कडा निषेधाज्ञाको अवधिमा पनि सीमा क्षेत्रबाट इन्धन तस्करी चलिरहेको पाइएको छ।
सशस्त्र प्रहरीले नेपालबाट भारततर्फ तस्करी हुँदै गरेको २४ ड्रम पेट्रोलियम पदार्थ फेला पारेपछि तस्करीबारे खुलेको हो।
विराटनगर र आसपासका क्षेत्रबाट नेपालबाट भारततिर पेट्रोलियम पदार्थको तस्करी लामो समयदेखि चल्दै आएको छ।
केही महिनाअघि ट्यांकर नै फेला परेको थियो। सशस्त्र प्रहरीले मोरङको रतुवामाई नगरपालिकाबाट इन्धन भरिएको ड्रम फेला पारेको हो।
ट्रकमार्फत् तस्करी हुँदै गरेको अवस्थामा रतुवामाई वडा नम्बर ४ बाट २३ ड्रम डिजेल र एक ड्रम पेट्रोल बरामद गरेको सशस्त्र प्रहरी बलले जनाएको छ।
सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलका अनुसार सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ बटालियन हेडक्वार्टर टंकीसिनवारीबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले मे१ख १५०९ नम्बरको ट्रकसहित शनिबार तस्करीको इन्धन नियन्त्रणमा लिएको हो।
एउटा ड्रमभित्र लगभग २५० लिटर डिजेल राखिएको थियो। तस्करीको ५ हजार ७ सय लिटर इन्धन बरामद भएको सशस्त्रले जनाएको छ।
सशस्त्र प्रहरीको टोलीलाई देख्नासाथ इन्धन तस्करी गर्नेहरू ट्रक छाडेर फरार भएको प्रहरी दाबी छ।
चालकसँगै अरू व्यक्ति भागेपछि ट्रक नियन्त्रणमा लिएर खानतलासी गर्दा तस्करीको इन्धन बरामद भएको हो।
प्रहरीका अनुुसार नेपाल-भारत सीमा नजिकबाट इन्धन बरामद भए पनि त्यसको बिल फेला परेको छैन। इन्धन आइतबार विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ।
प्रदेश १ मा डिजेलको मूल्य प्रतिलिटर १०४ रूपैयाँ ५ पैसा र पेट्रोलको १२१ रूपैयाँ ५ पैसा तोकिएको छ। नेपालमाभन्दा भारतमा डिजेल प्रतिलिटर ३९ रूपैयाँ २८ पैसा र पेट्रोल ३२ रूपैयाँ ६६ पैसा महँगोे पर्ने भएकोले तस्करी हुने गरेको छ।
सिमावर्ती क्षेत्रमा सञ्चालित पम्पबाट पेट्रोलियम पदार्थको भारततिर तस्करी हुने गरेको हो।