वेगबहादुर तामाङ आफ्ना खुट्टाको भरमा दौडिन सक्दैनन्। दुइटा बैसाखी टेकेर हिँडडुल गर्ने भए पनि उनको वेग थामिएको छैन। स्कुटरमा सरर आफू मात्र होइन, अरूलाई समेत हुइँक्याउँछन् उनी।
वेगबहादुर पठाओ चालक हुन्। उनको स्कुटर अरूको जस्तो दुइटा पांग्रा भएको होइन, चार पांग्राको छ। जावलाखेल बस्ने उनी दैनिक यही स्कुटरमा पठाओमार्फत यात्रुलाई गन्तव्यसम्म पुर्याउँछन्।
'हामीजस्ता चार पांग्रे स्कुटर चलाउन सक्नेका लागि पठाओ ठीक लाग्छ। कसैको भर पर्नु पर्दैन। कसैसँग हात जोड्नु पनि परेन। आफ्नो यात्रा सहज हुनु त छँदैछ, कमाइ पनि हुने,' २३ वर्षीय उनले भने, 'आफू हिँड्न नसके पनि अरूलाई गन्तव्यसम्म पुर्याइदिन पाउँदा खुसी लाग्छ।'
तर चारपांग्रे स्कुटरलाई यात्रु पाउन अरूलाई जस्तो सहज छैन। चारपांग्रे स्कुटर लिएर आएका चालक देख्नासाथ धेरैलाई अनौठो लाग्ने उनी बताउँछन्।
'चार पांग्रे स्कुटर देख्नासाथ धेरैको सोच नकारात्मक भइदिने रहेछ,' उनले आफ्नो बैसाखी कुर्सीको छेउमा राख्दै भने, 'पठाओमा पहिलो दिनको काममै मेरो शारीरिक अशक्तता देखेर पहिलो ग्राहकले नै राइड क्यान्सिल गर्नुभएको थियो।'
पठाओमा आवद्ध हुँदा कार्यालयले उनलाई हेलमेट र खादा लगाएर स्वागत गरेको थियो। यसले उनलाई काम गर्ने ऊर्जा थप्यो। तर यात्रुको दृष्टिकोण देखेर उनलाई पहिलो दिनै काम छोड्न मन लागेको बताउँछन्।
'खासमा काम गर्ने वातावरण नै थिएन,' विगत सम्झिँदै उनले भने, 'हामीलाई सधैं अर्काको भर पर्ने भनेर सोचिन्छ, अनि हाम्रो भर पनि कहिल्यै गरिन्नँ। तर मैले हार मानिनँ। पठाओका अरू दाइहरूले पनि केही हुँदैन, हरेस नखाऊ भनेर सम्झाउनुभयो। गाह्रो थियो तर हिम्मत हारिनँ।'
यही अठोटका कारण पठाओमा वेगबहादुरले दुई वर्ष बिताइसके।
पठाओका साथै उनी रोलिङ प्लान कन्सल्टेन्सीमा काम गर्छन्। कामसँगै पढाइ र खेलकुदमा पनि सक्रिय छन्। हाल पाटन क्याम्पसमा स्नातक गरिरहेका वेगबहादुर सरकारको अनुमति प्राप्त 'जावलाखेल ह्विल चेयर स्पोर्ट्स क्लब'का बास्केटबल खेलाडी हुन्।
वेगबहादुरको घर धादिङ हो। उनको खुट्टामा सानैदेखि समस्या थियो। उनका अनुसार उनी ९-१० महिनाका हुँदा नै खुट्टा सुक्दै गयो, लुलो भयो।
'घरबाट झारफुक, धामीझाँक्री गराउन लगे। केही प्रगति भएन,' उनले भने, 'खुट्टा राम्ररी चल्दैन थियो। त्यसैले स्कुलमा साथीहरू खुट्टाले हानेर फुटबल खेल्थे, मैले हातले हानेर खेल्नुपर्यो।'
जसोतसो उनले धादिङ, गाउँमै बाल्यकाल बिताए। खुट्टामा के भएको हो, भेउ पाउन सकेका थिएनन्। ठीक हुने संकेत नदेखेपछि उपचार गराउन उनी २०६६ सालमा काठमाडौं आए।
'यहाँ आएर उपचार गराउँदा पो बल्ल थाहा भयो समस्याबारे,' खुट्टालाई हातले सोझ्याउँदै उनले भने, 'पोलियो भएको रहेछ।'
हिँडडुल गर्न सजिलो होस् भनेर उनले कक्षा १२ सकिने बितिक्कै स्कुटर किने।
'आफूलाई यताउता जानुपरे साधनबिना नहुने। ट्याक्सी चढ्नै नसकिने,' उनले आफ्नो स्कुटर देखाउँदै भने, 'यो स्कुटर जसोतसो ऋण लिएर किनेँ। अनि धेरै सजिलो भयो। धन्न सरकारले चारपांग्रे स्कुटर किन्दा कर र भन्सार शुल्क छुट दिन्छ। त्यसैले पनि अरूको दाँजोमा सस्तो पर्यो र किन्न सकेँ।'
लकडाउनका बेला पुरानो अफिसमा आधा तलब दिन थालेपछि उनले पठाओमा अझै सक्रिय भएका हुन्।
'अहिले प्रायः बेलुकी साढे पाँच बजेदेखि राती साढे दस बजेसम्म पठाओमा काम गर्छु,' अड्कल गर्दै भने, 'दिनको ५००-६०० रूपैयाँ, हेरीहेरी कमाइ हुन्छ।'
पठाओमा काम गरेदेखि उनले पेट्रोल र खाजा खर्च यो कामबाटै उठाउँदै आएका छन्। तर अहिले पठाओ चालक धेरै हुन थालेपछि यात्रु थोरै भेटिने गुनासो उनले पोखे।
अहिलेसम्म धेरैखाले मानिसलाई आफ्नो स्कुटरमा सयर गराइसकेको अनुभव सुनाउँदै उनले भने, 'धनी-मध्यम वर्गीय, राम्रो-नराम्रो सबै किसिमका मानिसलाई मेरो चारपांग्रे स्कुटरमा राखिसकेँ। केहीले नराम्रो नजरले हेरेर राइड क्यान्सिल गरे पनि धेरैले राम्रो काम गरेकोमा प्रोत्साहन गर्नुहुन्छ।'
आफूले मिहिनेत गरे सबै कुरा सम्भव छ भन्ने कुरालाई उनी जोड दिन्छन्। अल्छी गरेको भए वा अघि नसरेको भए यहाँसम्म आइनपुग्ने उनको भनाइ छ।
'म जस्तै अपांगता भएका व्यक्तिहरू सुतेर बस्नुभएको छ भने बाहिर निस्किनु। पठाओजस्तै मान्छे बोक्ने ठाउँसँग जोडिनु,' उनले भने, 'आफूले केही कुरा जानिन्छ, अवसर मिल्छ र अरूमा निर्भर भएर बसिरहनु पर्दैन।'