बर्दिया राष्ट्रिय निकुञ्जबाट नियन्त्रणमा लिएको बाघलाई ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा ल्याइएको छ।
निकुञ्जका कर्मचारीलाई मारेपछि डार्ट हानेर नियन्त्रणमा लिइएको बाघलाई मंगलबार चिडियाखानामा पुर्याएको हो।
१० वर्षको भाले बाघलाई बर्दियाबाट गाडीमा हालेर ल्याइएको हो।
आइतबार साँझ पौने ६ बजे ठाकुरबाबा नगरपालिका-९ गैडामचानस्थित बर्दिया राष्ट्रिय निकुञ्जमा कार्यरत गैंडा गणना गर्न हात्तीसहित गएका गडकलाई बाघले आक्रमण गरेको थियो। सो बाघको आक्रमणमा परी गुडगाव बस्ने ३४ वर्षीय पुलिसराम थारूले ज्यान गुमाएका थिए।
पुलिसराम हात्तीबाट भुइँमा झरेको मौकामा बाघले उनीमाथि आक्रमण गरेको थियो। उनलाई बाघले आक्रमण गरी १५० देखि २०० मिटर टाढा लगेको थियो।
पछिल्लो समय बर्दिया राष्ट्रिय निकुञ्ज, मध्यवर्ति क्षेत्र र खाता जैविक मार्ग वरपर सिलसिलाबद्ध रूपमा बाघले मानिसमाथि आक्रमण गरेको थियो।
यस चालु आर्थिक वर्षमामात्रै बाघको आक्रमणबाट १० जनाले ज्यान गुमाएका छन्। जसमध्ये ३ वटा निकुञ्ज भित्र ५ वटा जैविक मार्ग क्षेत्रमा र २ वटा मध्यवर्ति क्षेत्रको जंगलमा भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग तथा राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ।
बर्दिया निकुञ्जले अहिले सम्म मान्छे खान पल्किएका ४ वटा बाघलाई नियन्त्रणमा लिएको छ।