सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-९ सुकुटेस्थित एक रिसोर्टको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको छ।
आइतबार राति रिभरबे र्याफ्टिङ रिसोर्टको स्विमिङ पुलमा डुबेर १९ वर्षीय युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए।
मृतक सिन्धुली फिक्कल गाउँपालिका घर भई काठमाडौं सिनामंगल बस्ने १९ वर्षीय सुशील भण्डारी छन्।
उनी आफ्ना साथीहरू दोलखामा फुटबल खेलेर बेलुकी साढे ८ बजे रिसोर्ट पुगेका थिए।
'उनीहरू ६ जना दोलखामा फुटबल खेल्न गएका रहेछन्। खेलेर रातिमात्रै रिसोर्ट पुगे। त्यसपछि खाजा खाएर स्विमिङ पुलमा गएको रहेछ,' प्रहरी उपरीक्षक अधिकारीले भने,'उनलाई स्विमिङ खेल्न नआउने रैछ। चार फिट मै खेलिरहेका थिए। पछि ६ फिटको गहिराइमा पुगे।'
६ फिटमा पुगेपछि उनी डुबे। सँगै खेलिरहेका साथीहरूले उनलाई निकाल्न खोजे पनि नसकेपछि रिसोर्टका कर्मचारीहरूले निकालेको उनले जानकारी दिए।
उनको उद्धार गरी स्थानीय अस्पताल पुर्याएको थियो। त्यहाँबाट चिकित्सकले भक्तपुर इन्टरनेशनल अस्पतालमा रिफर गरेका थिए। सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो।