कमलपोखरीको कालो माटोको टीका लगाएर बालुवाटार मार्च गरेका अभियन्ताहरू आज पुनः कमलपोखरीमा भेला भएका थिए। काठमाडौं महानगरपालिकाले कमलपोखरीमा कंक्रिटको कमल फूल रोप्ने योजनासहित ढलान संरचना बनाएपछि अभियन्ताहरूले भत्काएर विरोध जनाएका हुन्।
पोखरीबीच ठाउँठाउँमा कंक्रिट ढलान गरिएको थियो। शुक्रबार अभियन्ताहरूले ती संरचना भत्काउन खोज्दा प्रहरीहरूले 'सबै बनेपछि भत्काउनुस्' भन्दै राम्ररी भत्काउन दिइरहेका थिएनन्। अभियन्ताहरू 'सबै बनेपछि त पोखरीको अस्तित्व नै सकिन्छ' भन्दै आक्रोशित थिए। उनीहरूले कमलपोखरी जोगाउन नसकेको भन्दै लज्जाबोध भएको भने। र, पुनः माटोको टीका लगाए।
टीका लगाउँदै लेखक-अभियन्ता नारायण वाग्लेले भने, 'यो सरकार कति नालायक अनि भ्रष्ट छ भनेर आफैंले उदांगो गर्यो। हामीले कालोमाटो दलेर बालुवाटार मार्चपास गरेका थियौं, पानीको फोहोरा र लाठी खाँदै संघर्ष अगाडि बढाएका थियौं। तर सरकारसँग कथित विकासको सोच छ जसलाई माटो चाहिन्न, सिमेन्ट चाहिन्छ। उनीहरूलाई पोखरी चाहिन्न, ढलान चाहिन्छ।'
उनले अगाडि भने, 'काठमाडौं माटोको भूमि हो। हाम्रो संविधानले माटो र मातृभाषाको सुरक्षा गर भन्छ। त्यसकारण हामीले प्राकृतिक सम्पदा, सांस्कृतिक सम्पदामाथिको भद्धा मजाकलाई गोलबद्ध भएर सम्बोधन गरेका छौं। यहीक्रम भइरह्यो भने नागरिक थप बृहत रूपमा आन्दोलित भएर संघर्ष भूमिमा उत्रिनेछन्।'
कमलपोखरीमा यसरी विरोध गरिएको यो पहिलो पटक होइन। यसअघि पनि पोखरीमा रातारात डोजर लगाइएको थियो। पुरातत्व विभागले काठमाडौं महानगरलाई निर्माण गतिविधि रोक्न आदेश दिएको छ तर यहाँ महानगरले काम धमाधम अघि बढाइरहेको छ।
'हामीले त्यत्रो संघर्ष गरेर रानीपोखरी जोगाएका थियौं तर उनीहरूले केही सिकेनन्। त्यहीक्रम यहाँ पनि दोहोरियो,' सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठले भने, 'कमल फूल फुलाउने ठाउँमा कंक्रिट फूल फूलाउने हो?'
अर्का अभियन्ता सुसन वैद्य 'मेयर, हामी तपाईंलाई मन पराउँछौं तर कंक्रिटको कमल मन पराउँदैनौं' भन्ने पर्चा लिएर उभिएका थिए।
उनले पनि कंक्रिट कमलको विरोधमा भने, 'हामीले महानगरलाई कमलपोखरीको विषयमा पटकपटक ध्यानाकर्षण गराइरहेका थियौं। सांकेतिक रूपमा विरोध गर्दा कंक्रिटका केही पनि संरचना बनेको छैन भनिएको थियो। तर हिजो राती छापामार शैलीमा महानगरका ठेकेदारले कंक्रिटको फूल बनाउने संरचना बनाए। यसको विरोधमा हामी उपस्थित भएका हौं।'
उनले अगाडि भने, 'महानगरले यही रवैया दोहोर्याएर काठमाडौंका सम्पदा मास्नेक्रम जारी राख्यो भने हामी दोस्रो चरणको आन्दोलन सुरू गर्छौं। त्यो अहिले जस्तो शान्तिपूर्ण नहुन पनि सक्छ।'
अभियन्ताहरूले यसबारे ध्यानाकर्षण गराउन आइतबार महानगरपालिका अगाडि धर्ना दिने कार्यक्रम राखेका छन्।