प्रहरीले काठमाडौंबाट चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका वडा नम्बर १७ ज्याठा क्वाबाहालबाट चार जना चिनियाँलाई प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए।
उनीहरूलाई प्रहरीले सोमबार राति पक्राउ गरेको थियो। मंगलबार दिउँसो परिसरमा पत्रकार सम्मलेन गरी चिनियाँ नागरिकलाई सार्वजनिक गरिएको हो।
सिंहका अनुसार ज्याठामा चिनियाँ नागरिकले जुवातास तथा सट्टेबाजी खेलाइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।
सोही सूचनाका आधारमा सोमबार राति करिब साढे १० बजे परिसर र महानगरीय प्रहरी वृत्त लैनचौरको विशेष टोली परिचालन भयो। प्रहरीले राति नै ज्याठा क्षेत्रमा चिनियाँ नागरिकहरू बसोबास गरेका होटलको तलासी लियो।
त्यही क्रममा ज्याठाको एक गल्लीभित्र होटल खुलिरहेको भइरहेको प्रहरीले पायो। 'जियानघु खाजन' नामक उक्त होटल चिनियाँ नागरिक वेनलोङ सीले सञ्चालन गरेका थिए।
प्रहरीले त्यहाँ चिनियाँ नागरिकहरूले 'माझोङ' खेलिरहेको फेला पार्यो। माझोङ चिनियाँ खेल हो। त्यसमा उनीहरूले हार-जित हुनेगरी खेलिरहेको फेला परेपछि प्रहरीले चार जना चिनियाँलाई पक्राउ गरेको हो। तर सञ्चालक सी फेला परेनन्।
चीनको युनान प्रान्तका ३१ वर्षीय झाओ पेनुछेङ, हुबेइका ३४ वर्षीय मा जीङविन, हेनानका ३१ वर्षीय नुइ युलियाङ र गुआङडोङका २८ वर्षीय पेन हुइ पक्राउ परेका हुन्। उनीहरू होटलका सहसञ्चालक हुन्।
प्रमुख व्यक्ति मानिएका सी अहिले चीनमा छन्। उनले ज्याठामा सो होटल पाँच वर्षदेखि सञ्चालन गरिरहेको प्रहरी वरिष्ठ उपरीक्षक सिंहले बताए।
प्रहरीले उनीहरूबाट ८ लाख ८९ हजार १५५ रुपैयाँसमेत बरामद गरेको छ। साथै प्रहरीले माझोङ खेल्न प्रयोग हुने दुइटा विद्युतीय टेबल, माझोङका ४१० वटा गोटी पनि बरामद गरेको थियो।
यी सामानसँगै प्रहरीले उनीहरूबाट अरू अवैध सामग्री पनि फेला पारेको छ।
प्रहरीले उनीहरूबाट वन्यजन्तुका अखेटोपहार, बुद्धचित्त, हतियारलगायत पनि बरामद गरेको प्रहरी वरिष्ठ उपरीक्षक सिंहले बताए।
जुवाडेहरूको खोजी गर्न भनी खटिएको टोलीले अरू अवैध सामग्री पनि बरामद गरेको हो।
उनीहरूबाट एउटा बाघको छाला, बाघको दाँत, गाईको जस्तो देखिने छाला, २० वटा कस्तुरीको बिनाजस्तो देखिने सामग्री बरामद गरेको छ।
त्यसैगरी दुई वटा खुकुरी, तरबार, ९ सय बुद्धचित्त, २० किलो रुद्राक्ष, ३५ वटा एटिएम, भौचरलगायत सामान पनि प्रहरीले उनीहरूबाट बरामद गरेको हो।
'जुवा खेलिरहेको भनेर खोज्दै गयौं। पछि सर्च गर्दा दुर्लभ वन्यजन्तुका अखेटोपहारलगायत अवैध सामग्री पनि फेला पारेका हौं,' सिंहले भने,'ती सामान कहाँबाट कतिमा ल्याएको हो भन्ने पनि हामीले अनुसन्धान अघि बढाएका छौं।'
उनीहरूले ती सामग्रीहरू चीनलगायत अन्य देशमा तस्करी गरेर लैजान गरेको हुनुपर्ने सिंहले बताए।
'चीनलगायत विभिन्न देशमा पठाउने गर्छन्। उनीहरूले बेच्नेभन्दा पनि सप्लाई गर्ने हुन्,' उनले थपे, 'यी सामग्री नेपालमा त यति दुर्लभ छ भने चीनमा झन् त्यसको धेरै महत्व हुन्छ।'
प्रहरीले ती अवैध सामानहरू कहाँबाट आएका हुन् भन्ने पनि अनुसन्धान भइरहेको बताएको छ।
प्रहरीले पक्राउ परेका चिनियाँहरूलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ।