महानगरीय प्रहरी परिसर ललितपुरका थुनुवाहरूका लागि 'किताब कर्नर'को सुरूआत भएको छ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख अतिरिक्त महानिरीक्षक (एआइजी) हरिबहादुर पालले 'किताब कर्नर'को उद्घाटन गरेका हुन्।
उनी परिसरका शाखा तथा हिरासतको निरीक्षण गर्न मंगलबार परिसर पुगेका थिए।
सोहीक्रममा उनले हिरासत कक्षभित्र थुनुवाहरूको लागि स्थापना गरिएको किताब कर्नरको उद्घाटन गरेका थिए। उनले केही किताबहरू प्रदान गरी उद्घाटन गरेको परिसरले जनाएको छ।
केही समयअघि ललितपुरको हिरासतमा रहेका केही थुनुवाहरूले पढ्नका लागि किताब मागेका थिए। परिसरकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्य हिरासत कक्षको निरीक्षणमा जाँदा उनीहरूले किताब मागेका थिए।
त्यसपछि एसएसपी बज्राचार्यले हिरासतमा बस्नेहरूका लागि किताब कर्नरको सुरूवात गर्नुपर्ने भन्दै किताब संकलन गर्न थालेकी थिइन्।
मंगलबार निरीक्षणपछि एआइजी पालले परिसर तथा मातहतका प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन दिएका थिए।
प्रहरीको आचरण व्यवहार असल हुनुपर्ने, नागरिकलाई छिटो छरितो र सहज सेवा प्रवाह गर्नमा जोड दिन निर्देशन दिएको परिसरले जनाएको छ।
यो पनि: हिरासतमा थुनुवाले मागे संविधान र कानुनका किताब