'काठमाडौंका एक लोकप्रिय विद्यार्थीले औषधि, डाइटिङ वा व्यायाम नगरी साताको १३ किलो वजन घटाउने अचम्मको विधि पत्ता लगाएकोमा उत्कृष्ट पुरस्कार प्राप्त गरे,' यो हेडलाइन एक अन्तर्वार्ताको हो। कतिपयले यस्तो लेखिएको देखेको पनि होलान्।
जसमा ग्रिन कफीबारे चर्चा गरिएको छ।
ती लोकप्रिय विद्यार्थी भने काठमाडौंकी काल्पनिक पात्र बिना घिमिरे हुन्।
अन्तर्वार्ता प्रकाशन गरिएको लिङ्कमा ग्रिन कफीको परीक्षणमा सहभागी बनेका व्यक्तिहरूको नतिजा भन्दै तस्वीरहरू पनि राखिएको छ। जसमा मोटो शरीर र दुब्लो शरीर भएका दुई तस्वीर राखिएका छन्।
झट्ट हेर्दा ग्रिन कफी खाएमा छिट्टै वजन घट्न सक्ने भनेर विश्वास दिलाउँछ।
त्यही अन्तर्वार्ताको लिङ्कमा एउटा लटरी पनि राखिएको छ। त्यस चक्रमा थिचेपछि हरेक व्यक्तिले ५० प्रतिशत छुट पाउँछ।
यसबारे शंका लागेपछि केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान अघि बढायो।
डेढ महिनाको अनुसन्धानपछि यो सब ठगी धन्दा चलाइएको रहेछ भन्ने पुष्टि भएको सिआइबीकी प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तले जानकारी दिइन्।
सिआइबीले यसरी जालझेलमा पारी ठगी गरेको भन्दै खुशीबुस्थित टिम वान सप्लायर्स प्रालिका सञ्चालक ४२ वर्षीय आशिष आचार्य र रूसी नागरिक इगोर कुट्सलाई बिहीबार पक्राउ गरेको हो।
शुक्रबार सिआइबीले पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गराएको हो।
एसपी पन्तका अनुसार उनीहरूले ग्रिन कफीबारे विभिन्न लिङ्कबाट विज्ञापन दिएका छन्। जसमा कुरा एउटै तर चर्चित व्यक्तिका तस्वीरहरूको प्रयोग रहेछ। केही विज्ञापनमा त डा. गोविन्द केसीको तस्वीर समेत राखिएको पाइएको एसपी पन्तले बताइन्।
'ग्रिन कफीको विज्ञापन हेर्दा विश्वास हुने खाल्को हुन्थ्यो,' एसपी गंगा पन्तले भनिन्।
उनका अनुसार यो कफी उनीहरूले नेपालको विभिन्न ठाउँबाटै प्रति केजी ९ सय ६० रुपैयाँमा किन्थे। त्यसपछि उनीहरूले प्रति किलो २० हजारदेखि ४० हजारसम्म बेच्थे। उनीहरूले कफी बेच्नलाई ६ जना डेलिभरी ब्वाइ समेत राखेका थिए।
यो कम्पनीमा २० जना कर्मचारी छन्। जसका सञ्चालक आशिष भए पनि यसका योजनाकार रूसी नागरिक इगोर कुट्स हुन्। इगोरले नै आशिषलाई तलब दिन्थे। इगोरले आशिषलाई सुरूआत महिनामा पाँच सय डलर दिने गरेका थिए।
उनैको योजनामा यसरी ठगी गरेको पाइएको एसपी पन्तले पत्रकार सम्मेलनमा बताइन्।
'सुरूमा ५ सय डलर तलब दिने गरेको रहेछ। पछिल्लो दुई महिनायता ६ सय डलर दिएको पायौं,' एसपी पन्तले भनिन्,'इगोरले आशिषको घरका कोठा प्रयोग गरे बापत पनि छुट्टै पैसा दिन्थ्यो।'
आशिष र इगोरबीच रूसमै चिनजान भएको थियो। रूसमा पढ्दा आशिषलाई एक रूसी पत्रकारले इगोरलाई चिनाएका थिए।
त्यसपछि उनीहरूले यसको व्यापार सुरू गर्न कम्पनी दर्ता गराएका थिए। आफूहरू ठगीमा परेको भन्दै अहिलेसम्म सिआइबीमा दुई वटा जाहेरी परेका छन्। तर आठ पीडितहरू प्रहरीको सम्पर्कमा आइसकेको सिआइबीले जनाएको छ।
उनीहरूबाट प्रहरीले १२ वटा बोरामा ६ सय ४४ किलोको ग्रिन कफी बरामद गरेको छ। त्यस्तै तयारी अवस्थामा राखिएको एक सय ग्रामको हरियो कफीका २ हजार ८ सय २२ प्याकेट र तीन लाख ९७ हजार रुपैयाँ पनि बरामद गरेको छ।
उनीहरूको कार्यालयमा प्रयोग हुने २५ वटा ल्यापटप पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
यस ठगी धन्दामा उनीहरूको नेटवर्क रूस र भारतसम्म पनि रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
उनीहरूविरूद्ध प्रहरीले काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाएको छ।