अहिले नेपाल प्रहरीमा २० वर्ष जागिर खाएपछि पेन्सन हुने व्यवस्था छ। पहिले १६ वर्ष थियो। सेनामा १६ वर्ष नै छ।
माथिल्लो दर्जामा रहेकाहरू त रिटायर्ड हुञ्जेलसम्म ३० वर्षसम्म नै सेवामा रहन्छन्।
उनीहरूसँग उच्च पदमा पुग्ने प्रतिस्पर्धा हुन्छ। तुलनात्मक रूपमा सेवा सुविधा बढी हुन्छ।
पेन्सन भएपछि तल्लो दर्जाका प्रहरीहरूको तलब-सुविधा आधामात्र हुन्छ। हवल्दार-जवानको त अत्यन्तै कम हुन्छ।
त्यसैले प्रहरीका धेरै हवल्दार-जवानहरूले पेन्सन भएपछि जागिर छोड्ने गरेका छन्।
यो अवधिमा जागिर छोड्दा उनीहरू युवा नै हुन्छन्। ४०-४२-४५ वर्षको उमेरमा उनीहरू पुन: जागिर खोज्न भौंतारिरहेका हुन्छन्।
धेरैजसो त खाडी मुलुकमा सेक्युरिटी गार्डको रूपमा काम गर्न जान्छन्।
कोही बैंकमा सेक्युरिटी गार्डको रूपमा काम गर्न प्रतिस्पर्धामा हुन्छन्। कोही भने जहाँ सुरक्षागार्डको काम पाइन्छ, त्यहाँ काम गर्नुपर्ने बाध्यतामा रहन्छन्।
जागिर खाँदा उनीहरूले अन्य कुनै अतिरिक्त सीप आर्जन गर्न नसकेका कारण काम खोज्न भौंतारिनुपर्ने बाध्यता नै छ।
स्याङ्जा प्रहरीले भने भोलि-पर्सी पेन्सन भएर घर फर्किने हवल्दार-जवानलाई सीप सिकाउन थालेको छ।
कम्तीमा जागिर छोडेपछि पनि सीपयुक्त भएर उनीहरूले जागिर खान सकून् भनेर हवल्दार-जवानलाई तालिम दिन थालिएको हो।
जिल्ला घरेलु तथा साना उद्योग कार्यालयको प्राविधिक तथा आर्थिक सहयोगमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले ४५ दिनको इलेक्ट्रिसियन तालिम सुरू गरेको छ।
फागुन १६ गतेदेखि सुरू गरिएको तालिममा २२ जना प्रहरी सहभागी छन्। जसमध्ये जिल्ला प्रहरी कार्यालयमा कार्यरत् २० जना हवल्दार-जवान र अन्य दुई जना रिटायर्ड भएका स्याङ्जाकै हवल्दार छन्।
प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार उनीहरूलाई प्रहरी कार्यालयकै प्रशिक्षण हलमा तालिम दिने गरिएको छ। तालिमको समय बिहान दुई घन्टा छुट्याइएको छ।
‘ड्युटीमा अफ्ठेरो नपर्ने गरी तालिमको समय मिलाइएको छ,’ बोगटीले सेतोपाटीसँग भने।
प्रमुख जिल्ला अधिकारी शंकर बस्नेतले उद्घाक्टन गरेको यो तालिमपछि उनीहरूले घरेलु तथा साना उद्योग कार्यालयबाट प्रमाण-पत्र पाउँछन्। आधिकारिक निकायबाट प्रमाण-पत्र हात लाग्दा उनीहरूलाई रिटायर्डपछि जागिर पाउन सजिलो पनि हुन्छ भन्ने विश्वास लिइएको बोगटी बताउँछन्।
‘एउटा दुई तले घरमा वायरिङ गर्दा ५०-६० हजार रुपैयाँ आम्दानी हुँदो रहेछ,’ बोगटीले भने, ‘सीप सिकेको व्यक्तिले सजिलै काम पायो, विदेश जानु पनि परेन।’
खाडी मुलुकमा जाँदा धेरै नै दु:ख-कष्ट पाएको गुनासो आउने गरेका छन्। त्यस्ता गुनासोलाई पनि यस्तो सीपले न्यूनीकरण गर्न सहयोग गर्ने बोगटीको भनाइ छ।
‘प्रहरीमा साधारण लेखपढ भएका सिपाही-हवल्दार निवृत्तिको मुखमा छन्। बिसौं वर्ष संगठनमा काम गरेर घर फर्किएपछि पनि अर्काको देशमा गएर जुत्ता बजार्नुपर्ने बाध्यता छ,’ बोगटीले भने, ‘रात्रिकालीन व्यवसाय हुने ठाउँमा अनैतिक गतिविधि नियन्त्रण गर्न जाने प्रहरी जागिर छोडेपछि त्यसैको ढोकामा गएर जागिर खानुपर्दा अन्तरआत्माले स्वीकार गर्न सक्दैन।’
यो तालिमलाई बोगटीले निवृत्तिपछिको लागि उपयोगी हुने कल्याणकारी कार्यक्रम भनेका छन्।
यसले प्रहरीको कार्यमा पनि यो तालिमले सहयोग पुर्याउने विश्वास लिइएको छ।
आगलागी हुन्छ, प्रहरी पहिले पुग्छ। तर, इलेक्ट्रिसियन नबोलाइकन प्रहरीले बिजुली काट्न सक्दैन। तारहरू व्यवस्थापन गर्न जानेको हुँदैन। आगलागीमा पहिले पुग्ने प्रहरीले क्षति न्यूनीकरणका लागि काम गर्न पनि इलेक्ट्रिसियनको तालिम प्रभावकारी हुने बोगटी बताउँछन्।
‘आगो फैलिइरहेको हुन्छ, प्रहरी टुलुटुलु हेरेर बस्नुपर्ने अवस्था छ, प्रहरी आफैं सीपयुक्त भयो भने त काम गर्न सक्छ,’ बोगटी भन्छन्।
यस्तै, सीपबेगर पेन्सन सुविधा लिएर घर फर्कने प्रहरी कामको खोजीमा देश-विदेश गर्नुपर्दा पारिवारबाट टाढा रहने नै भए।
उनीहरू लामो समय पारिवारबाट विछोडिएर जागिर खाएका हुन्छन्। जागिरबाट फर्केपछि पनि विछोडिनु पर्ने अवस्थाले पारिवारिक स्नेह, ममता र सँगै बस्ने अधिकारबाट पनि बञ्चित भइरहेको छ।
‘जागिरबाट घर फर्केपछि पनि टाढा बस्नुपर्ने बाध्यता आइनलागोस् भन्नका लागि पनि यस्तो सीपमूलक तालिम आवश्यक देखियो,’ बोगटीले भने।
बोगटीका अनुसार यस्तोखाले तालिमलाई निरन्तरता दिन अहिले सहभागी रहेकामध्येबाट तीन जना उत्कृष्टलाई छनोट गरेर प्रशिक्षक बनाइनेछ।
‘यस्तो तालिम लिन इच्छुक अन्य प्रहरीलाई ती तीन जनाले प्रशिक्षण दिन्छन्,’ बोगटीले भने।
सीपमूलक तालिम पेन्सनको समय पुग्न लागेका व्यक्तिलाई मात्रै दिइन्छ र पेन्सन भइसकेर कामविहीन बसेका प्रहरी कर्मचारी खोजेर तालिममा सहभागी गराइन्छ।
‘यो जिल्लामा त्यति ठूला काम छैनन्, त्यसैले मैले प्रहरीकै वृत्ति विकास र कर्तव्यमा सहयोग पुग्ने खालको कार्यक्रम सुरू गरेको हुँ,’ बोगटीले भने।