झापा शिवसताक्षी नगरपालिका-७ की ४२ वर्षीया तारादेवी भट्टराई अहिले इराकको राजधानी बग्दादमा छन्। गत मंसिरमा उनलाई मेनपावर दलालहरूको एउटा समूहले झापाबाट काठमाडौं र यहाँबाट दुबई हुँदै इराक पुर्याएको हो।
बग्दादको एउटा घरमा उनी घरेलु कामदारको रूपमा काम गरिरहेकी छिन्, जहाँ नेपालीलाई जान प्रतिबन्ध छ। इराक द्वन्द्वग्रस्त मुलुक हो। सरकारले द्वन्द्वग्रस्त मुलुकमा श्रम सम्झौता भंग गरेको पाँच वर्ष पुगिसक्यो।
नेपालबाट सिधै इराक जान नपाइने भएकाले दलालको समूहले दुबई हुँदै त्यहाँ पुर्याएको हो।
‘पाँच महिना भयो, तलब पनि दिँदैनन्, यो अनकन्टार देशबाट म उद्धारको प्रतिक्षामा छु,’ उनले भनिन्, ‘हामीलाई त दुबई लैजाने भनिएको थियो, उनीहरूले जसो भने त्यसै मान्दा म इराक आइपुगेँ।’
उनलाई फ्री भिसा, फ्री टिकटमा दुबई पुर्याउने भन्दै झापा शिवसताक्षीकै मणि लामा तामाङले काठमाडौंसम्म ल्याएका थिए। मंसिर १९ गते राति उनी काठमाडौंबाट दुबई उडेकी थिइन्। २० गते दुबई पुगिन्।
उनलाई एयरपोर्टमा लिन दुबईमा बसोबास गरिरहेकी दार्जिलिङकी सरस्वती श्रेष्ठ आएकी थिइन्।
सरस्वतीले तारादेवीलाई उनको फ्ल्याटमा राखिन्। पिसिआर परीक्षण गर्न लगिन्। र, भोलिपल्ट किर्गिजस्तानको उडान छ भनिन्।
‘हामीलाई त यहीँको लागि ल्याएको हैन र?,’ तारादेवीले सोधिन्।
तर, श्रेष्ठले किर्गिजस्तान दुबईनजिकैको देश हो केही फरक पर्दैन भनिन्। भोलिपल्ट एयरपोर्ट पुर्याइन्। प्लेन उड्नुभन्दा केही मिनेटअगाडि भिसा र टिकट हातमा राखिदिइन्। टिकट हेरेपछि तारादेवीलाई बग्दाद जाँदै गरेको थाहा भयो।
बग्दादको एयरपोर्ट पुग्दा उनलाई लिन साहु आइसकेका थिए।
‘जो साहु आएका थिए, तिनै साहुको घरमा बसिरहेकी छु, मलाई यहाँसम्म ल्याउनेहरू अहिले सम्पर्कमा छैनन्,’ उनले भनिन्।
तारादेवी तीन पटक भयो वैदेशिक रोजगारीमा गएको। पहिले कुवेत, ओमान र दुबई गइसकेकी थिइन्। अन्तिम पटक दुबईबाट उनी लकडाउनको समयमा फर्किएकी थिइन्। एक वर्ष घर बसेपछि उनी फेरि दुबई जान खोज्दा लामासँग भेट भएको थियो।
उनै लामाले पहिले उनलाई कुवेत पठाउने बन्दोबस्त मिलाएका थिए। गाउँठाउँकै भएकाले विश्वासमा परेर दुबई हिँडेकी तारादेवी बग्दाद पुगेर दु:ख पाइरहँदा लामालाई सम्झिन्छिन्।
लामाले यसपटक दुबईमा घरेलु कामदारकै रूपमा पठाउनका लागि केही पनि शुल्क लिएनन्। भिसा र टिकट दुबैको पैसा नलिएको कारण यस्तो रहेको तारादेवीलाई बल्ल थाहा भएको छ।
‘मैले एक रुपैयाँ पनि तिर्नुपरेन, भिसा टिकट फ्रीमै आयो,’ उनले भनिन्, ‘दुबईबाट यहाँ ल्याएर अलपत्र पार्लान् भन्ने थाहा भएन।’
त्यहाँबाट नेपाल फर्किने उपाय केही पनि छैन। न त्यहाँ दूतावास छ।
‘अलिअलि खर्च त दिन्छन् कहिलेकाहीँ, तर म यहाँबाट मुक्त हुन चाहन्छु,’ उनले भनिन्।
साहुलाई उनले आफूलाई फर्काइदिन अनुरोध गरिरहेकी छिन्। तर, साहुले भनिरहेका छन्, ‘तिमीहरूलाई यहाँ ल्याइदिनेले हामीबाट आठ लाख रुपैयाँ पैसा लिएका छन्, त्यो पैसा फिर्ता देऊ।’
तारादेवीसँग सिमकार्ड छैन। इन्टरनेटमार्फत् पुर्याउनेहरूसँग सम्पर्क हुन सकेको छैन।
तारादेवीसँगै सोही घरमा चार जना छन्। ‘बहिनीहरू मभन्दा पछाडि आएका हुन्,’ उनले भनिन्।
झापाकी रेखा राजवंशी, शर्मिला बिक र पाल्पाकी विष्णुकुमारी मगर पनि यसैगरी अलपत्र रहेको उनले बताइन्। उनीहरू साथै इराक पुगेका नेपाली धेरै छन्। उनीहरूमध्ये कतिपय लामा र श्रेष्ठमार्फत् बग्दाद पुगेका छन्।
‘८०-९० जना छन् भन्ने मैले सुनेकी छु,’ तारादेवीले भनिन्।
इराक पुगेका नेपालीलाई ल्याउन सजिलो पनि छैन। परराष्ट्र मन्त्रालयमार्फत् त्यहाँको देशमा कुराकानी गरेपछि अनि मात्र प्रक्रिया सुरू हुन्छ।
नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोले यसरी पुगेका व्यक्तिलाई उद्धार गर्न सक्छ।
‘दूतावास नभएको हुनाले त्यहाँबाट उद्धार गर्न कठिन छ, सिधै परराष्ट्र मन्त्रालयबाट कुराकानी गर्नुपर्ने हुन्छ,’ ब्युरो प्रमुख एसएसपी दुर्गा सिंहले भनिन्, ‘एक जनालाई हामीले यसरी ल्याउन खोजेका छौं, अरू के कति छन् हाम्रो जानकारीमा छैन।’
लामाले तारादेवीलाई तीन वटा मोबाइल नम्बर दिएका थिए। ती सबै फोन अहिले अफ भइसकेका छन्। चारै जनाले अहिले साहुबाट एकदमै शोषण भइरहको बताएका छन्।
‘कुटपिट गर्ने, मानसिक यातना दिने, डरत्रास देखाउने काम हुन्छ, हामी एकदमै पीडामा छौं,’ उनले भनिन्।
लामा वर्षौंदेखि महिलाहरूलाई विदेश पठाउने काम गर्छन्।
उनी दुबई कतार, मलेसिया, कतार, कुबेत लगायत मुलुकमा महिलाहरूलाई पठाउने गर्थे।
उनको मेनपावर कम्पनी छैन। उनी विभिन्न मेनपावर कम्पनीमा सम्पर्क गराइदिने, भारतीय बाटो हुँदै महिला ओसारपसारमा संलग्न रहेको ती महिलाहरूले बताएका छन्।