कोरोनाभाइरसको दोस्रो लहर बढ्दै गएपछि पछिल्लो समय आइसियू, भेन्टिलेटर बेड, प्लाज्मा डोनर चाहियो भन्दै सामाजिक सञ्जालमा अनुरोध गर्नेहरूको संख्या बढ्दो छ। संक्रमितको संख्या ह्वात्तै बढेकाले अस्पताल भरिएका छन्। गम्भीर अवस्थाका बिरामीलाई पनि बेड पाउन मुस्किल छ।
बेड, औषधी, प्लाज्माको माग बढिरहेका बेला केही युवाहरूले त्यसलाई व्यवस्थित बनाउन एउटा संयन्त्र तयार पारेका छन्।
'कोभिड कनेक्ट नेपाल' Covid Connect Nepal (covidconnectnp.org) नामक वेबसाइटमार्फत् उनीहरू बेड, औषधी, अक्सिजन सिलिन्डरलगायत खोज्ने काम गरिरहेका छन्।
यो वेबसाइट सुरू भएको धेरै भएको छैन। केही समय अघिदेखि काठमाडौं महानगरपालिका-४ धुम्बाराहीका २४ वर्षीय सुरजराज पाण्डे भारतमा कोरोनाभाइरसको बढ्दो संक्रमणलाई राम्ररी नियालिरहेका थिए। उनी आइटीका विद्यार्थी हुन्।
भारतमा कोरोना संक्रमण बढेपछि नेपालमा पनि बढ्छ भन्ने अरूले जस्तै उनले पनि अनुमान लगाए।
'भारतको र यहाँको अवस्था उस्तै हुन्छ भन्ने लाग्यो। खुला नाकाबाट नेपाल भित्रिनेको संख्या पनि बढी छ। त्यसकारण पनि नेपालमा संक्रमण बढ्छ भन्ने लाग्यो,' पाण्डेले सेतोपाटीसँग भने।
भारतमा पर्याप्त उद्योग भए पनि आवश्यकताअनुसार जनस्रोतको व्यवस्थापन गर्न नसक्दा मानवीय क्षति भइरहेको उनले बुझेका थिए। नेपालमा त्यही अवस्था हुनसक्ने उनले ठाने।
यसैबीच उनले अघिल्लो सोमबार नयाँदिल्लीमा आफ्ना साथीसँग कुराकानी गरे। उनले भारतको अवस्था बुझे। सँगै साथीहरूले आइडिया पनि दिए।
'दिल्लीका साथीहरूसँग गफ गर्दै थिएँ। कोभिड-१९ नियन्त्रण गर्न र नेपाललाई अर्को भारत हुन नदिने हो भने योजना बनाउन जरूरी छ। संक्रमितलाईआवश्यक परेको सामग्री खोजेर उपलब्धमात्रै गराउन सके पनि ठूलो क्षति हुनबाट जोगिन्छ,' साथीहरूले आफूलाई दिएको सुझाव उदृत गर्दै भने।
त्यसपछि उनले विभिन्न क्षेत्रमा कार्यरत आठ जना साथीसँग कुराकानी गरे। साथीहरू कोही चिकित्सा क्षेत्र, कोही सामाजिक अभियन्ता, कोही आइटी क्षेत्रका थिए। उनले आफ्नो विचार साथीहरूलाई सुनाएपछि उनीहरूले तत्कालै फेसबुक पेज, भाइबर ग्रुप, इन्स्टाग्राम अकाउन्ट बनाए।
'हामीले आवश्यक जनस्रोतको एउटा ढाँचा बनाउने निर्णय गर्यौं। अफर र रिक्वेस्ट गर्न मिल्ने एउटा वेबसाइट बनाउने जसबाट मानिसहरूले आइसियू, अक्सिजन, भेन्टिलेटर बेड माग्न सक्छन्,' पाण्डेले भने,'भाइबर, फेसबुक, इन्स्टाग्राम, ट्विटरमा ग्रुप बनायौं।'
यी ग्रुपबारे पाण्डेको टोलीले आफ्नै साथीमाझ शेयर गर्न लगाए। उनीहरूले चिनेका मानिसबीच शेयर गर्दागर्दै अहिले यसले ठूलो रूप लिएको छ।
'सुरूमा त हामीले आफ्नै साथीहरूबीच सर्कुलेट गर्यौं। अहिले राष्ट्रव्यापीबाट सहयोग माग्ने/दिने काम सुरू भएको छ,' पाण्डेले भने।
यसरी पेजहरूको काम सुरू भइराख्दा उनले वेबसाइट बनाउने पनि काम सुरू गरिसकेका थिए। रविन श्रेष्ठसँग मिलेर कोभिड कनेक्ट नेपालको वेबसाइट बनाए।
वेबसाइट बनाउन आफूहरू दिन रात नभनी लागि परेको उनीहरू बताउँछन्। पछिल्ला केही दिनमै उनीहरूले वेबसाइट तयार पारेका हुन्। वेबसाइटलाई अझ राम्रो र प्रभावकारी बनाउन काम भइरहेको पाण्डेले बताए।
पाण्डेका अनुसार बुधबारसम्म कोभिड कनेक्ट नेपाललाई व्यवस्थापन गर्न ५०-५५ जना जुटिसके। ८ जनाबाट सुरू गरेको काममा थप उर्जा दिन अरू पनि थपिँदै गएका हुन्।
ती ५०-५५ जना सबैले स्वयंसेवकका रूपमा काम गरिरहेको पाण्डेले बताए।
'अहिले निषेधाज्ञा छ। घरमा इन्टरनेट छँदैछ, त्यहीँबाट काम गरिरहनु भएको छ,'उनले भने।
उनीहरूलाई विभिन्न खालका जिम्मेवारीसमेत दिइएको छ।
अस्पतालहरूबाट सूचना संकलन गर्नकै लागिमात्रै छुट्टै ६-७ जना खटिएका छन्। उनीहरूले देशका विभिन्न अस्पतालमा सम्पर्क गरी बेडहरूको अवस्था बुझेर तथ्यांक संकलन गर्छन्।
'यसरी सबै डाटा राखिराखेका हुन्छौं। हामीलाई बेड, औषधीको लागि कसैले माग्यो भने कहाँ खाली छ त्यहाँ जान भन्छौं। कहीँ पनि खाली भएको जानकारी नभए हामीले सामाजिक सञ्जालमा पोष्ट गर्छौं,' पाण्डेले भने।
कसैले सामाजिक सञ्जालमा आएका मेसेजको रिप्लाई गर्छन् भने त कसैले हटलाइन नम्बरमा आएका फोनहरू उठाउने गर्छन्।
यसरी सामूहिक रूपमा सुरू गरिएको प्रयास अहिले सफल दिशामा गइरहेको पाण्डेले बताए।
यसरी कोभिड नेपाल कनेक्टले नै सोमबारसम्म एक सय बेड खोजिदिइसकेका छन्। उनीहरूसँग बेड खोजिदिन भन्दै माग्नेको संख्या दिनप्रतिदिन बढ्दो छ।
अहिलेलाई यो समूहले अस्पतालमा बेड, औषधी, प्लाज्मा डोनर, औषधीमात्रै खोजिदिने गरेको छ। यसबाहेक आवश्यकतामा परेकाहरूका लागि खाना उपलब्ध गराउने पनि तयारी गरिरहेका छन्।
होम आइसोलेसनमा बस्नेहरू, आफूलाई कोरोना भए/नभएकोबारे शंका गरी बसेकाहरूका लागिमात्रै सल्लाह सुझाव दिनका लागि १५ जनाको चिकित्सकीय टोलीले पनि सहयोग गरिरहेका छन्।
पाण्डेका अनुसार चिकित्सकहरूले नि:शुल्क रूपमै सल्लाह सुझाव दिन्छन्।
त्यस्तै, सामाजिक सञ्जाल नचलाउने समूहहरूका लागि पनि उनीहरूले सहयोग गर्ने वातावरण बनाएका छन्। उनीहरूले आफ्नो वेबसाइटमा चार वटा हटलाइन नम्बर उपलब्ध गराएका छन्। (९८१३२८८९९८, ९८४३३८९४१२, ९८४२८६३०९३, ९८२३०११६२३)
यी नम्बरहरू अस्पताल प्रशासनसम्म पुर्याएर आफ्नोमा बेड नभए यी नम्बरमा सोधेर पाउन सकिने जानकारी गराउन अनुरोध गरिएको सुरजराज पाण्डेले बताए।
'दु:ख परेका मानिसहरूले सामाजिक सञ्जाल चलाएर बस्छन् भन्ने लाग्दैन। त्यसको लागि हाम्रो टोलीले अस्पतालसँग समन्वय गरेर नम्बरहरू उपलब्ध गराइदिन भनेका छौं। त्यसमार्फत् सेवा लिन सकिन्छ,' पाण्डेले भने,'यसका लागि कयौं अस्पतालहरूले सहयोग गरिरहेका छन्। केही अस्पतालले आफैंले सम्पर्क गरी आइसियू बेड खाली भएको जानकारी दिन्छन्। तर कतिले भने गर्दैनन्। सूचना पनि लुकाउन खोज्छन् किन हो।'
कोभिड कनेक्ट नेपालको वेबसाइटबाट प्रत्यक्ष रूपमा बेड, अक्सिजन, एम्बुलेन्स माग्न सकिन्छ। त्यस्तै कति जनाले बेडको माग गरेको छ भन्ने पनि देखाइएको छ। उनीहरूको अवस्थाबारे पनि त्यसैमा हेर्न सकिने बनाइएको छ। उनीहरूको फेसबुक, ट्विटर र इन्स्टाग्राममार्फत् मेसेज गरेर पनि सहयोग लिन वा दिन सकिन्छ।