इलाका प्रहरी कार्यालय उर्लाबारी परिसरमा हिजोआज दिनहुँजसो प्रदर्शन भइरहेको छ।
आफन्तको मृत्यु प्रकरण अनुसन्धानमा चित्त नबुझाउँदै परिवारले प्रहरी कार्यालयअगाडि प्रदर्शन गरिरहेका छन्।
उनीहरूको माग छ- प्रहरीले घटनाको सत्यतथ्य बाहिर ल्याओस्।
प्रहरीका अनुसार घटना भने पुस ४ गतेबाट सुरू हुन्छ।
उर्लाबारी नगरपालिका-५ का ३१ वर्षीय प्रवीण बाँस्तोला ४ गते अपराह्न घरबाट निस्किए।
घरदेखि केही टाढा मरिमराउमा गएको भनिएका उनी अपराह्न ४ बजे सौरभी होटल पुग्छन्।
त्यहाँ उनका साथीहरू राजेश रणपहेंली, दीपेश पौडेल, मेरमान दर्जी र सुदीप परियार भेट हुन्छन्।
प्रहरीका अनुसार उनीहरू राति १० बजेसम्म सौरभी होटलमा मदिरा पिउँछन्। पिउनेहरूमध्ये बाँस्तोला अत्यधिक नशामा रहेकाले घर फर्किन सक्दैनन्।
घर फर्किन नसक्ने अवस्थाबीच तिनै चार जना मिलेर बाँस्तोलालाई उनीहरू बस्ने डेरामा पुर्याउँछन्।
त्यो घर रमेश गिरीको हो र ती चार जना भुइँतलामा डेरामा बस्थे।
त्यसदिन सुतेका पाँच भाइमध्ये बाँस्तोला भोलिपल्ट बिहान अचेत अवस्थामा भेटिए। साथीहरू मिलेर उनलाई गोदावरी अस्पताल पुर्याउँछन्।
‘त्यहाँ पुर्याउँदा चिकित्सकले बाँस्तोलालाई मृत घोषणा गरेका थिए,’ इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेल भन्छन्, ‘त्यसपछि आफन्तले घटना रहस्यमय भनेपछि प्रहरीले अनुसन्धान थालेको थियो।’
घटनापछि जाहेरी आयो। जाहेरीमा होटल सञ्चालक राई, गिरीसहित ६ जनाको नाम थियो।
प्रहरीले ६ जनालाई नै पक्राउ गरी हिरासत लियो।
मृतकको शव पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगियो। शवमा बाहिरी चोटपटक केही पनि थिएन।
प्रहरीले भिसेरा रिपोर्ट (भित्री अंगहरू)को अंश, जसबाट मृत्युको कारण पत्ता लगाउन सकिन्छ, त्यसलाई फरेन्सिक ल्याबमा पठायो।
फरेन्सिक रिपोर्ट समयमा आइपुगेन। प्रहरीले २५ दिन थुनामा राखेर फरेन्सिक रिपोर्टबेगरै माघ २ गते जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझायो।
जिल्ला सरकारी वकिलको कार्यालयले पर्याप्त प्रमाण नभएको भन्दै ६ जनाविरूद्धको अनुसन्धान प्रतिवेदन अभियोजन गर्न इन्कार गर्यो। त्यसपछि ६ जना नै रिहा भए।
माघ ७ गते बिपी प्रतिष्ठानबाट भिसेराको फरेन्सिक रिपोर्ट आयो।
जसमा डेथ अफ कज भनेर लेखिएको थियो-एक्सपेसिया।
यो भनेको शरीर अक्सिजनबाट बञ्चित भएर हुने अचेतन अवस्था हो। जसका कारण मृत्यु हुनसक्छ।
फरेन्सिक रिपोर्ट आएपछि प्रहरीले दोस्रो पटक सरकारी वकिलको कार्यालयमा माघ १२ गते अनुसन्धान प्रतिवेदन बुझायो।
‘मुद्दा चल्ने स्थिति छैन भनी दोस्रो पटक सरकारी वकिलले मिसिल फिर्ता पठायो,’ प्रहरी निरीक्षक पोखरेल भन्छन्।
अनुसन्धान प्रतिवेदन फिर्ता आएर मुद्दा नचलेपछि त्यसमा चित्त नबुझाइ आफन्तले प्रहरी कार्यालयमा धर्ना र प्रदर्शन गर्न थालेपछि प्रहरीलाई जनदबाब पर्यो। र, अहिले तेस्रो पटक अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा पुगेको छ।
‘हामीले गर्ने अनुसन्धानबारे कुनै प्रश्न गर्ने ठाउँ छ भने कतै औंल्याइदिए हुन्छ, मिसिल हेर्न सरकारी वकिलको कार्यालय गए हुन्छ,’ पोखरेलले भने, ‘तर, प्रहरी कार्यालयमा आएर धर्ना र प्रदर्शन भइरहेका छन्, हामीले गर्ने काम पूरा गरिसकेका छौं।’
मुद्दा चलाइएकामध्ये चार जना यातायात मजदुर हुन्।
‘यी सामान्य मानिस हुन्, उनीहरूलाई हामीले छोड्नु पर्ने कारण छैन,’ पोखरेल भन्छन्।
प्रवीणकी बहिनी सदीक्षा बाँस्तोलालाई भने प्रहरीको जवाफमा शंका छ। उनले प्रहरीले आफ्ना दाजुको अनुसन्धानमा लापरबाही गरेको बताइन्।
प्रवीणलाई योजनाबद्ध तरिकाले मारिएको उनको दाबी छ।
सदीक्षाका अनुसार प्रवीणको मृत्युसम्बन्धी विवरण परिवारलाई राम्रोसँग थाहा भएन। अस्पतालमा शव पुर्याइएपछि परिवारले थाहा पायो।
प्रहरीले फितलो अनुसन्धान गर्यो। मिसिलमा मृतकको फोटो नक्कली राखियो।
‘प्रहरीले यी सबै कुरा सत्यतथ्य कुरा बाहिर ल्याएर हामीलाई चित्त बुझाइदेओस्,’ बाँस्तोलाले भनिन्।
मिसिलमा समावेश गरिएको मृतकको तस्बिरमा चाँदीको सिक्री लगाएको पाइएको आफन्तको दाबी छ।
मृतक फेला पर्दा उनको गलामा सिक्री नभएको परिवारको दाबी छ। यद्यपी प्रहरीले अनुहार नै नचिनिने गलामा सिक्री लगाएको तस्बिर अनुसन्धानमा राखेको दाबी परिवारको छ।
मृतक प्रवीणका बुबा प्रेम भन्छन्, ‘४ गते घरबाट निस्किएको छोरो ५ गते ११ बजेतिर मर्यो अरे भनेर नचिनिएको नम्बरको फोनबाट खबर आयो। कहाँ मर्यो, कसरी मर्यो, कसले मार्यो, हामी परिवारका सदस्यलाई केही थाहा भएन। मर्ने त मर्यो तर न्याय मर्नु भएन नि।’
प्रहरी निरीक्षक पोखरेलले मिसिलमा संलग्न फोटो हेर्दा फरक पाइएमा सजाय भोग्न तयार रहेको बताए।
‘अहिले हामी सरकारी वकिलको कार्यालय गइरहेका छौं, हामी हेर्छौं,’ बाँस्तोलाले भनिन्।
यसरी आफन्तले अनुसन्धानमा चित्त नबुझाएपछि जिल्ला प्रहरी कार्यालय मोरङले छानविन समिति गठन गरेको छ। प्रहरी नायब उपरीक्षक मानबहादुर राईको नेतृत्वमा आइतबार प्रहरीले अनुसन्धानबारे छानविन समिति गठन गरेको हो।
छानविन समितिलाई सात दिनको समय दिइएको प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए।
‘प्रहरीको तर्फबाट कुनै पनि कमजोरी भएको देखिँदैन, तैपनि आफन्तले चित्त नबुझाउने परिस्थिति कसरी सिर्जना भयो र अनुसन्धानमा आफन्तले औंल्याएका त्रुटीहरू के हुन् यी सबै छानविन गर्न समितिलाई कार्यादेश दिइएको छ,’ प्रहरी उपरीक्षक खड्काले भने।