२०७७ चैतयता कोभिड–१९ संक्रमणको दोस्रो चरण सुरू भयो। संक्रमण बढ्दै गयो। ठूला अस्पतालमा कोभिडका बिरामीहरुलाई बेड र अक्सिजन पाउनै सकस भयो। कतिपय अस्पतालहरुले संक्रमितलाई भर्ना गर्न नसकिने सूचनासमेत निकाले।
कोभिड संक्रमण तिव्र रूपमा फैलिँदा स्वास्थ्यकर्मीले रात–दिन नभनी काम गरे। कतिपय विदामा बसेका स्वास्थ्यकर्मीलाई समेत फिर्ता बोलाएर कोभिड अस्पताल र नाकामा खटाईयो।
तर, वीरेन्द्रनगर नगरपालिकामा सरूवा भई आएका ४६ जना स्वास्थ्यकर्मी भने हाजीर गर्न नपाउँदा कोभिड–१९ ले भयावह अवस्थामा पनि खाली बस्नुपरेको छ। उनीहरू वैशाख ६ गतेदेखि फोकटमा बसेका छन्। त्यतिबेला वीरेन्द्रनगर कोभिडको हटस्पटमध्येको क्षेत्रमा परेको थियो।
कोभिड–१९ संक्रमणको भयावह अवस्था र बिरामीको थेग्नै नसकिने चाप भएको वैशाखमा रमाना लिएर वीरेन्द्रनगरमा आएका स्वास्थ्यकर्मी कामै नगरी बस्नुपरेको छ। वीरेन्द्रनगर नगरपालिकाले ती कर्मचारीको हाजिरी नगराउँदा फोकटमा बसेका हुन्।
‘हामी आएको केही दिनपछि आवश्यकता भन्दा धेरै कर्मचारी आएकाले हाजिर गराउन सक्दैनौं भनेर नगरपालिकाले सूचना निकालेको थियो, त्यसै आधारमा हामीले अहिलेसम्म पनि हाजिर गर्न पाएका छैनौं,’ वीरेन्द्रनगरमा सरुवा भई आएको छैटौं तहका जनस्वास्थ्य निरीक्षक चर्तुभुज गौतमले सेतोपाटीसँग भने ।
गौतम लेकवेशी नगरपालिकाबाट सरुवा भई आएका हुन् । उनी वैशाख ६ गते लेकवेशीबाट रमाना लिएर वीरेन्द्रनगरमा हाजिर हुन आएका थिए ।
उनका अनुसार वैशाख ६ गते विभिन्न ठाउँबाट सरुवा भएर ४९ जना स्वास्थ्यकर्मीहरु वीरेन्द्रनगर नगरपालिकामा आएका थिए । तीमध्ये ३ जनाले मात्र हाजिर गरेर काममा खटिएका छन् ।
स्वास्थ्य मन्त्रालयबाट सरूवा भई आएका ती स्वास्थ्यकर्मीलाई मन्त्रालयले पुनः हाजिर गराएर काममा लगाउनू भन्ने ताकेता नगरपालिकालाई गरेको थियो । तर नगरपालिकाले आफूसँग अतिरिक्त कर्मचारीलाई तलब खुवाउन रकम अपुग हुने भन्दै काममा लगाउन सकेको छैन ।
‘नगरपालिकाले हामीसँग पैसा हुँदैन, कर्मचारी पठाएपछि मन्त्रालयले पैसा पनि पठाउनुपर्यो भन्छ,’ गौतमले भने, ‘पैसा मान्छेसँगै पठाउने त होइन नि, त्यो सिस्टमबाट आउने हो । पहिला हाजिर गर्यो भने पो मन्त्रालयबाट पैसा आउला त ।’
हाजिर गर्न नपाएका स्वास्थ्यकर्मीले मन्त्रालयसँग पनि आफ्नो समस्या भनेका थिए । मन्त्रालयले हाजिर गराएपछि पैसा आउने बताएको गौतमले बताए ।
‘नगरपालिकाले सरुवा गरेका कर्मचारीलाई तलब खान पैसा पठाउँछौं भनेर मन्त्रालयबाट प्रतिबद्धता पत्र आउनुपर्यो भनेको छ,’ उनले भने, ‘मन्त्रालयसँग यो कुरा राख्दा पहिला हाजिर गराएर काममा खटाउनुपर्यो अनि पैसा आउँछ भन्छ, हामी त दुवैको चपेटामा परेका छौं ।’
स्वास्थ्यकर्मी भएर पनि महामारी जस्तो समयमा काम गर्न नपाउनु दुखद् भएको उनले बताए । अध्ययन विदामा गएकाहरुलाई समेत काममा खटाएको कोभिडको समयमा सरुवा भएर आउँदा काम गर्न नपाएको उनले बताए ।
सरुवा भई आएदेखि नगरपालिका जाने–आउने काम मात्र भएको हेल्थ असिस्टेन्ट दुर्गा थापाले बताईन् । थापा पनि वैशाख ६ गतेदेखि नै वीरेन्द्रनगर नगरपालिकामा हाजिर हुनेगरी आएकी थिईन् ।
उनी दैलेखको दुल्लु नगरपालिकाबाट सरुवा भएर वीरेन्द्रनगर आएकी हुन् । ‘स्वास्थ्यकर्मी चाहिने महत्वपूर्ण समयमा हाजिर भएन, अहिलेसम्म नगरपालिका जाने–आउने काम भएको छ,’ उनले भनिन्, ‘हामी पछिल्लो लटमा आएकाहरुले निरन्तर धाएपछि अब एक/दुई दिनमा हाजिर हुन्छ भनेको छ ।’
वीरेन्द्रनगरमा सरुवा भई आएका ४९ जनामध्ये हाजिर हुन पाएका ३ जना पहिलो लटमा आएका थिए । उनीहरु छिटो आएकाले हाजिर भएको र आफूहरु केही घण्टा मात्र ढिला आएकाले काम गर्नबाट बञ्चित भएको जनस्वास्थ्य निरीक्षक गौतमले बताए ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले अबको एक साताभित्र सरुवा भई आएका स्वास्थ्यकर्मीहरुको हाजिर हुने बताए । ‘उहाँहरुको हाजिर गराएर मात्र भएन, काममा पनि लगाउनुपर्यो,’ ढकालले भने, ‘अब काममा खटाउने, उहाँहरको व्यवस्थापन गर्ने जस्ता विषयमा आइतबार हामी वैठक बसेर छलफल गर्छौ । त्यसपछि हाजिर हुन्छ।’
प्रमुख प्रशासकीय अधिकृत ढकालका अनुसार वीरेन्द्रनगर नगरपालिकामा स्वास्थ्यकर्मीको दरबन्दी ३८ जनाको मात्र छ । यसअघि नै दरबन्दी भन्दा ६ जना बढी स्वास्थ्यकर्मी नगरपालिकामा थिए ।
अहिले सरुवा भई आएका ४९ जना जोड्ने हो भने ९३ जना पुग्छन् । दरबन्दी अनुसार दोब्बर भन्दा बढी स्वास्थ्यकर्मी नगरपालिकामा सरुवा भई आएपछि उनीहरुको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा पनि आइतबारको बैठकमा छलफल हुने उनले जानकारी दिए ।
उनीहरुलाई तलब खुवाउने विषयमा पनि अन्योल थियो । ‘हाम्रै अहिले भएका स्वास्थ्यकर्मीहरुलाई तलब अपुग थियो, त्यो माग गरेपछि अहिले सरुवा भएर आएकाहरुलाई पनि पुग्नेगरी रकम आएको छ,’ ढकालले भने, ‘अब तलबको व्यवस्थापन भईहाल्छ, अरु व्यवस्थापन गर्न हामी प्रक्रियामा छौं ।’