कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डेसिभिर औषधीको नक्कली स्टिकर टाँसेर अर्कै औषधी बेचिरहेको आरोपमा प्रहरीले विराटनगरबाट एक जना मेडिकल पसलका सञ्चालकलाई पक्राउ गरेको छ।
नोबेल अस्पताल विराटनगर-४ अगाडिको साथी मेडिकलबाट प्रहरीले विराटनगर-१० का २६ वर्षीय सोनु आलमलाई पक्राउ गरेको हो।
आलमले स्टासेफ नामक औषधीमा रेम्डेसिभिर औषधीको नक्कली स्टिकर टाँसेर बिक्री गर्ने गरेको पाइएपछि पक्राउ गरिएको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए।
भारत पटनाबाट रेम्डेसिभिरको नक्कली स्टिकर ल्याउने कार्यमा संलग्न रहेका अर्का एक जनालाई पनि पक्राउ गरिएको खड्काले बताए।
पक्राउ पर्नेमा विराटनगर १६ रानी बस्ने २३ वर्षीय श्रवणकुमार यादव छन्।
विशेष सूचनाको आधारमा गएको प्रहरी टोलीले आलमलाई उनकै पसलबाट र यादवलाई रानीस्थित आफ्नै घरबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक खड्काले बताए।
साथी मेडिकलबाट चार बट्टा स्टासेफ औषधी र रेम्डेसिभिर औषधी एक बट्टा बरामद गरिएको उनले बताए।
स्टासेफ नामक औषधी वीरगञ्जमा उत्पादन हुने गरेको छ। उक्त औषधी ९० रुपैयाँमा खरिद गरी उनीहरूले रेम्डेसिभिरको नक्कली स्टिकर टाँसेर प्रतिगोटा ८ हजारमा बेच्ने गरेको पाइएको प्रहरी उपरीक्षक खड्काले बताए।
‘रेम्डेसिभिरजस्तै आकारप्रकार रहेको स्टासेफ औषधीको प्याकेटमा रेम्डेसिभिरको नक्कली स्टिकर टाँसेर बेच्ने गरेको पाइएको छ,’ खड्काले सेतोपाटीसँग भने।
आलमसँग मिलेर यादवले भारत पटनाबाट रेम्डेसिभिरको नक्कली स्टिकर ल्याउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको खड्काले बताए।
पक्राउ परेका दुबैलाई कालोबजारी, केही सामाजिक अपराध तथा सजाय ऐन अन्तर्गत कारबाही अघि बढाइएको छ। सो कार्यमा अन्य व्यक्तिहरू पनि संलग्न रहेको आशंका प्रहरीको छ।
‘अहिले दुई जना पक्राउ परेका छन्, अनुसन्धान गरिरहेका छौं, अन्य व्यक्तिको संलग्नताबारे खोजी भइरहेको छ,’ खड्काले भने।
रेम्डेसिभिर स्वास्थ्य मन्त्रालयबाट अनुमति लिएर मात्रै कारोबार गर्न पाइन्छ र यो कोरोनाको उपचार हुने सीमित अस्पताललाई मात्र दिइँदै आएको छ।
पक्राउ परेकामध्ये यादव ब्राउनसुगर कारोबारमा संलग्न रहेको पाइएको छ। गते कात्तिक २५ गते विराटनगर-११ बसपार्कनजिकै रहेको रातो भाले होटलबाट प्रहरीले १० ग्राम ब्राउनसुगर बरामद गरेको थियो।
उक्त ब्राउनसुगर कारोबारी यादव रहेको खुलेको थियो। उनलाई प्रहरीले खोजी गरिरहेको थियो।