भारत मुजफ्फपुरका सन्तोष सिंह राठौर मंगलबार जनकपुरधाम घुम्नकै लागि नेपाली धनुषाको सीमानाका जटहीमा प्रवेश गरे।
नेपाली सीमानाका जटही पुगेका भारतीय नागरिक राठौरलाई नेपाली सीमा सुरक्षा बलका सुरक्षाकर्मीहरूले नाकामा पुग्ने बित्तिकै थर्मल-गनले शरीरको तापक्रम मापन गरे र त्यसपछि प्रवेश पाए।
उनीजस्तै हरेक व्यक्तिलाई त्यसैगरी जाँच्ने गरिन्छ। शरीरको तापक्रम बढी देखिएमा भारतबाट आएकालाई उतै फर्काइन्छ। यतिमात्रै होइन भारतीय बजार लागेको दिन त झन् सयौंको संख्यामा नेपालीहरू समेत भारतमा सस्तो सामान किन्न पाइन्छ भन्दै लामवद्ध भएर लाग्ने गर्दछन्।
उनीहरूलाई भने न त भारतीय एसएसबीले स्वास्थ्य जाँच गर्छन् न त नेपाली सुरक्षाकर्मीले नै।
त्यसमध्येकै एक हुन् नगराइन नगरपालिका जटहीका रामकेवल यादव। स्थानीय यादव घरायसी सामान नेपाली बजारभन्दा भारतमा सस्तो पर्ने भएकोले सीमामा रहेको हरिने हरलाखी बजार आवतजावत गर्छन्।
उनका अनुसार सीमानाका आवतजावत गर्दा न उनलाई नेपाली सीमामा स्वास्थ्य चेकजाँच गरिन्छ न त भारतीय सीमामा नै।
‘हुन त सीमामा दुबै तर्फबाट कडाइ गरिएको छ,’ यादवले भने, ‘व्यवहारिक रूपमा भने न्यून संख्यामा चेकजाँच गरिँदै छ।’
जटही नाका भएर दर्जनौं व्यक्ति आउजाउ गर्दै आइरहे पनि सीमित व्यक्तिलाई मात्रै ज्वरो मापन गरिँदै आएको स्थानीय बताउँछन्।
छिमेकी देश भारतमा कोरोना संक्रमण पुनः भयावह रूपमा फैलिँदा त्यहाँ दिनहुँ लाखभन्दा बढीको संख्यामा कोरोना संक्रमित बढ्दै गइरहेका छन्।
भारतमा कोरोना संक्रमण महामारीको रूप लिएसँगै यसको प्रत्यक्ष प्रभाव नेपालमा परेको हो।
भारतबाट खुला सीमानाका कारण बोर्डर हुँदै आवागमन जारी नै रहेकाले अहिले सबभन्दा उच्च जोखिममा भने प्रदेश २ का आठ वटै जिल्ला रहेका छन्। यद्यपि अहिले पनि भारतबाट नेपाल प्रवेश गर्नेहरू निर्वाध रूपमा नेपाल भित्रिँदैछन्।
अहिले दिनहुँ ७ देखि १० जना व्यक्ति भारतबाट नेपाली सीमामा प्रवेश गर्दै आइरहेको धनुषास्थित जटही सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीका अनुसार चैत ३१ गते जटही नाका भएर ७ जना भारतबाट नेपाल भित्रिएका छन् भने नेपाली सीमाबाट ८ जना भारत प्रवेश गरेका छन्।
तथ्यांक अनुसार चैत ३० गते ११ जना नेपाली सीमामा प्रवेश गरेका छन्। यस्तै, १३ जना भारतीय भूमिमा प्रवेश गरेका छन्।
त्यस्तै, चैत २९ गते १० जना भित्रिएका छन् भने ११ जना भारतीय भूमिमा प्रवेश गरेका छन्।
चैत २८ गते ९ जना नेपाली सीमा प्रवेश गरेका छन् भने ८ जना भारतीय सीमामा प्रवेश गरेका छन्।
भारतबाट नेपाल र नेपाल हुँदै भारत जानेहरूको संख्यामा दिनप्रतिदिन बढोत्तरी हुुँदै गए पनि अझैसम्म नाकामा कडाइ हुन सकेको छैन। त्यसमा पनि त्यहाँ कोरोनाका शंकास्पद लक्षण देखिएकाहरूको स्वास्थ्य जाँच गर्ने न कुनै हेल्थ डेस्क छ न त सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूलाई कोरोनाका सामान्य लक्षणहरू जाँच्ने मेसिन राखिएको छ। त्यहाँ जाँचको नाममा मात्र एउटै सामग्री देख्न सकिन्छ ज्वरो जाँच्ने थर्मोनगल।
हेल्थ डेस्क नराखिएकाले बाध्यतावश आफूहरूले नै थर्मल-गनको सहायताले ज्वरो मापन गरेर आवतजावत गर्न दिइरहेको सशस्त्र प्रहरी धनुषाका प्रहरी नायब उपरीक्षक दिनेश खड्काले जानकारी दिए।
‘हामीसँग स्वास्थ्यकर्मी छैनन्, हामीमध्ये जसलाई स्वास्थ्यसम्बन्धी थोर बहुत जानकारी छ। हामीले उनीहरूलाई खटाएका छौं,’ डिएसपी खड्काले भने, ‘कोरोना संक्रमण बढ्दै गइरहेकाले हामी आफैंले स्वास्थ्य सतर्कता अपनाउनका लागि ज्वरो मापन गरेर मात्रै आउजाउ गर्न दिइरहेका छौं।’
‘कोरोनाको दोस्रो लहर देखिएसँगै हामीले ज्वरो मापन सुरू गरिसकेका थियौं’, सशस्त्र प्रहरीका डिएसपी खड्काले थप भने, ‘यद्यपि अहिलेसम्म कोरोनाका लक्षण देखिएका व्यक्ति हामीले फेला पार्न सकेका छैनौं।’
कयौं व्यक्ति भारतीय सीमामा प्रवेश गर्ने तथा नेपाली सीमामा प्रवेश गर्ने गरे पनि सामान्य काम वा हाट बजारका लागि आउजाउ गर्ने व्यक्तिहरूको तथ्यांक नराख्ने गरिएको देखिएको छ।
भारतमा कोरोना संक्रमितहरूको संख्या दिनानुदिन बढ्दै गए पनि अहिलेसम्म सीमानाकामा हेल्थ डेस्क सञ्चालन गर्न नसकिएको स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय झा बताउँछन्।
‘हेल्थ डेस्क राख्नेबारे हाम्रो छलफल चल्दैछ छिट्टै नै हामी यसबारे निर्णय गर्छौं,’ निमित्त निर्देशक झाले भने, ‘कुनै-कुनै बोर्डरमा यदि हेल्थ डेस्कको स्थापना भइसकेको छ भने त्यहाँका कर्मचारीहरूलाई नाकाबाट आवतजावत गर्ने सबैको जानकारी अभिलेख गरी राख्न निर्देशन दिएका छौं।’
उनका अनुसार आउँदो वैशाख ३ गते बस्ने मन्त्रिपरिषद्को बैठकले कोरोनाको जोखिमलाई लिएर सीमा नाकामा गरिने कडाइ र स्थापना गरिने हेल्थ डेस्कबारे निर्णय गरिनेछ।
‘आगामी वैशाख ३ गते मन्त्रिपरिषद्को बैठकमा यसबारे निर्णय हुने हो,’ उनले भने, ‘अहिलेका लागि प्रदेशभरि ५०६ वटा आइसोलेसन तयारी अवस्थामा रहेका छन् तर जनशक्तिको भने अभाव रहेको छ।’
उनले बताए अनुसार अहिले करिब एक हजार कर्मचारीहरूको आवश्यकता रहेको छ।