सन् २०१९ को डिसेम्बर अन्तिममा चीनको वुहान सहरबाट फैलिएको कोरोनाले विश्वव्यापी महामारीको रूपमा लियो।
सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउन लागेको नेपाल पनि यसबाट अछुतो हुन सकेन। कोरोना विस्तारै फैलन थालेपछि सरकारले पहिलो पटक २०७६ साल चैत ११ गते देशव्यापी लकडाउनको घोषणा गर्यो।
सुरूमा एक साताका लागि घोषणा गरिएको लकडाउन क्रमशः थप्दै ५ महिना पुग्यो। यसबाट हरेक क्षेत्रमा नराम्ररी असर पर्यो।
काठमाडौंसहित सहरमा रहेकाहरू घर जानका लागि लागेको भीडदेखि भोकभोकै बसेकालाई खाना खुवाउने अभियान, पीसीआर परीक्षणको माग, आइसोलेसन निर्माण र राहत वितरण जस्ता कार्यक्रमका लागि गरिएका आन्दोलन भए।
हतारमा लकडाउन गरेर नागरिकका समस्यलाई पुरै वेवास्ता गरेको र सास्ती दिएको भन्दै सरकारको खुब आलोचना भयो ।
कोरोना कहरमा केही स्थानीय तह, कूटनीतिक नियोग, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतले खेलेको भूमिका प्रशंसनीय थियो।
बिस्तारै कोरोना संक्रमण कमि भएसँगै लकडाउन अन्त्य भयो। अवस्था सामान्य बन्न थाल्यो।
कोरोना कहरको एक वर्षमा खोप आयो र यसले विश्व भर नै खुसीको सन्देश दियो। नेपाललाई पनि भारतले १० लाख डोज खोप अनुदान दियो र कोभ्याक्स सुविधाको ३ लाख ४८ हजार डोज खोप आयो ।
यस बाहेक सरकारले भारतको सिरम इन्स्टिच्युटसँग २० लाख खोप किन्यो । जसमध्येको १० लाख डोज खोप मात्र आएको छ । सरकारले भारतसँग किनेको बाँकी खोप ल्याउन र चीनले अनुदानमा दिएको खोप ल्याउन सकेको छैन् । र अहिले खोप अभियान स्थगित गरिएको छ।
पछिल्लो समय पुनः विश्वमा कोरोना संक्रमण बढ्न थालेको छ। नेपालमा पनि सुरक्षा सतर्कता बढाइएको छ।
हेर्नुहोस् यस्तो रह्यो नेपालमा कोरोना काल: