कर्णाली प्रदेशमा कोरोना संक्रणको दर फेरि बढ्न थालेको छ। पछिल्लो दुई हप्तायता कोरोना संक्रमणको दर बढ्दै गएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ। पछिल्ला हप्ताहरूमा कुल परीक्षणमा ३४ देखि ४१ प्रतिशत संक्रमण दर देखिएको निर्देशनालयले जनाएको छ।
कम हुँदै गएको संक्रमण दर फेरि बढ्नुमा रोपाइँ प्रमुख कारण भएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले बताए।
‘वर्ष दिनको खाना उत्पादन गर्ने सिजनमा रोपाइँ नगर भन्नु पनि भएन, रोपाइँ गर्दा आफैं जानेर सामाजिक दुरी कायम गरिएन,’ उनले भने, ‘हाम्रोमा हिलो खेल्ने परम्परा छ, यसले गर्दा पनि सामाजिक दुरी कायम हुन सकेन।’
संक्रमण दर बढ्नुको अर्को कारण भनेको भारतबाट आउनेहरू हो। अहिले नाकाहरूमा खुकुलो भएकाले विशेषगरी भारतबाट आउनेहरूको दर बढेको छ।
कर्णाली प्रदेश भित्रिने प्रमुख आन्तरिक नाकाहरूमध्ये दुई वटा सुर्खेतमा छन्। एउटा सल्यानको कपुरकोट नाका हो। यी नाकाहरूमा अहिले चेकजाँच र परीक्षण पहिलेको भन्दा कम भएको छ।
‘अहिले चेकजाँच त हुन्छ, तर संक्रमणदर धेरै हुँदाको बेलाको जस्तो छैन,’ सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भने, ‘लक्षण देखिएका मानिसलाई केही समय होल्ड गर्ने हो, लामो समय राख्यो भने त उनीहरूलाई पनि तनाव हुन्छ।’
संक्रमण दर कम भएको बीचको समयमा भन्दा अहिले एन्टिजेन परीक्षणलाई पनि बढाउन थालिएकोले संक्रमण दर पनि बढेको निर्देशनालयका सूचना अधिकारी चौधरीले बताए। अहिले पालिकाहरूमा एन्टिजेन परीक्षणको व्यवस्था मिलाइएको र बीचको तुलनामा अहिले कन्ट्याक्ट ट्रेसिङ पनि बढाइएको उनले बताए।
‘अस्पताल बस्नुपर्छ भनेर बीचमा चेक गर्न पनि मान्थेनन्, अहिले चेक गर्नेहरूको दर पनि बढ्न थालेको छ,’ उनले भने। चौधरीका अनुसार संक्रमण दर बढ्दै गए पनि कर्णालीमा मृत्यु दर भने पहिलेको जस्तो छैन।
शुक्रबार र शनिबारको बीचको २४ घण्टाको तथ्याङ्क अनुसार कर्णालीमा ३४ जना संक्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ। त्यो अवधिमा कुल ३०१ जनामा परीक्षण गरिएको थियो।
कोभिडको पहिलो लहर सुरू भएयता हालसम्म कर्णाली प्रदेशमा २८ हजार ९०२ जनामा संक्रमण भएको छ। जसमध्ये २६ हजार ४८८ जना निको भएका छन्। तथ्याङ्क अनुसार अझै २ हजार ४१४ जना सक्रिय संक्रमित कर्णालीमा छन्। हालसम्म ३३८ जनाको मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ।
दुई हप्तादेखि कर्णाली प्रदेश अस्पतालमा भर्ना हुन आउने कोभिड संक्रमितको संख्या पनि स्थिर रहेको छ। ‘दुई हप्ता अघिसम्म यहाँ उपचार गर्न आउनेहरूको कम भइसकेको थियो, अहिले दुई हप्तायता जे होस् आइरहनुभएको छ। स्थिर भएको भन्न सकिन्छ,’ डा. केएन पौडेलले भने।
कस्तो छ तयारी?
कोरोना संक्रमणको दर फेरि बढ्न थालेसँगै केही तयारी पनि सुरू गरिएको छ। विशेषगरी तेस्रो लहर आएमा के गर्ने भन्नेबारेमा तयारी थालिएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ। यसका लागि सामाजिक विकास मन्त्रालयले कार्ययोजना नै तयार पारेको उनले चौधरीले बताए।
हाल गरिएको अध्ययन अनुसार बालवालिकामा कोभिड संक्रमण धेरै हुने सम्भावना देखिएकाले जिल्लाहरूमा रहेको अस्पतालहरूलाई बालबालिकाका लागि मात्र भनेर २० वटा बेड आइसियूसहितका छुट्याउन परिपत्र गरिएको उनले जानकारी दिए।
‘पहिला अक्सिजन सिलिन्डरको समस्या थियो, अहिले त दाताहरू र विभिन्न निकायबाट दिइएका सहयोगले गर्दाखेरी अक्सिजन सिलिन्डर पर्याप्त भएको भन्न सकिन्छ,’ चौधरीले भने, ‘कन्सन्ट्रेटर पनि जिल्लाहरूमा छन्, यदि डेल्टा भेरियन्ट आएन भने सहजै होला।’
पहिले नेपालगञ्जको प्लान्टबाट सिलिन्डर भर्न लाइन बस्नुपर्ने समस्याले गर्दा हुने अक्सिजनको अभाव टार्नेगरी तयारी गरिएको छ। अहिले युनिसेफसँगको सहकार्यमा १०५ वटा भरी सिलिन्डर नियमित सुर्खेतमा राखिने र जिल्लाबाट जति खाली सिलिन्डर आउँछन्, त्यसअनुसार भरी सिलिन्डर दिइने उनले बताए।
कोभिड-१९ को सम्भावित तेस्रो लहर रोकथाम तथा नियन्त्रण गर्नका लागि भनेर सुर्खेमा पनि विभिन्न निकायहरूले आ-आफ्ना कार्ययोजना बनाएका छन्। कोभिडको पहिलो र दोस्रो लहरले बढी क्षति पुर्याएपछि तेस्रो लहरलाई पहिले नै रोकथाम गर्न जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य सेवा कार्यालयले कार्ययोजना बनाएका हुन्।
कार्ययोजनामा यदि कोभिडको तेस्रो लहर आएमा कुन कार्यालयले के काम गर्ने भन्ने जिम्मेवारी तोकिएको छ।
चार जना चिकित्सक, चार जना नर्स र चार जना पारामेडिक्सको टोली जतिसुकै बेला पनि तैनाथ हुने र त्यसको व्यवस्था स्वास्थ्य निर्देशनालय र सामाजिक विकास मन्त्रालयले गर्ने कार्य योजनामा समावेश गरिएको छ।
तेस्रो लहरबाट बालबालिकाहरू बढी जोखिम हुने भएकाले कर्णाली प्रदेश अस्पतालमा बालबालिकाका लागि चार वटा भेन्टिलेटर, १० वटा एचडियु बेडलगायत औषधी, उपकरणहरू तयारी अवस्थामा राख्ने र त्यसको व्यवस्था प्रदेश अस्पताल, स्वास्थ्य निर्देशनालय र प्रदेश सरकारले गर्नुपर्ने कार्ययोजनामा उल्लेख छ।
अबको एक महिनाभित्रमा आवश्यक औषधीहरू खरिद गरिसक्नुपर्ने, रेम्डिसिभिर औषधीको कमी भएकोले एकैपटक कम्तीमा तीन सय जनालाई पुग्नेगरी व्यवस्था गर्नुपर्ने, प्लाज्मा थेरापीको व्यवस्था नभएकोले सुर्खेतमै गर्नुपर्ने, कम्तीमा छ सय अक्सिजन सिलिण्डर व्यवस्था गर्नुपर्ने, सुर्खेत भन्दाबाहिर एउटा अक्सिजन फिलिङ प्लान्ट स्थापना गर्नुपर्ने विषय पनि कार्य योजनामा समावेश गरिएको छ।
यो कार्यपत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको छ। सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले अहिले कार्ययोजना छलफलको क्रममा रहेको बताए। ‘कार्य योजना हेरेर थपघट गर्नुपर्ने केही विषय व्यवस्थापन गरेर पास गर्छौं,’ उनले भने।