बुद्धकृष्णवाग श्रेष्ठले आठौं पटक जिब्रो छेडेका छन्। मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक वर्ष मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ का क्रममा उनले यो वर्ष पनि जिब्रो छेडेका हुन्।
गत वर्ष विश्व कोभिड–१९ का कारण जात्रा हुन नसक्दा इतिहासमै पहिलोपटक रोकिएको जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिन ४८ वर्षे वुद्धकृष्णले बिहिबार जिब्रो छेडेका हुन्।
मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा लामो समयदेखि एम्बुलेन्स चालकको रूपमा कार्यरत उनले कोरोना महामारी सुरू भएसँगै गत वर्षदेखि कोभिडका बिरामी मात्रै बोक्ने आइसोलेटेड एम्बुलेन्स चलाएर कोरोना संक्रमितको सेवा गर्दै आएका छन्।

‘मानवीय सेवा र कला संस्कृतिको संरक्षणमा लाग्दै आएको मैले गत वर्ष कोरोनाका कारण जात्रा रोकिएकाले जिब्रो छेड्न पाइनँ, यस वर्ष वैशाख २ गते आठौं पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिने निर्णय गरेको हुँ, एम्बुलेन्स चलाएर बिरामीको सेवा पनि गरिरहेको छु,’ उनले भने।
हालसम्म १२ जनाबाट निरन्तर १०६ वर्ष जिब्रो छेड्का छन्। विसं २०७६ सम्ममा सातपटक जिब्रो छेडेका बुद्धकृष्णले यसवर्ष आठौं पटक जिब्रो छेडेका हुन्।

यसअघि विसं १९६९ देखि १९९० सम्म हर्कनरसिंह बासँश्रेष्ठले २२ पटक, विसं १९९१ देखि २०२२ सम्म बेखानारायण हायश्रेष्ठले ३२ पटक, २०२३ मा हरिदेव किला श्रेष्ठले, २०२४ देखि २०२६ सम्म हरि भासिंक श्रेष्ठले तीन, २०२७ र २०२८ मा इन्द्रबाटा श्रेष्ठले दुई पटक जिब्रो छेड्नुभएको छ । त्यस्तै २०२९ देखि २०३१ सम्म हर्केश्वर ब्याँ श्रेष्ठले तीन, २०३२ देखि २०३८ सम्म चन्द्रसेन द्यों श्रेष्ठले सात, २०३९ देखि २०४६ सम्म दीलकुमार खपे श्रेष्ठले सात, २०४७ मा मुनि घों श्रेष्ठले, २०४८ मा धर्मराज बलाय श्रेष्ठले, २०४९ देखि २०६० सम्म १२ पटक कृष्णचन्द्र बाग श्रेष्ठले, बुद्धकृष्ण बाग श्रेष्ठले २०६१ देखि २०६४ सम्म तथा २०७३ देखि २०७५ सम्म सात पटक तथा जुजुभाई बासँ श्रेष्ठले २०६५ देखि २०७२ सम्म आठ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै आएका छन्।

बाजे हर्कनारायण अगाडि पनि निरन्तररूपमा जिब्रो छेड्ने जात्रा सञ्चालन भएको र देशमा जस्तोसुकै संकट आउँदा पनि कुनै पनि साल यो जात्रा नरोकिएको आठ पटक जिब्रो छेडाएका जुजुभाई बाँस श्रेष्ठले बताए।
मध्यपुरथिमि बोडेका श्रेष्ठ थरले प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा जिब्रो छेड्ने प्रचलन छ ।
जिब्रो छेडिसकेपछि ती व्यक्तिले अर्धचन्द्राकार महादीप बोकेर बोडे शहर परिक्रमा गर्ने र बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउँमा महालक्ष्मी मन्दिरको माटो लगाउने प्रचलन छ।















