सुर्खेतको वीरेन्द्रनगरमा अहिले एउटा सडक भाइरल बनेको छ। सडकमा दैनिक मानिसको भिड हुन्छ। यो सकडमा आवतजावत गर्ने सवारी साधन भनेको त्यहाँ घुमफिरका लागि पुग्नेहरूका मात्र भेटिन्छन्। अन्य अत्यावश्यक सवारी साधन यो बाटोमा चल्दैनन्।
वीरेन्द्रनगर-१० स्थित काँक्रेबिहारको पूर्वी छेउदेखि चौखेढुंगासम्म जोड्ने करिब दुई किलोमिटर सडक पिच भएको धेरै भएको छैन। यातायातमा सहजताका लागि बाटोलाई पिच गरिए पनि पर्यटकीयस्थल बनेको छ।
‘करिब दुई किलोमिटर सडक अत्यावश्यक सवारी साधन चल्नका लागि छोटो बनोस् भनेर खेतको बीचमा भएको सडक कालोपत्र गरिएको हो, मानिसहरूको पर्यटकीय गन्तव्य पो बन्यो त,’ वडा नम्बर १० का अध्यक्ष रत्नबहादुर बुढाले भने, ‘यो सडक बनेदेखि दिनहुँ मानिस आएर तस्बिर खिचाउने, नाच्ने गर्छन्। अलिकति दुर्घटना होला भन्ने पनि डर छ।’
बाटोमा मानिसको भिड धेरै हुने भएकाले सवारी साधनले ठक्कर दिन सक्ने जोखिम भएको उनले बताए। ‘त्यहाँ आउनेहरू फोटो खिच्दा, टिकटक बनाउँदा गाडीहरू हिँडेको मतलबै गर्नु हुँदैन, यस्तो बेलामा कतै ठोक्कियो भने त समस्या भइहाल्यो नि,’ बुढाले भने।
यो सडक खेतको बीचमा बनेको छ। खेतमा हुर्किँदै गरेको धानबाली र दुबै छेउमा जंगलको हरियालीका कारण यो सडक आकर्षक देखिने गरेको छ। बेलुकाको समयमा अझ आकर्षक देखिन्छ।
त्यहाँ पुगेका मानिसहरूले सडकमा खिचिएका तस्बिर, भिडिओहरू सामाजिक सञ्जालमा राख्न थालेपछि त्यहाँ पुग्ने मानिसको भिड लाग्न थालेको हो।
वीरेन्द्रनगर-२ की राजकुमारी पाण्डेले टिकटक चलाउँदै गर्दा उक्त सडकमा बनेका भिडिओहरू देखिन्। भिडिओ हेरेपछि उनी शनिबार पहिलोपटक त्यहाँ पुगिन्। राजकुमारीले सोचेभन्दा धेरै मानिसको भिड भएको पाइन्।
शनिबार उनी र उनका साथीहरू पनि टिकटकको लागि भिडिओ बनाउन र तस्बिर खिच्न व्यस्त देखिन्थे।
‘मैले टिकटकमा देखेर यो सडकको बारेमा थाह पाएकी हुँ, म आज पहिलोपट यहाँ आएँ,’ उनले भनिन्, ‘यहाँ आउँदा सोचेभन्दा धेरै मानिस पाएँ, पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य पनि थपिएको महसुस भएको छ।’
डेढ हप्ताअघि टिकटक हेर्ने क्रममै भाइरल सडकको बारेमा थाहा पाएका अजय सोनी पनि शनिबार पहिलोपटक उक्त सडकमा पुगे। यो सडक पर्यटकीय गन्तव्यकै रुपमा कायम हुनेमा भने उनलाई शंका छ।
‘म आफ्नो व्यवसायमा व्यस्त हुन्छु, १५ दिनअघि यहाँको बारेमा थाहा पाए पनि आज पहिलोपटक साथीहरूसँग आएको छु,’ अजयले भने, ‘ठाउँ त सधैं आइरहुँ जस्तो लाग्ने सुन्दर छ, तर सडक हो, भोलि व्यस्त हुँदा घुम्ने ठाउँका रुपमा कायम नरहन पनि सक्छ।’
यो भाइरल बनेको सडकमा वीरेन्द्रनगर उपत्यकाकै मानिसहरू घुमफिरका लागि आउने गरेको वडा अध्यक्ष बुढाले बताए।
उनका अनुसार एक करोडको लागतमा सडकको स्तरोन्नति गरिएको हो। सडकका केही संरचना भने बन्न बाँकी छ। नाली नबन्दा सडक भत्किने सम्भावना भएपछि यो आर्थिक वर्ष नाला बनाउन थप एक करोड रकम विनियोजन गरिएको उनले बताए।
सडकमा मानिसको भिड बढ्न थालेपछि रेखदेखका लागि प्रहरीलाई आग्रह गरिएको उनले बताए। ‘मानिसको घुइँचो लाग्छ, भोलि झै-झगडा पनि हुन सक्छ,’ अध्यक्ष बुढाले भने, ‘यसका लागि ट्राफिक तथा अन्य सुरक्षाका लागि हामीले सुब्बाकुना प्रहरी चौकीलाई आग्रह गरेका छौं।’