महोत्तरीको भंगाहा नगरपालिका-८ धर्मटोलका सात जना किशोरी/युवती मंगलबार दिउँसो २ बजे सामूहिक रुपमा ‘घाँस काट्न’ भन्दै घरबाट निस्किएका थिए।
११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगिना पासवान र २० वर्षीया अस्मिता पासवान एकै ठाउँका नातागोताभित्रका हुन्।
खुला चउर र खेतमा ‘घाँस काट्न’ भन्दै निस्किएका उनीहरू साँझ अबेरसम्म घर फर्केनन्।
छिमेक आसपासका छोरीचेली ढिलोसम्म घर नआएपछि परिवार र छिमेकीले प्रहरीलाई खबर गरे।
यो खबर नेपाल प्रहरी हुँदै सशस्त्र प्रहरीमा पुग्दा मंगलबार राति ८ बजिसकेको थियो।
दुबै प्रहरीले लख काटिसकेका थिए- उनीहरूलाई सीमापारि पुर्याइन सक्छ।
भारतसँग सीमा जोडिएका तराईका जिल्लामा यस्ता घटना हुने गरेका छन्। हुन पनि तराईका किशोरी र युवतीलाई प्रलोभनमा पारेर घरेलु कामदारका रुपमा वा कमाइको लोभ देखाएर भारत पुर्याइने भइरहेकै थियो।
केही समयअघि चार जना युवतीलाई सशस्त्र प्रहरीले सीमाबाट फर्काएको पनि थियो।
सीमा सुरक्षाको सबै जिम्मेवारी पाएको सशस्त्र प्रहरी सात जना किशोरी/युवती बेपत्ता भएपछि ‘अलर्ट’ भयो।
उसले नेपाल प्रहरीसँग समन्वय गर्दै सीमाको आफ्नो युनिटलाई ‘सतर्क’ गरायो। सशस्त्र र नेपाल प्रहरीका दुबै टिम आपसी समन्वयमा सीमामा परिचालन भए।
बोर्डर आउट पोस्ट (बिओपी) मालिवाडा र नेपाल प्रहरीको सीमा प्रहरी चौकीका प्रहरी परिचालन भएर सिमा सिल गरे। दुबै प्रहरीले युवती/किशोरी बेपत्ता भएकोबारे भारतीय प्रहरीलाई पनि जानकारी गराए।
‘हामीले सीमा सिल गर्दा कोही फेला परेनन्, हराएकाहरू बोर्डर पार भइसकेका रहेछन्,’ प्रदेश २ का सशस्त्र प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतम भन्छन्।
नेपालका सुरक्षाकर्मीले सीमामा नभेटेका ती किशोरीलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले मंगलबार राति सीतामढीको रेल्वे स्टेशनमा फेला पारेको थियो।
एसएसबीले नियन्त्रणमा लिएपछि उनीहरूले ‘हामी दिल्ली हिँडेका’ भनिरहेका थिए। तथापि, उनीहरूका साथमा अन्य व्यक्ति फेला परेनन्।
‘उनीहरू एक्लै त पक्कै गएका हैनन्, केही न केही छ,’ डिआइजी गौतम भन्छन्, ‘यसबारे नेपाल प्रहरीले अनुसन्धान गरिरहेको छ।’
एसएसबीले सोध्दा सातै जनाले भनेका थिए- हामी गीत र नाच्न सिक्न दिल्ली हिँडेका हौं।
उनीहरूको घर र नेपाल-भारत सीमा करिब ४० किलोमिटर टाढा हो। उनीहरू महोत्तरीकै नाका भएर भारत छिरेको आशंका छ। त्यहाँको सीमामा मालिवाडा, मटिहानी, सन्सीलगायत नाका छन्।
हराएको र भेटिएको समय तुलना गर्दा युवती-किशोरी यीमध्ये कुनै नाकाबाट भारत छिरेका हुन सक्ने आँकलन प्रहरीको छ।
‘यी सबै खुला बोर्डर क्षेत्र हुन्, किशोरी र युवती हराएको र भेटिएको समय विश्लेषण गर्दा उनीहरू अर्को जिल्लाको नाकाबाट छिर्न सक्दैनन् भन्ने हाम्रो बुझाइ हो,’ महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटा भन्छन्।
सापकोटाका अनुसार युवती/किशोरी राति रेल्वे स्टेसनमा अन्योलको परिस्थितिमा भेटिएका थिए। उनीहरूलाई त्यहाँबाट जाने गन्तव्यबारे थाहा थिएन।
‘केही केटीहरू यस्तो अन्योलग्रस्त अवस्थामा छन् भनेर त्यहीँका स्थानीय भारतीय नागरिकले खबर गरेपछि उनीहरूलाई एसएसबीले समातेको थियो, उनीहरू अनभिज्ञ अवस्थामा थिए,’ एसएसबीका अधिकृतलाई उद्धृत गर्दै सापकोटा भन्छन्, ‘उनीहरूलाई कसैले बोर्डर क्रस गराएर पारिको व्यक्तिको पर्खाइमा बस्नु भनेको पनि हुनसक्छ।’
उनीहरूको बीचमा मानव बेचबिखनमा संलग्न व्यक्ति छिरेको र हतार-हतार बोर्डर क्रस गराएको पनि हुनसक्ने अनुमान छ। तर, ‘रहस्य’ खुलिनसकेकाले किटान गर्न नसकिएको सापकोटा बताउँछन्।
नेपाल प्रहरीले यो घटनाबारे अनुसन्धान भइरहेको र युवती/किशोरीको वयान नलिइकन यसै भन्न नसकिने बतायो।
महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्य भन्छन्, ‘पीडित युवती/किशोरी नेपाल नआइकन र उनीहरूसँग कुरा नगरिकन हामीले भन्ने कुरा खासै केही पनि रहेन।’
उद्धार गरिएका युवती/किशोरीलाई नेपाल ल्याउन नेपाल प्रहरी, सशस्त्र प्रहरीका अधिकृतसाथ भंगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साह आफैं सीतामढी पुगेका थिए।
बुधबार मध्यराति उनीहरू युवती/किशोरी लिएर नेपाल फर्किएका छन्। युवती/किशोरीले घटनाबारे स्पष्ट बताइनसकेको नेपाल प्रहरीले जनाएको छ।
प्रहरी अन्योल रहेको यो घटनामा हल्ला चल्यो - किशोरी/युवती गीत-संगीत र नृत्य सिक्न आफैं भारत गए।
अचानक बेपत्ता भएका किशोरी/युवतीका परिवार कसैले पनि उनीहरू गीत-संगीत र नृत्यमा रुची राख्ने स्वभावका भएको बताएनन्। यसकारण घटना ‘रहस्यमय’ छ भन्ने आशंका बलियो छ।
आफन्तका अनुसार २० वर्षीया अस्मिता पासवान बाख्राका लागि घाँस ल्याउन भन्दै मंगलबार दिउँसो करिब २ बजे घरबाट निस्किएकी थिइन्।
घरमै बसेर सिलाइ-कटाइ गर्ने अस्मिताले आमा निर्मलादेवीलाई साथीहरूसँग ‘घाँस काट्न जान्छु’ भनेकी थिइन्।
उनी हँसिया र घाँस राख्ने ढकिया लिएर घरबाट हिँडेकी थिइन्।
निर्मलाका अनुसार यसअघि उनी कहिल्यै ‘घाँस काट्न’ भनेर घरबाहिर निस्केकी थिइनन्।
‘हाम्रो घरमा बाख्रा मात्रै छन्,’ निर्मलाले भनिन्, ‘बाख्रा चराउन म आफैं जान्थें र तर छोरीले साथीहरूसँग गएर घाँस ल्याउँछु भनेपछि रोकिनँ।’
निर्मलाका अनुसार अस्मिता सुरूदेखि नै आत्मनिर्भर बन्न चाहने स्वभावकी थिइन्।
भंगहाकै स्थानीय क्याम्पसबाट कक्षा १२ सम्म अध्ययन गरेकी उनले दुई वर्षअघि नेपाल प्रहरीको जवान पदमा भर्ना खुल्दा फारम भरेकी थिइन्। परीक्षा दिँदा उत्तीर्ण पनि भइन्। तर, हातमा ट्याटु खोपिएका कारण उनलाई प्रहरीले अन्तिममा अस्वीकार गर्यो।
प्रहरी जागिरको सपना पूरा नभएपछि उनले सिलाइ-कटाइको काम थालेकी थिइन्। यसकारण, अस्मिताको साथमा केही पैसा रहेको हुनसक्ने परिवारको अनुमान छ। र, त्यही पैसा लिएर उनी साथीहरूसाथ गइन् भन्ने आँकलन परिवारको छ।
‘प्रहरीमा जागिर नभएदेखि उनी घरमै बसेर गाउँका मान्छेहरूको कपडा सिलाउँदै आएकी थिइन्,’ निर्मलाले भनिन्, ‘उनले हामीलाई कहिल्यै केही भनिनन् कि मलाई गीत गाउने र गायिका बन्ने इच्छा छ भनेर।’
परिवारको भनाइबाट अनुमान लगाउन सकिन्छ - उनीहरूलाई भारत लैजान कसैले भूमिका खेल्यो।
प्रदेश २ मा मंगलबार बिदा दिइएको थियो। त्यसैले, स्कुल जाने किशोरी/युवती घरमै थिए र अस्मिता निस्केको समयमै अरू युवती/किशोरी सामूहिक रुपमा घरबाट ‘घाँस काट्ने’ बहानामा निस्किए।
धर्मपुरकै १४ वर्षीया रिया पासवान कान्छी बहिनी सञ्जनासाथ निस्केकी थिइन्। उनले हजुरआमालाई ‘घाँस ल्याउन जान्छु’ भन्दै बहिनीसाथै हिँडेकी थिइन्।
उनी निस्किएको समयमा रियाकी आमा सुनिताकुमारी घरमा थिइनन्। तरकारी किन्न बजार गएका बेला रिया बहिनी सञ्जनालाई लिएर हिँडेकी थिइन्।
सुनिताका अनुसार घाँस काट्न जाने भने पनि उनले हँसिया र घाँस राख्ने सामग्री बोकेकी थिइन्।
सुनिता भन्छिन्, ‘हजुरआमाले हँसिया लैजाऊ भन्दा पनि उनी केही नबोकी घरबाट निस्किएकी रहिछन्।’
रिया स्थानीय सामुदायिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत् थिइन्। पढाइ र घरको काममा रुची राख्ने उनले भारतसम्म पुग्ने निर्णय कसरी गर्न सकिन् भन्नेमा परिवार शंकित छ।
‘बिहानै ट्युसन पढ्न, त्यसपछि स्कुल जान्थिन् र फर्केपछि सरासर घरको काममा लाग्थिन्,’ सुनिताले भनिन्, ‘उनी जिम्मेवार थिइन्, बेलुकाको खाना आफैं पकाउँथिन्, घरमा रहेका गरगहना र पैसा उनकै जिम्मामा रह्न्थ्यो।’
उनका अनुसार रियाले घरका कोही सदस्यसँग आफू गायक बन्न चाहेको चर्चा कहिले पनि गरेकी थिइनन्।
प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंह भन्छन्, ‘उनीहरू आफ्नै मनले भारत पुगे भन्ने कुरा विश्वास गर्न सकिन्नँ, बाँकी कुरा अनुसन्धानपछि भन्न सकिन्छ।’