स्याङ्जा गल्याङ नगरपालिका-८ बंग्रान्तीका अमित परियार, सुनिल राना र गणेश गाहा साथीभाइ थिए।
एकै गाउँका साथी उनीहरू लु.अ.अ.फ. १०१२ नम्बरको ट्याक्टर चालाउँथे।
उनीहरू कालिगण्डकी नदीबाट ढुंगा-गिट्टी-बालुवा ओसारेर बेच्थे।
उनीहरूमध्ये २७ वर्षीय अमित चालक, २१ वर्षीय सुनिल र १९ वर्षीय गणेश सहचालक थिए।
सुनिल र गणेश सहचालक भएर ढुंगा-गिटी-बालुवा लोड अनलोड गर्ने काम गर्थे।
उनीहरूले त्यसरी लोड-अनलोड गर्दा एक टिपबापत ३५ सयसम्म लिन्थे।
चैत ५ गते उनीहरूले कालिगण्डकीबाट दुई टिप सामग्री ओसारिसकेका थिए।
तर, फेरि पनि उनीहरूले अर्को एक टिप बेच्ने सोचे।
बेलुकी तेस्रो टिप लिन जानुअघि उनीहरूले मदिरा सेवन गरे। त्यसपछि कालिगण्डकीबाट ढुंगा लोड गरेर उनीहरू फर्किँदै थिए।
प्रहरीका अनुसार फर्किँदा सहचालक दुई जना ट्याक्टरको दायाँ-बाँया बसेका थिए।
‘बाटोमा धेरै खाल्डाखुल्डी थिए। ट्याक्टर उफ्रिएपछि गणेश भुइँमा खसे,’ स्याङ्जाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक होविन्द्र बोगटी भन्छन्, ‘ट्याक्टरले गणेशलाई किच्यो, उनी गम्भीर घाइते भए।’
घाइते भएका आफ्नो साथीलाई उनीहरूले उपचारको लागि अस्पताल पुर्याएनन्।
बरू अमित र सुनिलले सल्लाह गरेर गणेशलाई नदीमा फाल्ने निर्णय गरे।
‘अमित र सुनिलले घाइते साथीलाई उठाएर ट्याक्टरको ट्रलीमा हालेर कालिगण्डकीको साखर घाटमा लिएर गए। त्यहाँ अमितले गणेशलाई काँधमा हालेर निकाले,’ उनले भने, ‘निकालेर उनले गणेशलाई कालिगण्डकी नदीको बीचसम्मै बोकेर लगेर फाल्दिए।’
साथीलाई बीच नदीमा फालेपछि दुबै जना ट्याक्टर छाडेर भागे।
भोलिपल्टसम्म ट्याक्टर साहु कहाँ पुगेन।
साहुले अमितलाई सम्पर्क गरे। सम्पर्क गर्दा अमितले ट्याक्टर बिग्रिएको र आफ्नी सासु बिरामी भएको हुँदा गाउँ गएको जानकारी गराए।
अमित रूपन्देही पुगेका थिए, सुनिल भने पाल्पा।
पाल्पा पुगेपछि भने सुनिलले घटनाबारे आफ्नी दिदीलाई बताए। घटनाबारे सबै कुरा दिदीले थाहा पाएपछि मात्रै प्रहरीले जघन्य अपराधबारे थाहा पाएको एसपी बोगटीले बताए।
‘एउटै गाउँका थिए उनीहरू। घटनाबारे बताएपछि दिदीलाई पीडा भएछ। उनले १०० मा फोन गरेर बताइन्,’ उनले भने, ‘पाल्पा प्रहरीको सहयोगमा हामीले सुनिललाई समात्यौं।'
सुनिल रानालाई प्रहरीले गत ८ गते नै पक्राउ गरेको थियो। सोही दिन प्रहरीले जिल्ला अदालतबाट सात दिन हिरासतमा राख्न अनुमति लिइसकेको थियो। उनीमाथि सोधपुछ गर्दा ५ गते भएको घटनाबारे प्रहरीलाई सबै बताए।
प्रहरीले घटनाबारे थाहा पाएपछि गणेशको शव पनि खोज्न थालेको थियो। त्यस्तै, मुख्य आरोपित अमितलाई खोजी पनि गरिरहेको थियो।
प्रहरीले पाल्पा क्षेत्रको कालिगण्डकीबाट ११ गते बिहान गणेशको शव फेला पार्यो। त्यसपछि प्रहरी निरीक्षकको कमाण्डमा अमितको खोजी थालिएको थियो।
अनुसन्धान गर्दा अमित रुपन्देहीमा रहेको भन्ने सूचना प्रहरीले पाएको थियो।
‘ट्याक्टर साहुबाट उनी रुपन्देही भागेको भन्ने सूचना आयो। त्यसपछि हाम्रो टोली खटिएर पक्राउ गर्यो,’ बोगटीले भने।
अमितलाई रूपन्देहीको वेलहियाको बोर्डरबाट भारत भाग्न लागेको अवस्थामा गत शुक्रबार १३ गते पक्राउ गरिएको हो। उनी आफ्नी श्रीमती र छोरीसहित भारत भाग्न खोजेका थिए।
उनीमाथि पनि पाँच दिन म्याद थप गरि अनुसन्धान अघि बढाएको छ।
‘कालिगण्डकीले बगाएपछि अत्तोपत्तो हुन्न भन्ने सोचेछन्। उपचार गराएको भए बाँच्न सक्थे। उनीहरूले अपराध लुकाउनको लागि अर्को ठूलो अपराध गरे,’ बोगटीले भने, ‘सुनिलले आफ्नी दिदीलाई नभनेको भए अलि ढिला थाहा पाइन्थ्यो। तर, अपराध लुक्दैन अपराधी समातिन्छ भन्ने कुरा यथार्थमा परिणत भयो।’
अमितले पनि आफूले गरेको अपराधबारे स्वीकारिसकेको बोगटीले बताए।
गणेशको शव जिल्ला अस्पताल पाल्पामा पोष्टमार्टमका लागि पठाएको छ।