काठमाडौंको अनामनगरस्थित सिंहदरबारको पूर्वी गेटनजिकै हाम्रो टिम नेपालले खाना बनाउन प्रयोग गरेको सार्वजनिक जग्गा खाली गरिएको छ।
काठमाडौं महानगर प्रहरी र नेपाल प्रहरीको टोलीले सार्वजनिक जग्गा सोमबार खाली गराएको हो। प्रहरीले सार्वजनिक जग्गाको प्रयोग गरेको भन्दै टिमका केहीलाई नियन्त्रणमा समेत लिएको छ।
हाम्रो टिम नेपालले निषेधाज्ञामा सबै काम बन्द हुँदा खान नपाएकाहरूलाई नि:शुल्क खाना खुवाइरहेको थियो। त्यही खाना खुवाउनको लागि प्रयोग गरिएको सार्वजनिक जग्गा अहिले खाली गराइएको हो।
'विवाद थियो। हामी सरकारी जग्गामा खाना बनाइरहेका थियौं। सरकारी जग्गामा बस्न त पाइएन। तर हामीले लकडाउनपछि गरौं भनेका थियौं,' हाम्रो टिम नेपालका बब्लु गुप्ताले भने,' त्यसैले त्यहाँको संरचनाहरू नगर प्रहरी र प्रहरीले मिलेर भत्काएको हो। हामीलाई वडा कार्यालयले चाहिँ बस्न भनेको थियो। तर मेयर र स्थानीयहरूले उठेरहरू जानू भनेपछि लगिएको हो।'
प्रहरीले हाम्रो टिम नेपालका संयोजक विमल पन्तलगायत २३ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई नगर प्रहरी कार्यालयमा राखिएको परिसरले जनाएको छ।
काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले सार्वजनिक जग्गालाई खुला छाड्ने र हरियाली पार्क निर्माण गर्ने योजना अनुसार सार्वजनिक जग्गामा बनाएका टहरा महानगरपालिका व्यवस्थापनको निर्णय अनुसार नै हटाइदिएको जानकारी दिए।
‘हामीलाई जानकारी भए अनुसार करिब एक वर्षदेखि ‘हाम्रो टिम नेपाल’ समूहका साथीहरूले त्यहाँ टहरा बनाउनु भएको रहेछ,’ ज्ञवालीले भने, ‘स्थानीयको माग अनुसार त्यहाँ हरियाली पार्क निर्माण गर्नका लागि ड्रोइङ–जिडाइन तयारी अवस्थामा छ। हामीले काम अघि बढाउन उहाँहरुलाई पटक–पटक त्यहाँका संरचना हटाउन आग्रह गर्दा पनि अटेर गरेपछि आज हटाएका हौँ।’
महानगरपालिकाका नगर प्रहरी प्रमुख एसपी धनपती सापकोटाले पनि पटक–पटक आग्रह गर्दा अटेर गरेपछि बाध्य भएर हटाउनु परेको बताए।
‘उहाँहरूको अभियानप्रति हाम्रो विमती छैन,’ सापकोटाले भने, ‘तर, अभियानका नाममा सरकारी जग्गा कब्जा गर्ने अनि पार्क निर्माण गर्ने, हरियाली बढाउने हाम्रो अभियानमा अवरोध गर्दै उल्टै अटेर गर्ने कुरा उचित होइन। हामीले उहाँहरूलाई पटक–पटक आग्रह गरेका छौँ। तर, उहाँहरूले हाम्रो आग्रहलाई बेवास्ता गरेपछि बाध्य भएका हौँ।’
टहरा हटाउने क्रममा झडप समेत भएको थियो