बिहीबार दिउँसो सवा २ बजेको थियो।
कोरोना संक्रमणबाट ६७ वर्षीया आमा निलमदेवीको मृत्यु भएपछि कान्छा छोरा ललित शव अन्त्येष्टिका लागि सिंघिया घाटमा थिए। साथमा केही आफन्त मलामी घाटमा जम्मा भएका थिए।
उनीहरू चिता तयार पारिरहेका थिए। शव व्यवस्थापनको टोलीले चितामाथि शव राखेपछि दागबत्ती दिने बेला हुँदैथियो।
ललितको हातबाट आमाको शवमा दागबत्ती दिन नपाउँदै जेठो छोरा विनितको मृत्युको खबर आइपुग्यो।
यो विराटनगरमा भएको घटना हो। कोरोना कहरले गाँजेको बेगवानी परिवारमा आमाको शव नजल्दै अर्को चिता तयार पार्नुपर्ने अवस्था आएको थियो।
आमाछोरा एकैपटक कोरोना संक्रमण भएर विराटनगर अस्पतालमा भर्ना भएका थिए।
उनीहरू विराटनगर-३ का हुन्। भेन्टिलेटरमा उपचाररत् आमा निलमदेवी बेगवानीको बुधबार साँझ मृत्यु भएको थियो।
विराटनगर अस्पतालका अनुसार वैशाख १६ गते कोरोना सङ्क्रमण पुष्टि भएकी आमाको उपचारका क्रममा बुधबार साँझ ७:३० बजे मृत्यु भएको थियो।
अस्पतालका अनुसार बिहीबार बिहान ११ बजे परिवारलाई शव बुझाएइको थियो।
आमाको शव आफन्तले बुझिरहँदा ४५ वर्षीय जेठा छोरा विनित भेन्टिलेटरमा मृत्युसँग संघर्षरत् थिए।
रीतिथिति पूरा गरेर दाहसंस्कारका लागि दिउँसो घाटमा चिता तयार पारिरहँदा यता जेठा छोरा विनितको मृत्युको खबर आएको आफन्तले बताए।
आफन्त हिरा जैनका अनुसार चिता तयार पारिरहँदा अस्पतालबाट फोन आयो, कोही आफन्तलाई नै। अस्पतालबाट फोन गर्नेले तुरुन्तै आउन भनिरहेका थिए।
अस्पतालका सूचना अधिकृत केदार पोखरेलका अनुसार विनितको बिहीबार दिउँसो २ बजे मृत्यु भएको थियो।
‘आमाको चितामा आगो लगाउन नपाउँदै दाजुको मृत्युको खबर पाउँदा ललितलाई कति दु:ख पर्यो-पर्यो त्यो त भन्न सकिन्न,’ हिराले भने, ‘कोरोनाले एकै परिवारमा अप्रिय घटना भएको देख्दा एकदमै मन कुँडिएको छ।’
बेगवानी परिवारका चार भाइ छोरामध्ये विनित र कान्छो छोरा ललित विराटनगर बस्थे। साइँलो कलकत्ता र माइलो काठमाडौं बस्थे।
विनित सुनचाँदी व्यवसाय गर्थे।
‘हामी मलामी गएका थियौं, घाटमा चिता जलाउन नपाउँदै अस्पतालबाट विनितबाबुको मृत्युको खबर आउँदा शोकमाथि शोक थपियो,’ हिराले भने।
ललितले आमाको शवमा दागबत्ती दिए। यता आमाको शव जल्दैथियो, उता जेठा छोराको शव बुझ्ने क्रममा थियो।
‘विनितको दाहसंस्कार बिहीबार साँझ ६ बजे गरिएको छ,’ हिराले सेतोपाटीसँग भने, ‘परिवारमा ठूलो दु:ख परेको छ।’
यता, श्रीमती र जेठा छोराको मृत्यु भएपछि श्रीमान-बुवा विमल बेगवानी विराटनगर अस्पताल नै भर्ना भएका छन्।
हिराका अनुसार उनलाई जेठा छोरा विनित बिते भन्ने थाहा छैन।
‘घाटमा पुगेपछि उहाँको प्रेसर तलमाथि हुन थाल्यो, उहाँलाई अस्पताल भर्ना गरियो,’ हिराले भने।
उनका अनुसार बेगवानी परिवारमा विमल, निलम, जेठा छोरा विनित र कान्छी बुहारी एकैपटक कोभिड संक्रमण भएर अस्पताल भर्ना भएका थिए।
ससुरा-बुहारी कोरोना जितेर फर्किइसकेका थिए। आमा-छोरा भने भेन्टिलेटरमा जीवन-मरणसँग संघर्ष गरिरहेका थिए।
आमा निलमदेवी मधुमेहबाट पीडित थिइन्। विनित मिर्गौलाका बिरामी थिए। उनको केही वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो।
यसअघि विराटनगर-३ पीपलचोकमै पनि आमाछोराको पालैपालो मृत्यु भएको थियो।