खेतीयोग्य जमिनको माग गर्दै धर्नामा बसेका वादी समुदायमाथि लाठी प्रहार भएको छ। आइतबार दिउँसो १ बजे प्रहरीले उनीहरूमाथि लाठी प्रहार गरेको आन्दोलनरत पक्षले बताएका छन्।
शनिबारसम्म शान्तिपूर्ण रूपमा धर्नामा बसेका वादी समुदायले आइतबार नाराजुलुससहित आन्दोलन गरेका थिए। नाराजुलुस गर्दै अगाडि बढ्ने क्रममा आफूहरूमाथि प्रहरीले लाठी प्रहार गरेको आन्दोलनका अगुवा हिक्मत वादीले बताए।
‘आज हाम्रो नाराजुलुस गर्ने कार्यक्रम थियो, नारा लगाउँदै मुख्यमन्त्री कार्यालयको गेटनजिक पुगेका बेला हामीमाथि लाठी प्रहार भएको हो,’ उनले भने, ‘लाठी लागेर केही मानिस घाइते हुनुभएको छ, अब पनि हामी कडा रूपमा आन्दोलन गर्ने मनस्थितिमा छौं।'
प्रहरीको लाठी प्रहारबाट हिक्मत वादी, जानकी वादी, गगन वादी, करण वादी र मानकुमारी वादी सामान्य घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले भने प्रहरीले लाठी प्रहार नगरेको बताएको छ।
‘उहाँहरू आमुन्नेसामुन्ने हुनेगरी अघि बढ्न खोजेपछि प्रहरीले रोकेकोमात्र हो, लाठी चार्ज नै गरेको छैन,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले भने।
घरसहितको खेतीयोग्य जमिन माग गर्दै सात दिनदेखि दैलेख, कालिकोट र सुर्खेतका ४०० बढी वादी समुदायका मानिस कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा बसेका छन्।
उनीहरूले सरकारले आफूहरूलाई जग्गा उपलब्ध नगराए धर्ना जारी राख्ने चेतावनी दिएका छन्।