प्रहरीले गत बिहीबार बौद्ध, टुसालबाट बरामद गरेको पदार्थ 'अप्रशोधित युरेनियम' भएको राष्ट्रिय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले पुष्टि गरेको छ।
नास्टले उक्त पदार्थ 'युरेनियम २३८' भएको रिपोर्ट आइतबार महानगरीय प्रहरी कार्यालय, रानीपोखरीलाई बुझाएको हो।
'प्रहरीले बरामद गरेको पदार्थको विश्लेषण गर्दा यसमा युरेनियम २३८ को मात्रा भेटिएको रिपोर्ट आएको छ। यो भनेको अप्रशोधित युरेनियम हो,' नास्टका प्रवक्ता डा. सुरेशकुमार ढुंगेलले सेतोपाटीसँग भने, 'हामीले रेडिएसनको मात्रा जाँचेरै यो अप्रशोधित युरेनियम भएको पत्ता लगाएका हौं। तर प्रहरीले ल्याएको नमूनामा कति मात्रामा युरेनियम २३८ छ भन्ने कुरा आकलन गर्न सक्दैनौं। यो थाहा पाउन रेडियो केमिकल एनालाइसिसको खाँचो पर्छ। हामीकहाँ त्यस्तो गर्न सम्भव छैन।'*
उनका अनुसार साढे दुई किलो भनिएको वस्तुमा युरेनियम २३८ को मात्रा कति छ भन्ने थाहा नभए पनि खुला ओसारपसार गर्दा वातावरणीय र स्वास्थ्यलाई हानी गर्न सक्छ। शरीरभित्र गए क्यान्सरसम्म हुनसक्ने उनको भनाइ छ। यसलाई नेपालभित्रै प्रशोधन गरेर विष्फोटक पदार्थ बनाउन वा अन्य प्रयोजनमा ल्याउन सकिने सम्भावना पनि कम भएको उनले बताए।
प्रहरीले गत शुक्रबार नै उक्त पदार्थ युरेनियम भएको बताए पनि नास्टले पुष्टि गरिसकेको थिएन। उसले 'रेडिएसनको डोज असामान्य देखिएको वस्तु' मात्र भनेको थियो।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीले शुक्रबार पत्रकार सम्मेलन गरेर साढे दुई किलो युरेनियमसहित चार जनालाई सार्वजनिक गरेको थियो। विशेष सूचनाका आधारमा खटिएको टोलीले काठमाडौं महानगरपालिका- ६, बौद्ध टुसालबाट उक्त युरेनियम बरामद गरेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) हरिबहादुर पालले बताएका थिए।
उनका अनुसार नेपालमै पहिलो पटक युरेनियमसहित मानिसहरू पक्राउ गरिएको हो।
'नास्टले युरेनियम २३८ नै हो भन्ने रिपोर्ट दिएको छ। त्यसमा कति मात्राको युरेनियम छ भनेर जाँच्न नास्टले रेडियो केमेस्ट्री गराउन सुझाव दिएको छ,' एआइजी पालले भने, 'अब यो युरेनियमलाई के गर्ने भन्नेबारे अदालतले निर्णय गर्छ। हामीले अनुसन्धान सकेर अदालतमा बुझाएपछि यसलाई के गर्ने भन्ने निर्णय होला।'
पक्राउ पर्नेमा रामेछाप, लिखु तामाकोशी-५ बस्ने ४० वर्षीय नारायणसिंह तामाङ, बौद्ध बस्ने ४० वर्षीय जानुका तामाङ, रामेछापका २० वर्षीय प्रकाश चौहान र सिन्धुली बस्ने २० वर्षीय मनोज न्यौपाने छन्।
रानीपोखरीका प्रहरी उपरीक्षक (एसपी) सुशीलसिंह राठौरका अनुसार उक्त युरेनियम प्रहरीले बौद्धको घरबाट बरामद गरेको हो। पक्राउ परेका व्यक्तिहरूले २०-२५ वर्षअघि नै भारतबाट ल्याएर राखेको र अहिले बेच्न लाग्दा सार्वजनिक भएको प्रहरीको भनाइ छ।
एसपी राठौरले बरामद गरिएको युरेनियमबारे जानकारी दिँदै भने, 'यो कच्चा युरेनियम हो। यसको प्रशोधन हुन बाँकी छ। यसलाई युरेनियम २३८ भनिन्छ, प्रशोधन गरेपछि २३५ हुन्छ। शुद्ध युरेनियमको बजार मूल्य १० ग्रामको २० लाख ९ हजार अमेरिकी डलर हुन्छ। नेपाली मूल्य करिब १८ करोड पर्छ।'
प्रहरीले सुरूमा आफैं कारोबारी बनेर डेढ अर्बमा युरेनियम किन्ने डिल गरेका थिए। त्यही डिलअनुरूप युरेनियम किन्ने बहानामा बौद्धको घरमै गएर बरामद गरिएको थियो। त्यसको परीक्षण निम्ति नास्टमा पठाइएको थियो।
अदालतले पक्राउ परेकाहरूमाथि विस्फोटक पदार्थसम्बन्धी ऐनअनुसार पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
*सच्याइएको