कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या वृद्धि भएपछि काठमाडौंको बागमती नदी किनारमै शव जलाउन सुरू गरिएको छ।
पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा मात्रै शव जलाउँदा समय लाग्ने भएपछि बागमती नदी किनारमा अस्थायी चिता बनाएर शव जलाउन सुरू गरिएको हो।
कोरोना संक्रमितहरूको शव व्यवस्थापनको काम नेपाली सेनाले गर्दै आएको छ।
सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लव पौडेलले बागमती नदी किनारामा आठ वटा अस्थायी चिता तयार पारेर सोमबारदेखि शव अन्त्येष्टि सुरू गरेको सेतोपाटीलाई बताए।
‘आज दिउँसो २ बजेसम्म २७ वटा शव व्यवस्थापनका लागि सेनालाई अनुरोध आएको छ,’ उनले भने, ‘हामीले शव व्यवस्थापनका काम सुरू गरिसकेका छौं।’
विद्युतीय शवदाह गृहमा शव लैजाने गरे पनि त्यहाँ क्षमताभन्दा धेरै शव जम्मा भएपछि बागमती किनारामा चिता बनाएर अन्त्येष्टिका काम सुरू गरिएका हुन्।
‘पशुपति क्षेत्र विकास कोषसँग समन्वय र सहकार्य गरी विद्युतीय शवदाह गृह र बागमती नदी किनारमा पनि शव अन्त्येष्टि गर्न सुरू गरिएको छ,’ उनले भने।















