कोरोना भाइरसबाट जोगिन मास्क लगाउनु, पटक-पटक हात धुनु र स्यानिटाइजर दल्नु अनिवार्य नै भएको छ। जब कुनै चिजको माग बढ्छ, त्योसँगै कालोबजारी गर्ने गिरोहहरू मौकाको फाइदा उठाउन सल्बलाउन थाल्छन्। यसको पछिल्लो उदाहरण स्यानिटाइजरमा देखिएको छ।
स्यानिटाइजरको बढ्दो प्रयोगसँगै कालोबजारी गर्ने गिरोहहरू बढेका छन्। बजारमा गुणस्तरहिन र हानिकारक सामग्री मिसाइएका स्यानिटाइजर प्रयोग भइरहेको पाइएको छ।
प्रहरीले आइतबार महालक्ष्मी नगरपालिका-४, इमाडोलस्थित शितलहाइटमा रहेको तीनतले घरमा छापा मारेर मिथानोल मिसाइएको करिब २५ हजार लिटर नक्कली स्यानिटाइजर जफत गरेको छ।
महानगरीय अपराध महाशाखा काठमाडौंका प्रहरी नायब उपरीक्षक दुर्गा रेग्मी नेतृत्वको टोलीले उक्त छापा मारेको हो। महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) चन्द्रकुवेर खापुङ, महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी किरण बज्राचार्य पनि गोदाममा पुगेका थिए।
स्वास्थ्यलाई हानिकारक रसायन मिसिएका स्यानिटाइजर पाइन थालेको खबर पाएपछि अनुसन्धान अघि बढाएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइरालाले जानकारी दिए।
अनुसन्धान क्रममा प्रहरी टोलीले केही साताअघि पाँच लिटरको एक ग्यालिन स्यानिटाइजर दुई हजार रुपैयाँमा किनेको थियो। उक्त स्यानिटाइजरको गुणस्तर परीक्षण गर्न प्रहरीले औषधि व्यवस्था विभाग पठायो। विभागले त्यसमा मिथानोल प्रयोग भएको पुष्टि गर्यो।
स्यानिटाइजरमा मिथानोल प्रयोग गर्न नहुने र यसले स्वास्थ्यमा हानि पुर्याउने भन्दै विभागले पत्र पठाएको एसपी कोइरालाले बताए।
यही आधारमा प्रहरीले आइतबार स्यानिटाइजर उत्पादन गर्ने कम्पनीको गोदाममा छापा मार्यो।
प्रहरीले गोदामका सञ्चालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीको रामधुनी नगरपालिका-१ घर भई हाल त्यही गोदाम घरमा बस्दै आएका २६ वर्षीय आशिस प्याकुरेल छन्।
'उनीहरूले स्यानिटाइजरमा हानिकारक मिथानोल प्रयोग गर्ने गरेको अनुसन्धानबाट पुष्टि भएपछि हामीले छापा मारेका हौं,' एसपी कोइरालाले सेतोपाटीसँग भने।
मिथानोलले आँखा, छाला, फोक्सो लगायत अंगमा नराम्रो असर पार्ने र ज्यानसम्म जानसक्ने विभागको भनाइ छ।
आशिसले करिब तीन महिनादेखि उक्त गोदाम सञ्चालन गरेका थिए। तीनतले घर र कम्पाउन्ड भाडामा लिएर उनले स्यानिटाइजर उत्पादन गर्ने गरेका थिए। त्यसमा 'आरसिपी, पर्साद्वारा रिप्याकेजिङ गरिएको' भनी अंग्रेजीमा लेबल टाँसेर बजार पठाइन्थ्यो।
'बनाउन चाहिँ यहीँ बनाउने तर लेबलमा पर्सामा बनेको भनेर देखाइएको रहेछ,' एसएसपी खापुङले भने, 'कम्पनीको नाम पनि आरसिपी भनिएको छ, त्यस्तो कम्पनी कतै दर्ता छैन। उनले व्यक्तिगत रूपमा आफैं चलाइरहेका रहेछन्।'
गोदाममा कुनै स्वास्थ्य मापदण्डसमेत पालना नगरिएको एसएसपी खापुङले जानकारी दिए।
'ल्याब पनि छैन। १०-२० जना कामदार राखेका छन्। उनीहरूलाई हचुवा तालमा स्यानिटाइजर बनाउन लगाएका छन्। कुनै प्राविधिक छैन,' एसएसपी खापुङले भने, 'उनीहरूले त्यसमा मिथानोल अल्कोहल २४ प्रतिशतसम्म राख्ने गरेको पाइएको छ।'
प्रहरी टोलीले गोदामबाट मिथानोल, नक्कली स्यानिटाइजर, फेससिल्ड लगायत बरामद गरेको छ। बरामद गरिएको मात्रा भने खुलेको छैन। प्रहरीले उक्त गोदाम सिल गर्ने तयारी गरेको छ।
महानगरी प्रहरी परिसर काठमाडौंले पनि नक्कली स्यानिटाइजर बनाउने उद्योगमा छापा हानेको छ। बालाजुस्थित उत्सव डिटर्जन कस्मेटिक उद्योगमा प्रहरीले छापा मारेको हो। त्यसैको स्वयम्भूस्थित गोदाममा आइतबार छापा मारिएको प्रहरीले जनाएको छ। यस क्रममा दुई जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।
काठमाडौं महानगरपालिका-१३, बाफल बस्ने राकेश अग्रवाल र कमल अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूले पनि स्यानिटाइजर बनाउन मिथानोल राखेको पाइएको छ।
'उनीहरूले राख्नुपर्ने रसायन राखिएको देखिन्न। स्वास्थ्यमा हानि पुर्याउने मिथानोल बढी हालेको देखिन्छ,' एसपी बस्नेतले भने, 'अर्को, उनीहरूको कस्मेटिक उद्योग हो। तर उनीहरूले स्यानिटाइजर उत्पादन गरिरहेको पाइयो।'
प्रहरीले उक्त गोदामबाट करिब ४०० कार्टुन सामान बरामद गरेको छ। प्रहरीले यस्ता हानिकारक स्यानिटाइजर प्रयोग नगराउन सबै प्रशासनमा पत्राचार गर्ने तयारी थालेको छ।
भिडिओ, तस्बिर: सुसन चौधरी/सेतोपाटी