्नो देश फर्काउने वातावरण मिलाइयो।
‘परिवारमा केही खबरखाबर नै गर्न पाइएन। सिधै दोहामा पुगेपछि मात्र परिवारसँग सम्पर्क भयो,’ भीममणिले भने। दोहाबाट कुबेत हुँदै मंगलबार नेपाल आइपुगेपछि उनी हर्षविभोर भएका छन्।
‘त्यस्तो ठाउँबाट बाँचेर आइन्छ भन्ने कसलाई लाग्थ्यो र! धन्न हामीभित्र काम गर्ने थियौं। फेरि अमेरिकाले काबुल कब्जा भएको केहीबेरमै हामीलाई उद्दार गरिहाल्यो,’ उनले भने।
उनका अनुसार त्यहाँ व्यावसायिक उडान छैनन्। देश छोडेर हिँड्न खोज्नेको एयरपोर्टमा रूवाबासी छ। ती दृश्य देख्दैमा मुटु छिया-छिया बनाउने दर्जनाक छन्।
भीममणिका छोरा सञ्जित उनलाई लिन मंगलबार एयरपोर्टमै पुगेका थिए। तर कोरोना संक्रमण जोखिम भएकाले स्वास्थ्य मन्त्रालयको मापदण्ड पूरा नगरी राई घर फर्किन पाउँथेनन्। त्यसैले उनीसहित नेपाल आएकालाई सेनाले बसुन्धराको होल्डिङ सेन्टर पुर्याएको थियो।
सञ्जित बुवाको झोला लिन त्यहीँ पुगेका थिए।
‘चैतमा आएर झन्डै चार महिना बसेर भर्खर जानुभएको हो। तीन-चार दिनमै यस्तो घटना होला भन्ने कसलाई थाहा थियो र,’ सञ्जितले भने।
तालिबानले काबुल कब्जा गरेपछि राईको घरको वातावरण उसैगरी अशान्त बनेको थियो।
‘सम्पर्क भएन, के भयो भयो, आमा खुबै पिरोलिनुभएको थियो,’ सञ्चितले भने, ‘जब दोहा पुगेर बुवाले फोन गर्नुभयो, अनि बल्ल त्रासको वातावरण हरायो।’
भीममणिसहित मंगलबार ११८ जना नेपाली जजिरा एयरद्वारा कुवेतबाट काठमाडौं उत्रिएका थिए। अरू ९ जना नेपाली मूलका भारतीय नागरिक थिए। सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार ती सबै अफगानिस्तानस्थित अमेरिकी दूतावासमा कार्यरत थिए।
उनीहरूमध्ये एक जनाको एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण देखिएको छ। बाँकी सबैको नेगेटिभ आएकाले घर फिर्ता गराइएको सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले बताए।
सुनसरी धरानका ४७ वर्षीय प्रकाश राई पनि तनावग्रस्त अफगानिस्तानबाट मंगलबार काठमाडौं उत्रिए। विगत छ वर्षदेखि काबुलस्थित अमेरिकी दूतावासमा सुरक्षा गार्डकै रूपमा कार्यरत थिए। काम राम्रो चलिरहेको थियो। यसरी कामै छाडेर रातारात स्वदेश फर्किनुपर्छ भन्ने उनले सोचेका पनि थिएनन्। दूतावास परिसरभित्रै काम भएकाले सुरक्षित पनि थियो।
‘मलाई बम, बारुदको आवाजसँग बानी परिसकेको थियो, त्यस्तो डर थिएन। तर आफूलाईभन्दा चिन्ता परिवारलाई हुँदो रहेछ,’ प्रकाशले सेतोपाटीसँग भने।
त्यहाँको स्थिति तनावग्रस्त भएका समाचार बाहिरिन थालेपछि उनको परिवारले छिट्टै घर फर्कन आग्रह गरिरहेको थियो। तर भन्नेबित्तिकै फर्किने अवस्था थिएन। गत शनिबार उनलाई अमेरिकी सेनाले काबुल छाड्न तयारी अवस्थामा रहन भन्यो। त्यसपछि उनले आफ्नो सबै सामान पोको पारेका थिए।
‘अमेरिकी सेनाले शनिबार अचानक खबर गरेपछि हामी कतार र कुवेत हुँदै आज आइपुग्यौं,’ उनले भने, ‘आज सुरक्षित रूपमा आफ्नो माटो टेक्न आइपुग्दा निकै खुसी लागेको छ।’
उनीहरू जस्ता विभिन्न देशका नियोग तथा अन्तर्राष्ट्रिय संघ-संस्थसामा कार्यरत नेपाली सुरक्षित रहेको उनको भनाइ छ।
‘हामीलाई अफगानिस्तानमा रहेका सबै नेपालीको बारेमा त जानकारी हुँदैन। तर युएन, अमेरिकी दूतावास, बेलायती दूतावास, राष्ट्रसंघ लगायत संघ-संस्थाका नेपालीहरू सुरक्षित छन्,’ उनले सुनाए।
अवैध तरिकाले अफगानिस्तानमा पुगेका र अनौपचारिक क्षेत्रमा कार्यरत नेपाली भने जोखिममा रहेकाले सरकारले ध्यान पुर्याउनु पर्ने उनको सुझाव छ।
‘त्यहाँ हिंसा मच्चियो भने त्यस्ता नेपालीलाई धेरै जोखिम छ,’ उनले थपे।
प्रकाश यसअघि भारतीय सेनाका रूपमा कार्यरत थिए। त्यहाँबाट अवकाशपछि उनी अफगानिस्तान गएका हुन्। उनलाई सेनाले विमानस्थलबाट बसुन्धरास्थित ग्रीन सिटी अस्पतालमा पिसिआर परीक्षणका लागि लगेको थियो। पिसिआर रिपोर्ट नेगेटिभ आए मंगलबार नै धरान जाने उनले बताए।
प्रकाशसँगै फर्किएका मनीष लिम्बू भने अफगानिस्तान पुगेको आठ महिना मात्रै भएको थियो। आर्मीबाट अवकाश भएपछि राम्रो कमाइ हुने सोचले पुगेका उनी कमाइ गर्न नपाउँदै फर्कनु पर्यो।
‘कमाइका हिसाबले त निकै राम्रो छ। काम पनि सजिलो तर फर्किनुपर्यो,’ उनले भने।
कमाइ गर्न नपाए पनि आफू सुरक्षित फर्कन पाएकोमा उनले खुसी व्यक्त गरे।
‘कमाउने त त्यस्तै हो। तनावपूर्ण अवस्थामा सुरक्षित आफ्नो देश फर्कन पाएकोमा खुसी छु,’ मनीषले सेतोपाटीसँग भने।
अफगानिस्तानामा तालिबानी विद्रोहीको आक्रमण सुरू भएयता २८२ जना नेपाली स्वदेश फर्किएका छन्। अध्यागमन विभागका अनुसार अगस्ट ५ देखि १७ तारिखसम्म यति नेपाली विभिन्न एयरलाइन्स हुँदै काठमाडौं आइपुगेका हुन्।
यो बीचमा अफगानिस्तानबाट विस्थापित भई नेपाल शरण लिन आएका अफगानी नागरिक आएका छन् छैनन् भन्नेबारे चासो भए पनि विभागले रेकर्डमै हेर्नुपर्ने बताएको छ।
अफगानिस्तानमा कानुनी-गैरकानुनी दुवै तरिकाले पुगेर विभिन्न कम्पनीमा कार्यरत नेपालीलाई फर्काउन परराष्ट्र मन्त्रालयले सहजीकरण गरिरहेको छ। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सहसचिव सेवा लम्सालका अनुसार अफगानिस्तानका सक्रिय विभिन्न कूटनीतिक नियोगमा करिब १५ सय नेपाली कार्यरत रहेको जानकारीमा आएको छ।
‘बेलायत, अमेरिका, जापान, जर्मनी, क्यानडालगायत दूतावासमा कार्यरत् नेपालीलाई चाँडोभन्दा चाँडो फर्काउने हाम्रो योजना छ,’ उनले सेतोपाटीसँग भनिन्, ‘अन्य अलपत्र परेका नेपाली वा कुन कम्पनीमा कति कामदार छन् त्यसको सूचना संकलन भइरहेको छ।’
सूचना संकलनका लागि विभिन्न कूटनीतिक नियोगसँगै नेपालको कन्सुलर विभागलाई सक्रिय राखिएको उनले बताइन्। उनका अनुसार काबुलमै वर्किङ भिसामा कार्यरत् नेपालीहरूलाई प्राथमिकता साथ नेपाल ल्याउने प्रयास भइरहेको छ।