काभ्रेको नमोबुद्ध नगरपालिकामा पर्ने पीपलचौरमा तीन सय वर्ष पहिलेदेखि मनाउन थालिएको भीमसेन जात्रा यस वर्ष पनि भव्य रूपमा मनाइएको छ।
तीन सय वर्ष पुरानो एकीकृत नेवार नमुना बस्ती पीपलचौरमा हरेक वर्ष निकै हर्ष र उल्लासका साथ बृहत् भीमशेन जात्रा तथा सांस्कृतिक कार्यक्रम मनाइन्छ। जात्राको सुरुवात जितमान श्रेष्ठले गरेका थिए।
भीमा एकादशीको अवसरमा यो जात्रा मनाइने गरिन्छ। गाउँको गुठी समूहबाट भीमशेन भगवानको रथ बनाई पीपलचौरको परिक्रमा गरी सञ्चालन गरिने गरिन्छ।
जात्राको आफ्नो छुट्टै विशेषता रहेको छ। जात्रामा आफ्नो परम्परालाई जोगाउनुका साथै घरबाट टाढा रहेका आफ्ना छोरा, छोरी इस्टमित्र तथा आफन्तहरूलाई बोलाएर नेवारी भोज खुवाइन्छ।
जात्राले घरबाट टाढा रहेकाहरूलाई आकर्षित गरी एक आपसमा भातृत्व र सद्भावनाको विकास कायम गर्दै आएको छ। यस वर्ष जात्रा सञ्चालन गर्न यस पीपलचौरका सल्लाहकार प्रकाश श्रेष्ठलाई जिम्मा दिइएको छ।