इलामको माई नगरपालिका- १० की धनमाया तिम्सिना ८६ वर्षकी भइन्। बाँचेको यो जुनीको झन्डै आधा समय धनमायाको मनमा एउटै कुरा गढिरह्यो। जेठो छोरो कुनै साँझ टुप्लुक्क घर आइपुग्छ कि भनेर उनले बाटो हेरिरहिन्।
हिउँद बिते, बर्खा सकिए। धनमायाको कपाल फुल्न थाल्यो, अनुहारमा चाउरी पर्यो तर उनका जेठा छोरा दुर्गाप्रसाद तिम्सिना घर फर्किएनन्। तै पनि उनले बाटो हेर्न छोडिनन्।
४० वर्षपछि अहिले धनमायामा आश पलाएको छ- कलिलैमा घरबाट हिँडेको छोरो अब घर आउँदै छ रे भन्ने कुरा चलिरहेको छ।
इलामको एकतपा गाउँका दुर्गाप्रसाद ७ वर्षको हुँदा बुवा बिते। त्यसको सात वर्षपछि आमा धनमायाको हात भाँचियो। उनको दायाँ हात कुहिनाभन्दा तल काटेरै फाल्नु पर्ने भयो।
बालखमै बुवा गुमाएका दुर्गाप्रसादकी आमाको दाहिने हात पनि नरहेपछि घरको जिम्मेवारी उनकै काँधमा आयो। २० वर्षको हुँदा उनी देश-विदेश गर्छु, आमा र भाइबहिनीलाई पाल्छु भनेर घरबाट निस्किएछन्।
'उहाँ घरबाट मंगलबारेमा तोरी बेच्न जान्छु भनेर निस्कनुभएछ,’ उनका काकाका छोरा प्रकाशचन्द्र शर्मा तिम्सिनाले बिहीबार सेतोपाटीसँग भने,‘केही दिन फर्किनु भएन। उता मंगलबारेमा आफन्तहरू हुनुहुन्थ्यो। परिवारलाई त्यतै बस्नुभयो कि भन्ने भएछ। दुई-तीन महिनामा पनि दाइ फर्किनु भएन।’
लामो समयसम्म दुर्गाप्रसाद घर नआएपछि आफन्तले खोजी थाले। त्यतिबेला अहिलेजस्तो हातहातमा मोबाइल थिएनन्। प्रहरीलाई खबर गरे। आफन्तलाई भने। कहीँबाट पनि उनी कहाँ छन् भन्ने मेसो पाउन सकिएन।
'त्यतिबेला दार्जिलिङमा गोर्खाल्यान्डको आन्दोलन चलिरहेको थियो। त्यहाँ कतै आन्दोलनमा मर्नुभयो होला भन्ने सोच्यौं,’ प्रकाशचन्द्रले भने,‘मरेको टुंगो नभएकाले कुनै दिन फर्किनुहुन्छ कि भनेर काजकिरिया भने गरेका थिएनौं।’
देशभित्र कहीँ नभेटिएपछि अरू आफन्तले उनलाई बिर्सिए। भाइबहिनी पनि आफूले सकेजसरी जीवन चलाउन थाले।
यसैगरी बिते ३२ वर्ष।
२०६९ सालमा एउटा चिठी आयो उनको घरमा।
त्यो पत्रमा उनको नाम दीपक जैसी लेखिएको थियो। बुवाआमाको नाम पनि लेखिएको थियो।
'दाइलाई घरमा दुपट भन्दा रहेछन्। अनि भारतीय प्रहरीले जात के हो भनेर सोध्दा उहाँले जैसी बाहुन भएकाले जैसी भन्नुभएछ। प्रहरीले उहाँको नाम दीपक जैसी टिपिदिएछ,’ प्रकाशचन्द्रले भने।
त्यही पढेर थाहा भयो-यता धनमायाले बिहान-बेलुका बाटो हेरिरहेका दुर्गाप्रसाद त पश्चिम बंगालका विभिन्न जेलमा सरूवा भइरहेका छन्। र अन्तिममा कलकत्तास्थित दमदम केन्द्रीय कारागारमा पुगेका छन्।
घरबाट निस्केका दुर्गाप्रसाद दार्जिलिङको एउटा चिया बगानमा काम गर्न थालेछन्। एकदिन चिया बगानमा एक जना महिलाको शव भेटियो। अरू कामदार सबै कामदार अफिसमा गए। दुर्गाप्रसाद डराएर भागेछन्।
'अनि यसैले मारेको हो भनेर प्रहरीले उहाँलाई पक्रेर लगेछ,’ प्रकाशचन्द्रले भने,‘शंकाको भरमा पक्रेर लगेका उहाँलाई कहिल्यै पनि अदालत लगिएनछ।'
त्यो दिन ठ्याक्कै के भएको हो भन्ने अहिलेसम्म यकिन भएको छैन।
विदेशी भूमिमा दुर्गाप्रसादबारे बोलिदिने कोही भएन। उनलाई कहिले दार्जिलिङ, कहिले बहरमपुर जेल, कहिले अलिपुर जेल त कहिले मनोरोग चिकित्सालय हुँदै उनी दमदम केन्द्रीय जेलमा पुगेका रहेछन्।
'त्यो चिठी आएपछि २०७० सालको दशैं र तिहारको बीचमा हामीले कलकत्ता गएर उहाँको खोजी गर्ने भनेका थियौं। तर त्यहीबीचमा मलाई साथ दिने दाइ र भिनाजु दुबै जना आफन्त बित्नुभयो,’ स्थानीय विद्यालयमा शिक्षक रहेका प्रकाशचन्द्रले भने,‘जान पाइएन।’
कलकत्तामा सहयोग गर्छु भनेका वकिलको सम्पर्क नम्बर पनि हराएछ।
'एक जना दार्जिलिङको वकिलले सहयोग गर्छु भन्नुभएको थियो। उहाँको नम्बर हरायो। फेरि हामी खोज्न जान पाएनौं,’ प्रकाशचन्द्रले भने।
२०७६ मा ती वकिलसँग फेरि सम्पर्क भयो। उनीहरू कलकत्ता जाने तयारी गर्दै थिए। लकडाउन भयो। योजना फेरि सफल हुन पाएन।
गत नोभेम्बरमा फेरि प्रकाशचन्द्रलाई फोन आयो। उनका दाइ दुर्गाप्रसाद दमदम जेलमा छन् र उनलाई ल्याउनु पर्छ भनेर।
यतिबेला यो दुर्गाप्रसादको खबर सोही जेलमा परेका एक जना व्यक्तिले बाहिर ल्याएका रहेछन्।
माओवादीसँग सम्पर्क भएको आरोपमा जेल परेका राधेश्याम दास गत वर्ष फेब्रुअरीमा दमदम कारागारमा स्थानान्तरण भएका रहेछन्। त्यही बेला उनले दुर्गाप्रसादसँग भेटे। उनलाई जेलमा मानसिक अवस्था ठिक नभएको व्यक्ति भनेर राखिएको रैछ।
'जब मलाई दमदम जेलमा लगियो त्यहाँ फेरि दीपकजीसँग मेरो भेट भयो। जेलमा जो मानिस मानसिक रूपले अस्वस्थ हुन्छन् म स्वेच्छाले उनीहरूसँग परिचय गर्छु। दीपकसँग पनि परिचय गरें। कुरैकुरामा थाहा भयो कि उहाँ ४० वर्षदेखि जेलमा हुनुहुन्छ तर उहाँको मुद्दामा कुनै सुनुवाइ भएको छैन,’ दासले बिबिसी हिन्दीसँग भनेका छन्।
जेलबाट जमानतमा छुटेपछि दासले दुर्गाप्रसादमाथि भएको अन्यायबारे पश्चिम बंगाल एमेच्योर रेडियो क्लबसँग सम्पर्क गरे।
यो ह्याम रेडियो अपरेटरहरूको संगठन हो। ह्याम रेडियो अपरेटरहरूको संसारभरि नेटवर्क छ। उनीहरू वायरलेस रेडियोबाट आफूजस्तै रूची भएका मानिसहरूसँग यसबाट कुरा गर्न सक्छन्।
पश्चिम बंगाल एमेच्योर रेडियो क्लबका सचिव अम्बरिश नाग विश्वासले दमदम जेलमा सम्पर्क गरे।
'हामीले जेल कार्यालयमा सम्पर्क गर्यौं। उनीहरूले सुरूमा त विश्वास नै गरेनन्। पछि खोज्दै जाँदा दीपक जोशी नामका एक कैदी सन् १९८१ देखि जेलमा बन्द छन् र उनका बारेमा कुनै सुनुवाइ भएको छैन,’ विश्वासले बिबिसी हिन्दीसँग भनेका छन्।
विश्वास र उनको क्लबका केही मानिसले दुर्गाप्रसादसँग भेट्न खोजेका थिए। तर परिवारको सदस्य नभएकाले उनीहरूलाई जेलले अनुमति दिएन।
कलकत्ता उच्च अदालतका वकिल भएकाले हिरक सिन्हाले भने उनीसँग भेट्न पाए।
त्यसपछि उनीहरूले कलकत्तास्थित नेपाली महावाणिज्य दूतावासमा सम्पर्क गरे र दुर्गाप्रसादका बारेमा सबै कुरा बताए।
नेपालमा उनको परिचय पत्ता लगाउन उनीहरूले वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेललाई सम्पर्क गरे।
खरेल पनि ह्याम रेडियो अपरेटर हुन्। विश्वास र उनको क्लबले पूर्वमुख्यन्यायाधीश विदुरविक्रम थापालाई पनि चिठी लेखेका थिए।
'नेपालमा ह्याम रेडियोको लाइसेन्स लिन म पहिलो व्यक्ति हुँ। त्यही भएर उनीहरूले मलाई सम्पर्क गरेका रहेछन्,’ अधिवक्ता खरेलले सेतोपाटीसँग भने,‘मलाई पनि ती नेपालीलाई अन्याय परेको रहेछ भन्ने लाग्यो। र सोधीखोजी सुरू गरें।'
ती नेपालीलाई सुरूमा पक्राउ गरियो। अनुसन्धानका क्रममा उनी अपराधमा संलग्न छैनन् भन्ने थाहा भयो।
'उनको मानसिक अवस्था अलि ठिक नभएकाले छोड्न ढिलाइ भएछ। त्यसपछि हाकिम फेरिए। पहिलाका हाकिमले जेलमा राखेकाले अरूले पनि उनलाई छोडेनछन्,’ खरेलले भने।
दुर्गाप्रसादबारे लेखक/स्तम्भकार केदार शर्मालाई जानकारी दिए। शर्मा इलामकै भएकाले उनी पनि खोजीमा लागे। स्थानीय एफएमहरूमा सूचना बजाए।
यो कुरा गत नोभेम्बरमा मात्र प्रकाशचन्द्रसम्म कुरा पुगेछ।
'पहिला पनि कुरा भएको थियो। दमदम जेलमा रहेको मान्छे भनेर फोन आएपछि मैले दाइ हो भन्ने थाहा पाइहालें,’ प्रकाशचन्द्रले भने,‘त्यसपछि यताको प्रक्रिया सुरू गरें।'
जिल्ला प्रशासन कार्यालयबाट आफ्नो नाता प्रमाणित गरेर, ठूलीआमाको नागरिकता लिएर फागुन ७ उनी दुर्गाप्रसादका भाइका छोरालाई लिएर कलकत्ताका गए।
उनलाई कलकत्तासम्म पुर्याउन र त्यहाँ भाषालगायत अन्य सहयोग विश्व सेवा विस्तार मञ्चका प्रतिनिधिले गरेका थिए।
फागुन ११ गते दमदम कारागार उनको भेट दुर्गाप्रसादसँग भयो।
'उहाँको मानसिक अवस्था ठिक छैन भन्थे। मैले उहाँलाई सबै सोधें। भाइ बहिनीको नाम पनि सबै मिलाउनु भयो। उहाँको र मेरो घर जाने बाटोमा पनि कहाँनेर के थियो सबै भनेपछि म ढुक्क भएँ, उहाँ मेरै दाइ हो भनेर,’ प्रकाशचन्द्रले भने।
त्यहाँका जेलर यी दुई दाजुभाइको फोटो पनि खिचेर राखे।
मुद्दा अदालतमा सुनुवाइ भएपछि उनको रिहाइ हुने आश्वासन पाएपछि प्रकाशचन्द्र इलाम फर्किएका छन्।
उनी फर्किएको दुई सातापछि दुर्गाप्रसादको मुद्दामा बुधबार कलकत्ताको उच्च अदालतमा सुनुवाइ भएको छ।
कलकत्तास्थित नेपाली महावाणिज्य दूतावासका अफिस सेक्रेटरी सतिश थापा पनि हिजोको सुनुवाइमा गएका थिए।
'हिजो मृतकका श्रीमानले त्यतिबेला दिएको उजुरीको कागजात रूजु गरिएको छ रे। अब मार्च १५ तारिखमा अन्तिम सुनुवाइ हुन्छ। त्यसपछि उहाँ छुट्नुहुन्छ भनेर वकिलले मलाई भन्नुभएको छ,’ थापाले टेलिफोनमा सेतोपाटीसँग भने।
दुर्गाप्रसाद जेलबाट छुटेपछि जिल्ला प्रशासन कार्यालयसँग सम्पर्क गरेर परिवारलाई जिम्मा लगाउने थापाले बताए।
दुर्गाप्रसाद छुट्छन् भन्ने कुराले धनमायालाई कम्ता खुसी लागेको छैन। ठूलो बुवालाई भेटेर आएका नातिलाई उनले सोध्ने गर्छिन्-सानालाई कहिले ल्याउँछन रे?
प्रकाशचन्द्रलाई भने दुर्गाप्रसाद छुटेरमात्रै न्याय मिल्छ भन्ने लाग्दैन।
'मैले भारतका प्रहरीलाई पनि सोधेको थिएँ। तिमीहरूको देशको कुन कानुनले एउटा मान्छेलाई यत्रो वर्ष थुन्यौ? तर उनीहरूले जवाफ दिन सकेनन्,’ प्रकाशचन्द्रले भने,‘मेरो दाइ अपराध नै नगरी जेल पर्नुभयो। उहाँ जेलमात्र पर्नु भएन, जिन्दगी नै बित्यो। बिहे, सन्तान त परको कुरा ब्रतबन्धसम्म भएको छैन। यो लापरबाहीको क्षतिपूर्ति त दिनुपर्छ होला नि।'
वरिष्ठ अधिवक्ता खरेल पनि दुर्गाप्रसादले क्षतिपूर्ति पाउनु पर्ने बताउँछन्।
'एक त उहाँलाई चालिस वर्षसम्म सुनुवाइ नै नगरी जेलमा राखियो। दोषी नै भएको भए पनि केही वर्षमा त छुट्नुहुन्थ्यो। कुनै पनि कानुनले यति लामो समय मानिसलाई थुन्न पाइन्न। यस्तो लापरबाही गर्नेले क्षतिपूर्ति दिनैपर्छ,’ खरेलले भने।
पूर्वमुख्यन्यायाधीश थापा र वरिष्ठ अधिवक्ता खरेलले दुर्गाप्रसादलाई क्षतिपूर्ति दिलाउने मुद्दा हाल्न भारतका वकिलहरूसँग छलफल गरिरहेका छन्।
'जेलबाट त उहाँ छुट्नुहुन्छ तर त्यतिले मात्र उहाँलाई न्याय मिल्दैन। उहाँलाई क्षतिपूर्ति दिलाउन हामीले नयाँदिल्लीका वकिल साथीहरूसँग कुरा गरिरहेका छौं,’ खरेलले भने।