प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइँदैछ।
बिहीबार दिउँसो २ः५२ बजेसम्म त्रयोदशी तिथि छ। त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ। चतुर्दशी तिथि शुक्रबार दिउँसो २ः५१ बजेसम्म छ।
मध्यरातमा चतुर्दशी तिथि बिहीबार परेकाले यसै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
यसैबीच, पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको छ। पशुपतिमा भक्तजनका लागि बिहान ४ बजेदेखि नै ढोका खुलाइएको थियो।
पशुपतिमा पूजाको लागि दर्शनार्थीको घुइँचो लागेको थियो। हिन्दुहरूका आराध्यदेव पशुपति नाथमा शिवरात्रिका दिन विशेष पूजा र भक्तिका लागि देशका विभिन्न भागका साथै भारतबाट समेत साधुसन्तहरू आएका छन्। मन्दिर परिसरका केहीले अनुहारमा शिवको पेन्टिङ समेत गरेका छन्।
यस वर्ष कोरोना महामारीको जोखिम कायमै रहेकाले आठ लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिनमात्र पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ।
यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि तीन वटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति, हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, बत्तिसपुतली–गौशाला, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल–तिलगङ्गा, पिङ्गलास्थान–सुमार्गीभवन अगाडिबाट चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोका हुँदै दक्षिणढोकाबाट दुई लाइन गरी बाहिरी रुपमा पशुपति मूल मन्दिर परिसर प्रवेश गर्नसक्ने व्यवस्था गरिएको जनाएको छ।
अर्को लाइन पश्चिममा वनकाली ओरालो हुँदै जुत्ताचप्पल कक्षबाट मूल मन्दिर प्रवेश गर्न सकिने गरी व्यवस्थापन गर्ने योजना बनाइएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताए।
आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्रर, डोलेश्वरलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लाग्छ। यसैगरी राजधानी बाहिरका शिव मन्दिरमा पनि धूमधामका साथ पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो हुन्छ।
तस्बिरहरू: