काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएको पहिलो दिन एक हजार ४८ सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बिहीबार दिउँसोसम्म एक हजार एक सय ४८ सवारीसाधनलाई नियन्त्रणमा लिइएको हो। त्यसमध्ये ८ सय १५ वटा दुई पाङ्ग्रे र ३ सय ३३ वटा चार पाङ्ग्रे गाडी छन्।
नियन्त्रणमा लिएका सवारीसाधनलाई साँझ ६ बजेसम्म होल्ड गरेर मात्रै छाड्ने महाशाखाले जनाएको छ।
त्यसैगरी प्रहरीले अनावश्यक रूपमा हिँडडुल गर्ने तथा मास्क नलगाउनेलाई पनि कारबाही गरेको छ। काठमाडौं उपत्यकाका तीन प्रहरी कार्यालयले झन्डै दुई हजार सर्वसाधरणलाई कारबाही गरेको हो।
उनीहरूलाई १५ देखि ३० मिनेटसम्म होल्ड गरी प्रहरीले सम्झाएर छाड्ने गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंले ४ सय ५ जनालाई होल्ड गरेको हो। जसमध्ये २ सय ९१ जना पुरूष र एक सय १४ महिला छन्। उनीहरूलाई सम्झाइबुझाइ छाडिएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतले जानकारी दिए।
महानगरीय प्रहरी परिसर ललितपुर, जावलाखेलका प्रवक्ता एसपी प्रज्वल महर्जनका अनुसार ललितपुरमा ११ सय ५७ जनालाई होल्ड गरिएको हो। उनीहरू विशेष गरी अनावश्यक रूपमा हिँडडुल गरिएको पाइएको एसपी महर्जनले बताए।
सम्झाइबुझाइ गर्दा सर्वसाधरणले प्रहरीको भनाइ बुझ्ने गरेको उनले बताए।
भक्तपुर प्रहरीले पनि मास्क नलगाउने २ सय १८ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूमध्ये ३६ जनालाई भने जरिवाना नै तिराएको प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक गिरीले बताए।