मंगलबार दिउँसो प्रहरीले काठमाडौंको एक उद्योगमा छापा मार्यो। महानगरीय अपराध महाशाखा र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले उक्त उद्योगमा छापा मारेको हो।
उद्योगबाट कस्मेटिक सामानहरू उत्पादन तथा बिक्री-वितरण हुन्थ्यो तर गैरकानुनी रूपमा।
प्रहरीले केही समयअघि नै गैरकानुनी रूपमा मेहन्दी, फेस क्रिम, तेल लगायत कस्मेटिक सामान काठमाडौंमै उत्पादन हुने गरेको सूचना पाएको थियो। केही उपोभोक्ताले त ती कस्मेटिक सामान प्रयोग गर्दा कपाल झर्ने, एलर्जी हुने जस्ता स्वास्थ्य समस्या आएको जानकारी पनि गराएका थिए।
त्यसपछि यस सम्बन्धमा प्रहरीले थप सूचना संकलन गर्न थालेको महाशाखाले जनाएको छ। लामो समयको निगरानीपछि प्रहरी टोली मंगलबार छापा मार्न चन्द्रागिरि नगरपालिका-१५ ढुंगेअड्डा पुग्यो।
सोही ठाउँ बस्ने ३३ वर्षीय चेतन गोयलले सञ्चालन गरेको हबिब काला-कोला हेना उद्योगमा प्रहरीले छापा मारेको हो। उक्त उद्योगमा विशेषगरी नेपाल र भारतमा उत्पादन हुने कस्मेटिक सामान गैरकानुनकी रूपमा उत्पादन हुन्थ्यो। प्रहरीले गोयललाई पनि त्यहीँबाट नियन्त्रणमा लियो।
गोयल यसअघि पनि पक्राउ परिसकेका व्यक्ति हुन्। उनलाई महाशाखाकै टोलीले दुई वर्षअघि यही मुद्दामा पक्राउ गरेको महाशाखाले जानकारी दिएको छ।
उद्योगमा खनतलासी गर्दा प्रहरीले उच्च अदालत पाटनले दिएको एउटा आदेश पनि फेला पर्यो। त्यो आदेश २०७३ साल साउन १९ गतेको थियो।
उक्त आदेशले निशा नामको ट्रेडमार्क पनि खारेज गरेको रहेछ। तर पनि त्यसको बेवास्ता गर्दै उनले निरन्तर सोही ट्रेडमार्क प्रयोग गरी मेहन्दी बेच्थे।
'अदालतले त्यो ट्रेडमार्कमा काम गर्न पाउँदैन भनेर खारेज गरे पनि त्यसैलाई नै उनले निरन्तर प्रयोग गरेको पाइयो,' महाशाखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) दुर्गा रेग्मीले सेतोपाटीसँग भने।
प्रहरीले उद्योगबाट २४ प्रकारका कस्मेटिक सामान तथा सामान बनाउन प्रयोग हुने चार वटा मेसिन बरामद गरेको छ। अहिले त्यो उद्योगलाई प्रहरीले सिल गरेको छ।
प्रहरीले ढुंगेअड्डामै सामान भण्डारण गरी राखेको गोदाम पनि सिल गरेको छ। त्यस्तै, गोयलले सञ्चालन गरेको काठमाडौं महानगर-२५ ताम्राकार प्लाजा, मखन गल्लीको आशान इन्टरप्राइजेज पनि सिल गरेको छ।
त्यहाँ प्रहरीले हबिब काला-कोलाका विभिन्न कस्मेटिक सामान गोयल आफैंले तयार गरी ओरिजिनल लेखिएका होलोग्राम टाँसेको पाइएको डिएसपी रेग्मीले बताए।
'भारतमा बन्ने सामानका प्याकेट गोदाममा टन्न छन्। आफ्नै उद्योगमा बनाएका सामान भारतीय प्याकेटमा भरेर बजार पठाएको पाइयो,' डिएसपी रेग्मीले भने, 'ती खाली प्याकेटबाहिर सबै हिन्दीमै लेखिएको छ। भारतीय ब्रान्डका भन्दै आफूले बनाएका सामान बिक्री-वितरण गरिएको पाइएको छ।'
गोयलले उक्त काम गर्न आठ-नौ जना कर्मचारी पनि राखेका थिए। उनीहरू सामान्य कामदार भएकाले प्रहरीले उनीहरूलाई नियन्त्रणमा नलिएको बताएको छ।
गोदाम तथा उद्योगबाट बरामद अन्दाजी एक करोड ५० लाख बराबरका सामान सिलबन्दी गरिएको महाशाखाले जनाएको छ। त्यस्तै सामान ओसारपसार गर्न प्रयोग भएको बा १९ च ८०५३ नम्बरको भ्यान पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
कम्पनीका सञ्चालक चेतन गोयललाई महाशाखाले प्रारम्भिक अनुसन्धान गरी थप अनुसन्धानका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहल पठाइने जनाएको छ।