सुर्खेतमा एउटा कुकुरलाई आफ्नै मालिकले नजिकैको मोटरेवल पुलमा झुण्ड्याएको भिडिओ र तस्बिर अहिले आलोचित बनेको छ। विशेषगरी अधिकारकर्मीहरूको समूहले यसलाई अपराध भन्दै आवाज उठाइरहेका छन्।
अधिकारकर्मीहरुले ती कुकुर मार्ने व्यक्तिलाई कारबाही गर्न भन्दै प्रहरीमा उजुरी पनि दिएका छन्। सुर्खेतमा विशेषगरी पशुचौपायाको लागि भनेर स्वंयसेवा गरिरहेको ‘द डोडो फाउन्डेसन’ लगायत समूहले प्रहरीमा खुला निवेदन दिएका छन्।
फाउन्डेसनका अध्यक्ष मिलन कार्कीले कुकुरको हत्या गर्नेलाई कारबाहीका लागि भनेर व्यक्तिगत उजुरी पनि दिएकी छन्।
वीरेन्द्रनगर-१२ इत्राम खोलाको किनारमा बस्ने ती व्यक्तिले आफ्नो कुकुर मार्नुको कारण भने छिमेकीको दबाब भएको खुलेको छ।
‘छिमेकमा भएका कुखुरा त्यो कुकुरले मार्ने गरेको रहेछ, छिमेकीले कुकुरका मालिकलाई गाली गर्ने रहेछन्,’ द डोडो फाउन्डेसनकी अध्यक्ष कार्कीले भनिन्, ‘छिमेकीको दबाब बढेपछि उहाँले आफ्नो कुकुर नै मारिदिनुभएछ।’
‘कि कुकुरलाई नियन्त्रणमा राख्नुस्, कि त उसले गरेको क्षति व्यहोर्नुहोस्’ भन्ने दबाब भएपछि उनले असार ५ गते कुकुर मारेका थिए।
आफ्नो कुकुरलाई झुण्ड्याएर मार्ने ती व्यक्तिको पारिवारिक अवस्था पनि नाजुक रहेको अधिकारकर्मी अनिल ढकालले बताए।
‘आफ्नो पनि कुखुरा मार्ने, छिमेकीका पनि कुखुरा मारिदिने गरेपछि उहाँलाई क्षतिपुर्ति दिनुभन्दा कुकुर मार्न बेस लागेर मार्नुभएको होला,’ उनले भने, ‘उहाँले मार्नुभन्दा घरमै बाँधेर राख्न पनि सक्नुहुन्थ्यो, यो अपराध हो भन्ने चेतनाको कमी भयो।’
यो घटनापछि पशुपंक्षीको हत्या गर्नु पनि अपराध हो भन्ने कुराको चेतना फैलाउन आफूहरू लागेको डोडो फाउन्डेसनकी अध्यक्ष कार्कीले बताइन्। यसका लागि आफूहरूले जनचेतनामूलक कार्यक्रम गर्ने उनले बताइन्।
‘सुर्खेतको यो घटनामा कुकुर मार्ने मालिकलाई पनि चेतना भएन, प्रेसर गर्ने समाजलाई पनि चेतना भएन,’ कार्कीले भनिन्, ‘यो पनि अपराध हो भनेर सबैले थाहा पाउनुपर्छ, यसको लागि हामी पनि अभियानमा लागिरहेका छौं।’
डोडो फाउन्डेसन सन् २०१९ यता जिल्ला प्रशासन कार्यालय सुर्खेतमा दर्ता भएर पशुचौपायाको अधिकार संरक्षण तथा उद्धारको क्षेत्रमा सक्रिय छ।
५ गते कुकुरलाई उनले मारेपछि ६ गते कार्कीले प्रहरीमा व्यक्तिगत रूपमा कारबाही गरिपाउँ भनी निवेदन दिएकी थिइन्। ७ गते पुनः डोडो फाउन्डेसनलगायत समूहले सोही विषयमा सामूहिक निवेदन पनि दिएका थिए।
निवेदनका आधारमा प्रहरीले आफ्नो कुकुरलाई झुन्ड्याएर मार्ने व्यक्तिलाई ८ गते नियन्त्रणमा लिई सोधपुछसमेत गरेको कार्कीले बताइन्। कानुनी कारबाहीको प्रक्रिया भने गरिएको छैन।
‘हामीले निवेदन दिएपछि प्रहरीले क्विक रेस्पोन्स गर्नुभयो, उहाँलाई ल्याएर सोधपुछ गर्ने पनि गर्नुभयो,’ उनले भनिन्, ‘तर कानुनी कारबाहीका लागि मुद्दा नै चलाउन सकिने उहाँको पारिवारिक अवस्था पनि छैन, त्यसकारण हामीले किटानी जाहेरी दिएनौं। बरू यस्तो कार्य अरूबाट नहोस् भनेर सचेतना फैलाउने काममा लाग्ने सोच्यौं।’
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले निवेदन मात्र आएको र किटानी जाहेरी आए कारबाही प्रक्रिया अगाडि बढाउन सकिने बताए।
मुलुकी अपराध संहिता २०७४ ले पशुपंक्षीमाथी हुने दुर्व्यवहारलाई समेत अपराधका रूपमा उल्लेख गरेको छ।
दफा २९० (१) मा कुनै किसिमबाट पशुपंक्षीमाथि निर्दयी वा क्रुर व्यवहार गर्न नहुने उल्लेख छ। यस्तो कार्य गर्ने गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने उल्लेख छ।
अपराध संहिताको दफा २९१ (१) मा कसैले पनि कुनै पशु वा पंक्षीलाई सार्वजनिक स्थलमा मार्न नहुने उल्लेख छ। यस्तो कार्य गर्नेलाई एक महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुन सक्ने कानुनमा उल्लेख छ।