सिन्धुलीमा एक जना शिक्षक मृत फेला परेका छन्।
बेतनीको प्राथमिक विद्यालय ओख्रेनीमा स्थायी शिक्षक ४७ वर्षीय टंकनाथ पहाडी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक (डिएसपी) मनोजकुमार लामाका अनुसार आइतबार उनी फिक्कल गाउँपालिका-३ चनौटेमा कांग्रेसको पालिका स्तरीय अगुवाइ भेलाका लागि घरबाट हिँडेका थिए।
तर उनी आइतबार घर फर्किएका थिएनन्। नफर्किएपछि आफन्तहरूले खोज्ने क्रममा गाउँपालिकाको वडा नम्बर ३ नयाँपानीमा सोमबार बिहान उनको शव फेला परेको हो।
नयाँपानी भिरस्थित न्युरेखोला चनौटेको सडकबाट दुई सय मिटर तल लडेर मृत फेला परेको डिएसपी लामाले बताए।
'हामीलाई दिउँसो खबर आएपछि इन्स्पेटरसहितको टोली खटिएको थियो। टोली फर्किसकेको छैन,' लामाले भने,' अहिलेसम्म घटना शंकास्पद छ भन्ने कुरा आएको छैन। टोली फर्किएपछि विस्तृत थाहा हुन्छ।'
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।