विकासको नाममा विस्थापित गरिएकाहरूको पुनर्स्थापना माग गर्दै सोमबार बालाजु बाइपास सडकमा खबरदारी सभा गरिएको छ।
बृहत नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति र नेवा देय् दबूको संयोजनमा सो सभा आयोजना गरिएको हो।
यसअघि काठमाडौं महानगरपालिका-१६ स्थित बालाजु बाइपास सडकमा सडक विस्तार गर्ने भन्दै ३९ घर भत्काइएको थियो।
३९ परिवारको घर विस्थापित भएकै ठाउँमा सभाको आयोजना गरिएको हो। ट्रकलाई मञ्च बनाएर स्थानीय पीडित, नागरिक अगुवाहरूले औंला ठड्याएर सरकारलाई खबरदारी गराए।
विकासका नाममा विनास भइरहेको र भाषामाथिको आक्रमण भएको भन्दै वक्ताहरूले त्यसविरूद्ध आवाज उठाए।
सडक विस्तारका पीडित महेश्वर मानन्धरले आफ्नो निजी सम्पत्तिको संरक्षण गर्दा प्रहरीले झुटो मुद्दामा हिरासतमा लिएको बताए।
महानगरपालिकाले सो सडक विस्तार गरेको क्षेत्रमा सूचना केन्द्र बनाउन लागेको छ।
सर्वोच्च अदालतले कुनै पनि निर्माणको काम नगर्नू भन्दै स्टे अर्डर गरेको थियाे। फागुन १२ गते केही स्थानीय पीडितले आफ्नाे जग्गामा बनाइएका जस्ताका बारहरू भत्काइदिएपछि प्रहरीले मानन्धरसहित ६ जनालाई नियन्त्रणमा लिएको थियो।
'हामीलाई १२ गते बिना कारण अभद्र व्यवहारको झुटो मुद्दामा फसाइयो। हामीले केही गरेका थिएनौं,' सूचना केन्द्र बन्दै गरेको क्षेत्रलाई संकेत गर्दै मानन्धरले भने,' तपाईंहरूले देख्नसक्नुहुन्छ यो जग्गामा जस्ताका बार लगाइएको छ। यो हाम्रो निजी सम्पत्ति हो। यसबारे अदालतमा बहस भइरहेको छ।'
'सम्पत्ति सुरक्षार्थका लागि हामीले बार भत्काइदियौं यो हाम्रो संवैधानिक हक हो। हाम्रो सम्पत्ति संरक्षण गर्नू संवैधानिक हक हो। हामीले त्यसै अनुरूप आफ्नो निजी सम्पत्तिमा लगाइएको बारहरू भत्कायौँ र हामीलाई भोलिपल्ट पुर्जी थम्याइयो।
त्यसैगरी सडक विस्तार पीडित आशामाया खड्गीले पनि सडक विस्तार गर्नू अघि पूर्व पश्चिम दुबै क्षेत्रमा तोकेको ७-७ मिटरको मापदण्ड किन कायम नगरेको भन्दै प्रश्न गरेकी छन्।
त्यस्तै नागरिक अगुवाको तर्फबाट नारायण वाग्लेले आफ्नो भनाइ राखेका थिए।
'श्रमिक महिलाको घर उजाडेर खरानी भएको ठाउँमा आज हामीले श्रमिक महिला दिवस मनाइरहेका छौं, अब हाम्रो आन्दोलनको जडमा कुनै पनि श्रमिक महिलाहरूको घर उजाडिने छैन,' उनले भने।
श्रमिक महिलाहरूको श्रमलाई राज्यले मुल्यांकन नगरेको उनले बताए।
त्यस्तै उनले काठमाडौं उपत्यका विकास प्राधिकरणको सट्टामा नेपाल मण्डल संरक्षण प्राधिकरण गठन गर्नुपर्ने बताए।
त्यसको लागि नेपाल मण्डलका बौद्धिकहरू जाग्नुपर्ने उनको भनाइ छ।