२५ लाख चिठ्ठा परेको भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ का निरजकुमार सिंहलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ। पर्सा प्रहरीले उनलाई केहि दिन अघि नै पक्राउ गरेको थियो।
सामाजिक सञ्जाल ह्वाट्सएप, आइएमओ लगायतमा तपाईलाई २५ लाख रुपैयाँको चिठ्ठा परेको भन्दै विश्वासमा दिलाएर ठगी गरेको महाशाखामा उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
उनले चिठ्ठा परेको र अब कर तिर्नुपर्ने बाहना बनाएर आइएमई, ई सेवाबाट जम्मा दुई लाख १० हजार सम्म रकम लिएको पाइएको प्रहरीले जनाएको छ। महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण कोइरालाका अनुसार ती व्यक्तिले काठमाडौं तथा पर्साका ४-५ जनालाई त्यसरी ठगेको पाइएको छ।
'मानिसहरू चिठ्ठा पर्यो भनेपछि सजिलैसँग भनेको कुरा गर्ने हुँदा उनीहरूले मागेको पैसा पठाउने गर्छन्,'उनले भने,'जसले गर्दा ठगीमा पर्छन्।'
उनीमाथि प्रहरीले ठगी कसूरमा आवश्यक कारबाही गर्न अनुसन्धान अघि बढाएको छ।