'एक-एक पाइला।'
२०७२ साल वैशाख १२ गतेको भुइँचालोसँगै ठूला पराकम्पनहरू जान थालेपछि मृतक र घाइतेको उद्धार-उपचार निकै कठिन बनिरहेको थियो।
निजीस्तरबाट पनि मानिसहरू राहत, उद्धार तथा उपचारमा सक्रिय हुन थालेका थिए।
त्यही बेला काठमाडौंका केही युवा डाक्टरहरूले सोचे- राजधानीमा त उपचारका लागि बन्दोबस्त मिलाउन धेरै लागिपरेका छन्। तर सिन्धुपाल्चोक, गोरखाजस्ता जिल्लाका नागरिकको के हालत होला?
डाक्टर थिए आँखा रोग विशेषज्ञ डा. सुमन थापा, कलेजो रोग विशेषज्ञ सुधांशु केसीलगायत १३ जना।
चिकित्सा पेसामा संलग्नताका हिसाबले नजिकिएका डाक्टरहरू बसेर तुरुन्तै औषधि-उपचारमा हिँड्नुपर्ने निष्कर्ष निकाले। त्यसका लागि बन्दोबस्त मिलाउनुपर्ने भयो। औषधि उपकरण साथै लिएर जानुपर्ने थियो।
यसरी पहिलो बैठक सामग्री र औषधि जुटाउने सहमतिमा सकियो। ती सामग्री जुटिसकेपछि अर्को बैठक डाके र हरेक महिना एक ठाउँमा नि:शुल्क शिविर चलाउने निर्णय गरे।
सुरूमा सिन्धुपाल्चोक जाने निधो गरे। नाम दिए, 'एक-एक पाइला।'
२०७२ वैशाख १७ गते सिन्धुपाल्चोकबाट सुरू भयो पहिलो पाइला।
उनीहरू आवश्यक सामग्री लिएर सिन्धुपाल्चोकको चनौटे गए। केसीसहित डा. ज्योतिन्द्र शर्मा, कुञ्जन आचार्य, सुमन थापा, भूपेश शाक्य, नील पाण्डे, शोभा ढकाल, सबिना भट्टराई, सपना अमात्य वैद्य, र गणेश पराजुली थिए।
बन्दोबस्तीको चार जनाको टोली र स्वयंसेवकको १३ जनाको टिम लिएर उनीहरू त्यहाँ गएका थिए।
'मानिसहरूको बेहाल थियो। हामीले ७७ जनाको मेजर सर्जरीसहित २५६ जनाको उपचार गरेर फर्कियौं,' डा. सुधांशु केसीले भने।
दोस्रो पाइलामा उनीहरू जेठ ३० गते नुवाकोटको भद्रुटार पुगेर ५६० जनाको उपचार गरे।
क्रमश: तेस्रो शैलुङ दोलखा, चौथो ठूलो स्याफ्रु रसुवा, पाँचौं हुम्दे र चामे मनाङ, छैटौं ढोला धादिङ, सातौं मैनापोखरी दोलखा, आठौं शंखुपाटी चौर काभ्रे, नवौं गन्धर्व गाउँ तनहुँ, दसौं रायले काभ्रे र ११ औं पाइला ब्रका गुम्बा हलचोकमा सम्पन्न भयो।
यतिञ्जेलसम्मा ९ हजार ६ सयको उपचार भइसकेको थियो।
१२ औं पाइलाका लागि उनीहरू गोरखा पुग्दा भुइँचालोको एक वर्ष पुग्न लागेको थियो। उनीहरू २०७३ वैशाख १० गते त्यहाँ पुगेका थिए। गोरखा बारपाक क्षेत्रतिर भिआइपीहरूको आवतजावत बढेको थियो। आकाशमा हेलिकप्टर उडेका उड्यै।
वारिपट्टी घ्याचोकका नागरिक ती हेलिकप्टर आउलान् कि भनेर आकाशतिर हेरिरहन्थे। आएनन्।
एक-एक पाइलाको टोली पुगेर त्यो ठाउँमा आँखा, नाक, कान, घाँटी, साधारण शल्यक्रिया, प्रसूति, छालालगायतको उपचार गर्यो।
'हाम्रो ठाउँमा कोही आइपुगेका थिएनन्, तपाईंहरू आउनुभयो भनेर स्थानीय जनताले हर्षका साथ बिदा गर्नुभयो,' उपचारमा खटिएका डा. केसी भन्छन्।
त्यहाँ दुई दिनमा ९९५ जनाको उपचार भएको थियो। यसरी एक वर्षसम्म उनीहरू भूकम्पको औषधि उपचारमा खटिए।
त्यसपछि उनीहरूले गैरनाफामूलक संस्था भनेर 'एक-एक पाइला' दर्ता गरे। यसपछि कर्णालीका विकट जिल्लामा नि:शुल्क शिविर चलाउने निधो गरे।
त्यसपछिको तेह्रौं पाइला मनाङ, चौधौं मुगु, पन्ध्रौं हुम्ला सिमिकोट, १६ औं जुम्ला, १७ औं डोल्पा, १८ औं जाजरकोट र १९ औं पाइला माथिल्लो डोल्पामा पुगेर सन् २०१९ को अन्त्यमा सकियो।
अर्को चरणको शिविर चलाउन उनीहरू रुकुम जाने तयारी गरिरहेका थिए। तर, अचानक कोरोना भाइरसको महामारी सुरू भएपछि त्यो सम्भव भएन।
त्यसपछि २० औं पाइलामा उनीहरू काठमाडौंमा विशेषज्ञ सेवा उपलब्ध गराउने गरी सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गर्न लागिरहेका छन्।
२० औं पाइलामा आइपुग्दा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना भइसकेको छ। यसको उद्घाटन शनिबार हुँदैछ। यो केन्द्रमा आम मानिसको पनि पहुँच हुनेछ।
सामुदायिक स्वास्थ्य केन्द्र यस्तो अवधारणा हो, जहाँ १५० रूपैयाँ तिरेपछि हरेक नागरिकले विशेषज्ञ डाक्टरको सेवा पाउँछन्। पैसा नहुनेका लागि भने सित्तैमा उपचार गर्ने व्यवस्था मिलाइएको छ।
'पैसा तिर्न सक्नेले वीर अस्पतालमा लाग्नेजति पैसा तिरेर अन्य उपचार लिन सक्छन्,' एक-एक पाइलाका उपाध्यक्षसमेत रहेका डा. केसीले भने।
यो क्लिनिकमा २२ जना विशेषज्ञ डाक्टरले सेवा दिनेछन्।
काठमाडौंमा थुप्रै सरकारी अस्पताल छन्, किन चाहियो सामुदायिक क्लिनिक?
यसमा डा. केसी भन्छन्, 'सरकारी अस्पतालमा राम्रो उपचार हुँदैन भन्ने आम बुझाइ छ। यस्तै धेरै भिडभाड र अव्यवस्थित सेवाका कारण जनताले हैरानी खेपिरहेका छन्। समयमा डाक्टर नभेटिन पनि सक्छन्।'
ती सबैको निदान भने यो क्लिनिकमा हुन सक्ने र त्यो सरकारी दरकै सेवा रहने केसीको दाबी छ। उनका अनुसार हरेक दिन यो क्लिनिकबाट एक सय जनाको उपचार गर्ने लक्ष्य राखिएको छ।
क्लिनिकमा जाने विशेषज्ञ डाक्टरले पैसा लिँदैनन्। एक एमडिजिपी (एमडी इन जनरल प्र्याक्टिस), आँखा रोग विशेषज्ञ र दाँत रोग विशेषज्ञलाई मात्रै जागिरेका रूपमा नियुक्ति गरिनेछ।
'१५० रूपैयाँ तिर्न सके विशेषज्ञको परामर्श र उपचार पाइन्छ। बाहिर यही सेवा लिन ८ सय रूपैयाँसम्म तिरिरहनुपरेको छ,' उनले भने, 'फार्मेसीबाट हामी सस्तो दरमा औषधि पनि दिन्छौं।'
कसरी चल्छ केन्द्र?
डा. केसीका अनुसार सामुदायिक क्लिनिक यही १५० रूपैयाँ संकलनबाट चलाउने योजना छ। यो र उपचारबापत उठ्ने केही रकम क्लिनिकको खर्चमा लगाइने उनले बताए। यसका लागि हाल कोष जम्मा भएको छ। ७७ जनाको बोर्ड बनाइएको छ। हरेकले पाँच-पाँच लाख रूपैयाँ लगानी गरेका छन्।
'यो पैसाले केही समय उपचार गर्न सकिन्छ। फन्ड बढाउने अभियान चलिरहन्छ,' डा. केसीले भने, 'उपचारवापतको रकम जम्मा हुँदै गएपछि हामीलाई चल्न गाह्रो हुँदैन।'
डा. सुमन थापाले आफ्नो घर क्लिनिकका लागि दस वर्षसम्म नि:शुल्क दिएका छन्। थापाथलीको उनकै घरलाई छुट्याएर अहिले क्लिनिकको सबै संरचना तयार भइरहेको छ। डा. थापाले यसअघि मासिक तीन लाख रूपैयाँमा भाडा लगाएका थिए। एक-एक पाइलाको काम अगाडि बढ्ने भएपछि उनी आफ्नो घर दिन तयार भए।
'यसरी हामी डाक्टरहरूको अभियानले साकार रूप लिइरहेको छ,' डा. केसीले भने।
यो क्लिनिक कसैसँग प्रतिस्पर्धाका लागि नभएर विशेषज्ञ सेवाको पहुँच सहज बनाउन खोलिएको उनी बताउँछन्।
उनीहरू कर्णालीका सबै जिल्ला पुगिसकेका छन्। त्यहाँ उनीहरूले देखे विशेषज्ञ सेवा नपाइने देखे। त्यहाँका नागरिकले विशेषज्ञ सेवा लिन नेपालगञ्ज, धनगढी वा काठमाडौं आउनुपर्ने बाध्यता छ। काठमाडौं कर्णाली प्रदेशका नागरिकका मात्र नभएर मुलुकका सबै भू-भागको औषधि/उपचारको थलो पनि हो।
अहिले नेपालमा जुन गतिमा चिकित्सा शिक्षा र स्वास्थ्य संस्थाको विकास भइरहेको छ, ठिक विपरीत विशेषज्ञ सेवा सर्वसुलभ हुनुको सट्टा महंगिदै गएको छ।
'हामी हरेक क्षेत्रका जनतालाई सस्तो र सुलभ विशेषज्ञ सेवा दिलाउन चाहन्छौं,' केसीले भने।
यो क्लिनिकमा अहिले साधारण शल्यक्रिया पनि गरिन्छ। डा. केसीले भने, 'मेजर अपरेसनका लागि पनि हाम्रो तयारी छ, केही समय लाग्छ।'
एक-एक पाइला एउटा गैरसरकारी, गैरनाफामूलक संस्था हो। यसको मुख्य उद्देश्य गरिब, दु:खी, असहाय बिरामीलाई विशेषज्ञ डाक्टरबाट सर्वसुलभ स्वास्थ्य परीक्षण र सेवा प्रदान गर्नु रहेको डा. सुमन थापाले बताए।
यो अभियानमा स्वयंसेवक डाक्टर र अन्य स्वास्थ्यकर्मी छन्।
विशेषज्ञ टोलीमा आँखा, नाक, कान, घाँटी, मेडिसिन, छाला रोग, प्रसूति, शल्यचिकित्सा, बालरोग, हाडजोर्नी, दन्त चिकित्सा लगायत छन्। यो टोलीले चार वर्ष दुर्गम क्षेत्रमा बिरामीको उपचार गरेपछि सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरेको हो।
टोलीले सन् २०१६ मा नेपालको दुर्गम क्षेत्र सुदूरपश्चिममा आफ्नो सेवा विस्तार गर्ने अठोट गरेको थियो। यसअनुरूप कर्णाली जिल्लाका विभिन्न ठाउँमा गई विशेषज्ञ टोलीले स्वास्थ्य सेवा प्रदान गर्यो। वर्षमा दुईचोटि जाने उक्त स्वास्थ्य शिविरले विशिष्ट र बृहत स्वास्थ्यसम्बन्धी सेवा दिएको थियो।
शिविरमा बिरामी जाँचबाहेक साधारण शल्यचिकित्सा, मोतिबिन्दुको शल्यक्रिया, रक्तपरीक्षण, भिडिओ एक्सरे, निःशुल्क औषधि र चश्मा वितरण हुने गरेको छ।
'क्लिनिक स्थापना भए पनि हामी शिविर चलाइरहन्छौं, विकट क्षेत्रमा जान्छौं,' डा. थापाले भने।
एक-एक पाइलाले मुगु, हुम्ला, जुम्ला, डोल्पा र जाजरकोटमा २८ हजार १७६ जनाको उपचार र १२ हजार १३५ जना बिरामी जाँच गरिसकेको छ।
'स्वयंसेवाको भावनाबाट उत्प्रेरित भएर स्वास्थ्य केन्द्रको परिकल्पना भयो। जसबाट एक-एक पाइला सामुदायिक स्वास्थ्य केन्द्र स्थापना भएको छ,' डा. थापाले भने।
काठमाडौं उपत्यकाका गरिब र असहायको स्वास्थ्य परीक्षण सर्वसुलभ र सस्तो सेवा प्रदान गरिने उनले बताए। संस्थापक अध्यक्ष थापाको परिवारबाट उपलब्ध गराइएको भवनमा उक्त स्वास्थ्य केन्द्रलाई विभिन्न मानिसले आर्थिक सहयोग गरेका छन्।