शुक्रबार दिउँसो हुँदै गएपछि काठमाडौं उपत्यकावासीले आँखा पोलिएको अनुभव गर्न थाले। धुँवा र धुलो मिसिएको हावाले वायुमण्डल ढपक्कै भएको थियो।
नेपाली आकाशमा बाक्लो तुवाँलो लागेको छ। मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले नेपालको आकाशमा तुवाँलो लागेको छ।
केही दिनदेखि वायुमण्डलमा देखिएको धुलो र धुवाँका साथै नेपाल तथा भारतका केही स्थानमा लागेको डढेलोको धुवाँले मौसम बिग्रिएको महाशाखाले जनाएको छ।
नेपालको आकाशमा देखिएको वायु प्रदूषणका कारण चन्द्रमा रातो देखिएको छ। सूर्य पनि दिउँसै रातो देखिएको थियो।
दिउँसो ३ बजेपछि त काठमाडौंको भिजिबिलिटी यति कम भयो कि त्रिभुवन विमानस्थलमा जहाज अवतरण र उडान हुनै नसक्ने भयो।
पूर्वसचिव तथा मौसमविद् ऋषिराम शर्माले देशका विभिन्न भागमा भएको आगलागीको असर काठमाडौंमा परेको हुन सक्ने बताए।
गृह मन्त्रालयका अनुसार पछिल्लो साता देशका विभिन्न ११० भागमा आगलागी भएको छ। 'यो सिजन नै आगलागीको हो। अहिले काठमाडौं आसपासका क्षेत्रमा धेरै आगो लागेको छ। त्यही भएर यहाँको हावामा धेरै धुँवाको मिसिएको देखिन्छ,' शर्माले सेतोपाटीसँग भने,'वायुमण्डलको माथिल्लो तह न्यानो भइराखेकाले हावा सतहको वायुमण्डलमै रहेको छ।'
हेर्नुहोस् तस्बिरमा