ललितपुरको बालकुमारी मन्दिर छेउमा केही समयअघिसम्म एउटा ठूलो खाल्डो थियो। झार उम्रेको र फोहोर फाल्ने ठाउँसमेत बनेको त्यो खाल्डो खासमा मल्लकालीन बालकुमारी पोखरीको अवशेष हो, जसलाई अब ललितपुर महानगरपालिकाले पुनर्निर्माण गरी पुरानै स्वरूपमा ब्युँताउँदैछ।
ऐतिहासिक महत्व बोकेका सम्पदा संरक्षण गर्ने अभियानअन्तर्गत बालकुमारी पोखरी संरक्षण गर्न लागेको ललितपुरका मेयर चिरिबाबु महर्जनले बताए।
'हामीले सम्पदा संरक्षणलाई सधैं प्राथमिकता दिएका छौं। केही समययता यहाँ धेरै पोखरी संरक्षण भएका उदाहरण छन्,' मेयर महर्जनले सेतोपाटीसँग भने, 'हामीले मिलेसम्मका ऐतिहासिक सम्पदा संरक्षण गरिरहेका छौं। अब बालकुमारी पोखरीको पालो छ।'
ललितपुर महानगरपालिका-८ मा रहेको यो पोखरी वडाकै रोहवरमा पुनर्निर्माण भइरहेको वडाध्यक्ष राजु महर्जनले जानकारी दिए।
उनका अनुसार, काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठमध्ये बालकुमारी मन्दिर एक प्रमुख शक्तिपीठ हो। यो मल्लकालभन्दा पुरानो मानिन्छ। मन्दिर जति पुरानो छ, पोखरी त्यति नै पुरानो मानिन्छ।
'मन्दिरको उत्तर-पश्चिममा रहेको यो पोखरीको स्थापना खुल्ने कुनै शिलालेख भेटिएको छैन,' उनले भने, 'तर मल्लकालीन नै हो भन्न हिच्किचाउनु पर्दैन।'
केही वर्षअघिसम्म पोखरीमा पानी भरिभराउ हुँदा वरपरका मान्छे मर्दापर्दा दाहसंस्कारको काम गरिन्थ्यो। बस्ती बढ्दै गएपछि पानी सुकेर झारले ढाकियो, ढल जम्मा भयो, माटोले पुरिएर पोखरी ठूलो खाल्डोमा परिणत भयो।
'नजिक ढुंगेधारा नभएको र बाग्मती नदी पनि टाढा भएकाले स्थानीयले घरायसी कामका लागि यही पोखरीको पानी प्रयोग गर्ने गरेको पाइएको छ,' वडाध्यक्ष महर्जनले भने, 'मर्दापर्दा अन्तिम संस्कारको काम यहीँ हुन्थ्यो। पानी नभएपछि घाट पनि रहेन।'
पोखरीको धार्मिक, सांस्कृतिक र सामाजिक महत्व थाहा हुँदाहुँदै लामो समय संरक्षण गर्न नसकिएको उनले बताए।
केही समयदेखि सम्पदा अभियन्ता र स्थानीय जुझारूहरूले मिलेर सफाइ थालेका थिए। झार फालेर ठाउँ खुला पारे पनि पोखरीले प्राण पाएको थिएन। महानगरले नै निर्णय गरेपछि पुरानै शैलीमा पुनर्निर्माण सुरू गरेको महर्जनको भनाइ छ।
सफाइ चरणमा रहेको पोखरीको ठ्याक्कै क्षेत्रफल थाहा नभएको उनी बताउँछन्। 'डेढ रोपनीभन्दा धेरै होला भन्ने हाम्रो अनुमान छ। सफा गरिसकेपछि नाप लिन्छौं,' उनले भने, 'पानी अडिन्छ कि अडिन्न भनेर पनि परीक्षण गरिनेछ।'
परीक्षणबाट पानी अडिने देखियो भने स्रोत खोजेर पोखरी भरिने उनले बताए।
अहिले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत स्थानीयलाई दैनिक ज्यालादारीमा सफाइमा खटाइएको छ। महानगरका कर्मचारीले पनि मिलेर काम गरिरहेका छन्।
'दुवैतिरका दैनिक ९–१० जना सफाइमा जुट्नुभएको छ,' उनले भने, 'छिट्टै काम सकिन्छ।'